मौलिकता हराउने चिन्ता
आधुनिकताको पछि दौडिने मानसिकताले जातीय पहिचान सङ्कटमा पर्दै गएको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाले समृद्ध नेपालको पहिचानप्रति अझै उदासीन रहने हो भने हाम्रो अस्तित्व समाप्त हुन बेर लाग्दैन । दुई ठूला र शक्ति राष्ट्रहरूको बीच पूर्व–पश्चिम लाम्चो भएर रहेको सानो देश भएर पनि जातीय, भाषिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक तथा कलाकृतिका आधारमा हाम्रो विशिष्ट पहिचान छ । यहाँको भूगोलभित्र दुर्लभ प्रजातिका अनेक जीवजन्तु, चराचुरूङ्गी मात्र होइन वनस्पति पनि अटाएका छन् । भौगोलिक क्षेत्र अनुसार फरक–फरक वर्ण र जातिका मानिसको बसोबास, उनीहरूको भाषागत भिन्नता, रहनसहन र संस्कार संस्कृतिले नेपालकै अनुहार उज्यालिएको पनि छ । राजधानी काठमाडौं त्यहाँका आदिबासी नेवार जातिको परम्परागत चाडपर्व, रीतिरिवाज, संस्कृति, भेषभुषा र खासगरी वास्तु, चित्र र मूर्तिकलाले अद्वितीय छ । प्राचीन नेपालमै अरनिको जस्ता अद्भुत कलाकार जन्माएको काठमाडौं आज पनि लाखौं विदेशीको आकर्षणको केन्द्र बनिएकै छ ।

कलाकृति मै पर्दछ यहाँका मानिसले माटोमा जीवन खोज्ने कला । देशका विभिन्न भागमा छरिएर रहेका फलाम, काठ, कपडा र अन्य धातुमा जीवन खोज्ने र जीवन सान्ने शिल्पीहरूको कमी छैन यहाँ । तर, पछिल्लो समय आधुनिकता र भौतिकताको आकर्षणले हामीसँग भएको यो विशिष्टता मासिने डर बढेको छ । ‘कस्तुरी विनाको खोजीमा’ चारचौरास भौंतारिए जस्तै, नजिकको तीर्थ हेला भने जस्तै प्रकृति र सौन्दर्यको वास खोज्न हाम्रो नयाँ पुस्ता बिदेशिन थालेको छ । माटोका सामग्री बनाएर जीवन निर्वाह गर्नेहरू हुन् वा पौभा चित्र बनाउने चित्रकार, कपडामा जीवन खोज्ने सुचीकार हुन् वा धातुमा रमाउने कर्मकार अथवा पितापुर्खाको पेशालाई निरन्तरता दिएर नेपालको गौरव उच्च पार्ने शिल्पकार हुन् सबै–सबैले नेपाल र नेपालीको श्रीवृद्धिमा योगदान दिएका छन् । त्यही योगदानको व्याजले आजपर्यन्त हाम्रो पहिचान कायम राखेको छ । त्यसैले उनीहरूको समर्पित सेवा र योगदानको निरन्तरतालाई कायम राख्न स्थानीय सरकारले हौसलासँगै अनुदान वा सहुलियत दिन जरूरी छ ।
झापाको हल्दीबारीमा बसोबास गर्दै आएका माटोमा कला पोख्ने कुमाल जाति यतिबेला जातीय पेशा लोप हुने चिन्ताले पिरोलिएको समाचार आएको छ । स्थानीय जङ्गल छेउ बस्दै आएका पच्चीस परिवारमध्ये धेरैले माटोका सामग्री बनाउने पेशा नै छाडिसकेका छन् । व्यवहारमा प्रयोग हुने त्यस्ता सामग्री बेचेर परिवारको गुजारा गर्दै आएका उनीहरू मध्ये बाँकी रहेका दुई परिवार पनि विस्थापनको मानसिकतामा छन् । पणित भनिने कुमाल जाति माटोबाट विभिन्न सामग्री निर्माण गर्दै दैनिकी चलाइरहेका थिए । उत्पादित वस्तु शहरबजारमा बेच्दै आएका उनीहरूलाई संरक्षण गर्नु सरकारको दायित्व हो । विविधतामा सृजना र सृजनामा पहिचान कायम गरेको नेपाल र नेपालीको गौरव कायम राख्न संघीय सरकारले पनि पहल गर्नुपर्छ । यस्ता अनेकन सम्पदा र शिल्पले समुन्नत हाम्रो समाजलाई परम्परा र आधुनिकताको यथोचित उपयोगबाट ‘सुनमा सुगन्ध’ थप्न सकिन्छ । अरूको नक्कल गर्नुभन्दा मौलिकताभित्रै आधुनिकता प्रयोग गर्नु बुद्धिमानी हुन्छ, यसतर्फ जिम्मेवार निकायको ध्यान जाओस् ।
