स्वागतयोग्य सेवा
बालबालिकामा दूरदृष्टि क्षमता कम हुँदै गएको एउटा परीक्षणले देखाएको छ । अर्बिस अन्तर्राष्ट्रिय संस्थाको साझेदारी र नेपाल नेत्रज्योति संघको सहकार्यमा भएको आँखा जाँच शिविरका क्रममा बालबालिकाको आँखा परीक्षण गर्दा यस्तो पाइएको हो । रिच प्रोजेक्ट मार्फत मेची आँखा अस्पतालले झापाका सबै पालिकामा रहेका विद्यालयमा अध्ययनरत् विद्यार्थीहरुको आँखा जाँच गर्दा उनीहरुमा दूरदृष्टि क्षमता कम भएको पाइएको हो । मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर पुरुषोत्तम जोशीका अनुसार मेडिकल टर्ममा ‘मायोपिया’ भनिने यो समस्या ग्रामीण क्षेत्रको तुलनामा शहरी क्षेत्रका बालबालिकामा बढी रहेको छ । परीक्षण कार्यक्रम सम्पन्न भएपछि मेची आँखा अस्पताल परिसरमा आयोजित समापन समारोहमा बोल्दै मेडिकल डाइरेक्टर डा. जोशीले शहरी क्षेत्रका बालबालिकाले विद्युतीय सामग्रीको बढी उपयोग गर्ने कारणले मायोपियाको समस्या बढ्दै गएको जानकारी दिए ।

आँखा परीक्षण गरिएका दुई लाख तीन हजार आठ सय तीस जनामध्ये अदूरदृष्टिका समस्या भएका छप्पन्न जना बालबालिकाको शल्यक्रिया गरिएको थियो । त्यस बाहेक धेरै बालबालिकामा चश्मा लगाउनुपर्ने अवस्था समेत रहेको र यसैका कारण आँखामा फुलो पर्ने, मोतीविन्दू र आँखा नै टेढो हुने समस्या पनि देखिएको कार्यक्रममा जानकारी दिइयो । त्यसो त यस्तो समस्याका पछि अस्वस्थकर जीवनशैली, खानपान पनि उत्तिकै जिम्मेवार हुन सक्छन् । तर, आधुनिकताले ल्याएको सेवा र सुविधा अदूरदृष्टि हुनुको मुख्य कारण रहेको परीक्षणले देखाएको छ । त्यसमाथि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण बन्दाबन्दी भई शिक्षण संस्थाहरुले अनलाइन कक्षा सञ्चालन गर्दा मोबाइल, ल्यापटप वा कम्प्युटरको बढी प्रयोग पनि समस्याको मूल कारण हो ।
मेची आँखा अस्पतालले सन् २०१८ देखि नै रिच प्रोजेक्ट मार्फत झापाका विद्यालयमा अध्ययनरत् विद्यार्थीको आँखा जाँच गर्दै आएको छ । यसैक्रममा यस वर्ष जाँच गरिएका मध्ये छ हजार दुई सय पञ्चानब्बे जना बालबालिकालाई चश्मा निःशुल्क वितरण गरिएको र चार हजार सात सय पैंसठ्ठी जनालाई अस्पतालमै लगेर थप परीक्षण गरिएको थियो । विश्वव्यापी रुपमा बालबालिकाको आँखा जाँचका लागि दक्ष जनशक्ति उत्पादन गर्दैै तालिम र विभिन्नखाले कार्यक्रम सञ्चालन गर्दै सामाजिक उत्तरदायित्व समेत निर्वाह गरिएको अस्पतालका मुख्य प्रशासक सुरज रौनियारले बताएका छन् । स्थानीय पालिकासँग सम्झौता गरी सञ्चालन गरिएको आँखा जाँच शिविरले आँखाको स्वास्थ्यप्रति सचेतना सँगै उपचार सेवा पनि प्रदान गरेको छ । यस्तो कार्यक्रमलाई सबैको पहुँचमा पु¥याउन पालिकाहरुले पनि अग्रसरता देखाउनुपर्छ । आँखा मानिसको सबैभन्दा महत्वपूर्ण अङ्ग भएकाले यसको सुरक्षामा व्यक्ति स्वयम् पनि सजग र सचेत हुनुपर्छ ।
