शनिश्चरे साना किसानको आठौं वार्षिक साधारणसभा सम्पन्न
अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे साना किसान कृषि सहकारी संस्था लिमिटेडको आठौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
स्थानीय महिला, दलित, आदिवासी सामुदायिक भवनमा संस्था सञ्चालक समितिका अध्यक्ष भैरवबहादुर खड्काको अध्यक्षतामा आयोजित उक्त सभाको प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले उद्घाटन गरेका थिए ।
सभामा समितिका अध्यक्ष खड्काले संस्थाको गत आर्थिक वर्ष ०७७÷०७८को वार्षिक प्रगति प्रतिवेदन, लेखा समितिका संयोजक केदारनाथ पोखरेलले लेखा समितिको प्रतिवेदन र प्रबन्धक भूमिनाथ बरालले चालु आर्थिक वर्ष ०७८÷०७९को अनुमानित बजेट वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा संस्थाको समूह संख्या दुई सय ४० वटा, सदस्य संख्या एक हजार दुई सय ४६ जना, जम्मा शेयर पूँजी ८१ लाख ८७ हजार एक सय रुपैयाँ, जम्मा कोषमा ७१ लाख तीन हजार नौ सय ५१ रुपैयाँ ६४ पैसा, जम्मा बचत दुई करोड ५२ लाख ७३ हजार सात सय ७० रुपैयाँ ९० पैसा, कर्जा लगानी चार करोड ८२ लाख ५५ हजार रुपैयाँ उल्लेख गरिएको छ ।

त्यसैगरी संस्थाको गत आर्थिक वर्षको जम्मा आम्दानी ७३ लाख ७४ हजार आठ सय १७ रुपैयाँ ३३ पैसा, जम्मा खर्च ५१ लाख ४९ हजार दुई सय ४१ रुपैयाँ ३० पैसा र नाफा २२ लाख २५ हजार पाँच सय ७६ रुपैयाँ तीन पैसा रहेको छ ।
सोही सभाको अवसरमा संस्थाको १३ वटा अन्तर समूहमध्ये उत्कृष्ट हुने अन्तर समूह ८ ‘क’, उत्कृष्ट पशुपालन कृषकतर्फ समूह नं.५१की सदस्य नीरकुमारी गुरुङ र उत्कृष्ट तरकारी कृषकतर्फ समूह नं.३४का मायानाथ घिमिरेलाई सम्मान पत्र र नगदसहित पुरस्कृत गरिएको थियो ।
समितिकी सदस्य वीन्दादेवी लुँइटेलले स्वागत मन्तव्य व्यक्त गरेको सभामा साना किसान विकास बैंक बिर्तामोडका प्रबन्धक सुवास गौतम, प्रज्वला अपाङ्ग तथा महिला बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष डिल्ली घोर्साईं, शनिश्चरे प्रहरी चौकीका प्रमुख सई रवी राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सभाको सञ्चालन प्रबन्धक बरालले गरेका थिए ।
