ड्रक नर्बु छोलिङ गुम्बामा बुद्ध मूर्तीको स्थापना
अर्जुनधारा ।

२५२६ औं तमु ल्होसारको अवसरमा बिहीबार झापाको अर्जुनधारा–३ खुदुनाबारीस्थित डु«क नर्बु छोलिङ गुम्बामा बुद्धको मूर्ती स्थापना गरिएको छ ।
गत पुस १३ गतेदेखि लामा गुरुहरुबाट विशेष पुजापाठ गरी उक्त गुम्बामा चेङरेसी, चुम्देन्दे र गुरु रिम्पोछेको मूर्ती स्थापना गरिएको गुम्बा व्यवस्थापन समितिका सचिव धनबहादुर तामाङले जानकारी दिए ।
हाल अमेरीकामा रहेका डम्बरबहादुर गुरुङको परिवारबाट प्राप्त भएको दुई लाख सात हजार रुपैयाँको लागतमा धातुको प्रयोग गरी निर्माण गरिएको उक्त मूर्तीहरुको तौल १८–२० केजी बराबर रहेको बताइएको छ ।
गुम्बामा मूर्तीहरु स्थापनासँगै तमु संघका अध्यक्ष डिल्लीराम गुरुङको अध्यक्षतामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

लामा गुरु लोभेन पासाङ शेर्पाबाट बुद्ध धर्म र तमु ल्होसारको विषयमा प्रवचन दिइएको कार्यक्रममा प्रमुख अतिथि प्रमुख रानासँगै, नगर कार्यपालिका सदस्य बलदेवसिंह गोम्देन, नेवा देय दबुका सल्लाहकार लोकमान श्रेष्ठ, मगर संघका यामबहादुर रैका मगर, तामाङ घेदुङ संघ वडा–१का अध्यक्ष वीरबहादुर योञ्जन, फाल्गुनन्द मिङसो माङहिम व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद इङनामलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सोही कार्यक्रममा दाता डम्बरबहादुर गुरुङका सुपुत्र शिवराज गुरुङलाई गुम्बा व्यवस्थापन समितिकोतर्फबाट सम्मान पत्र प्रदान गर्दै सम्मानित गरिएको थियो । त्यस्तै कार्यक्रममा बिर्तामोड–९स्थित मानेपा संघले गुम्बा व्यवस्थापनको लागि समितिलाई नगद सात हजार आठ सय ८० रुपैयाँ हस्तान्तरण गरेको थियो ।
गुरुङ नाच, मगर समुदायको हुर्रा नाचसँगै विभिन्न सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको कार्यक्रममा स्वागत मन्तव्य गुम्बा व्यवस्थापन समितिका अध्यक्ष वीर्खबहादुर गोलेले र कार्यक्रमको सञ्चालन सचिव तामाङले गरेका थिए ।
