पहिलेका कामदार विवेक अहिले मालिक भए
विनोद सापकोटा,शिवसताक्षी ।

धेरै मानिस उत्तम जागिर, मध्यम व्यापार ठान्छन् । व्यापारभन्दा जागिर रोज्ने मानिस धेरैे छन् । जागिरले नै शान, मान र दाम तीनवटै चिज पाइने हुँदा अन्य पेशा व्यवसायमा त्यति धेरैको मन जादैन ।
तर, अहिले पहिलेको जस्तो छैन । जागिरभन्दा व्यवसायप्रति युवाहरुको आकर्षण बढ्दो छ । सरकारी तथा गैह सरकारी जागिर छोडेर आफ्नै लगानीमा व्यवसाय गर्नेको लर्को नै लागेको छ । यतिमात्र होइन । बैदेसिक रोजगारबाट एसो आना सुकी लिएर आउनेले पनि कि व्यापार कि व्यवसाय सुरु गर्न थालेका छन् ।
झापाको शिवसताक्षी ७ का २७ वर्षीय विवेक आचार्य शिक्षक पेशामा थिए । ५ वर्ष गाँउकै संस्थागत विद्यालयमा उनि विज्ञान विषय पढाउथे । विद्यार्थीले मात्र होइन । तिनका अभिभावकले पनि सर भनेर बोलाउँदा आफुलाई स्थूल भएझै ठान्थे । तर, जागिरको पैसा कति नै हुन्थ्यो र । विहान १० बजे देखी अपरान्ह ४ बजे सम्म घोक्रो सुक्ने गरि पढाएको पैसाले घर खर्च नधाने पछि अन्ततः उनले जागिर छोडेर राम्रो व्यवसाय गर्न सुरु गरे । उनको पहिलो योजना नै स्थानीय जातका कुखुरा पालन गर्ने बन्यो ।

सुरुमा १ हजार कुखुराका चल्ला किनेर आफैले बनाएको खोरमा हाले । ५ महिना मै कुखुरा मासुका लागि बेच्न योग्य भयो । छोटो समयमा आफुले पालेका कुखुरा बजारमा पुग्न थालेर रुपैँया भित्रन थालेपछि व्यवसायको प्रचार उनले आफ्नै फेसबुक पेजबाट गरेका थिए । पुर्वका झापा, इलाम, धनकुटा, मोरङ, सोलुखुम्बु हुदै मध्य पहाडी सुर्खेत सम्म उनका कुखुराले बजार पायो ।
अपेक्षा गरेभन्दा राम्रो बजार पाउन थालेपछि उनले सुरुका संख्यालाई थपेर तेब्बर कुखुराका चल्ला हाले । उनि भन्छन् ‘महिनाको १ लाख रुपैयाँ त सजिलै बच्छ ।’ सुरुमा उनले खोर बनाउन १ लाख र चल्ला किनेर हाल्न २ लाख गरि ३ लाख मात्र खर्चेका थिए ।
जागिर गरेर कमाएकोजति पैसा राम्ररी व्यवसाय गर्ने हो भने एक महिनामै कमाउन सकिने उनले अनुभव गरेका छन् । विएस्सी गरेका आचार्य शिक्षण पेशा छाडेर ०७३ साल देखी कुखुरा पालन व्यवसायमा रमाउन थालेपछि उनलाई गाँउका स्थानीयले पनि अब्बल किसानको रुपमा चिन्छन् ।
शिक्षण पेसाले दिन नसकेको सन्तुष्टि कुखुरा पालन व्यवसायले दिएको उनले बताएका छन् । ‘सबैभन्दा ठूलो कुरा आत्मसन्तुष्टि हो’, आचार्यले भने, ‘यो व्यवसायबाट कमाइ पनि भएको छ र आत्मसन्तुष्टि पनि ।’
कुखुरा पालन संगै यतिबेला प्रत्येक घर र मानिसलाई आवस्यक पर्ने हारपिक र फिनेल पनि उनले उत्पादन गर्न थालेका छन् । घर, आँगन, भान्साकोठा, शौचालय आदिमा प्रयोग हुने फिनेल र हारपिक उत्पादन गर्न थालेर आफ्नो कमाइलाई उनले दोब्बर बनाउन थालेका हुन् ।

ट्वाइलेट क्लिनर, बहु प्रकारका फिनेल, कारवास, क्लिनिङ सोप, हेण्ड वास, घरको फ्लोर क्लिनर, ग्लास क्लिनका आइटम पनि उनले आफ्नै घरबाट सुरु गरेका छन् । आवश्यक कच्चा पदार्थ बाहिरबाट ल्याएर घरैमा उनले हारपिक र फिनेल बनाउछन् । थोरै लगानीमा मनग्ये आम्दानी हुने देखेपछि जाल्पादेवी केमिकल प्रालि नामको उद्योग नै संचालन गरेर आम्दानी सुरु गरेका छन् ।
सानै उमेरमा उद्योग संचालन गरेर गाउँमै राम्रो आय आर्जन सुरुगरेपछि शिवसताक्षी नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नविन इजम पनि आचार्यको पौरख देखेर औधी खुशी भएका छन् । उनले भने, ‘पढाई नसक्दै रोगगारका लागि विदेसिन बल गर्ने युवालाई बिवेकको व्यवसाय शिवसताक्षी नगरमा राम्रो उदाहरण बन्यो ।’ यस्ता उद्यमीलाई स्थानीय सरकारले पनि प्रोत्साहन दिन उत्पादन मुलक कार्यक्रम दिने उनले बताए ।
आचार्यको व्यवसायमा उनका बुबा गेहनाथ, आमा राधिका र भाई विशालनै कामदारका रुपमा छन् । एकाघरका सदस्य मिलेर काम गर्दा पैसापनि नबाहिरिने उनले बताए । थोरै लगानीले थालेको व्यवसायले उच्च आम्दानी दिन थालेपछि उनको परिवारमा यतिबेला सन्तोष मिलेको छ ।
