धार्मिक फोटो व्यवसायमा रमाउँदै हिरालाल
रत्नबहादुर बस्नेत,

हिन्दू धर्मका विभिन्न चाडपर्व तथा विशेष तिथिमितिहरुमा विभिन्न देवी–देवताको विशेष पूजा गर्ने गरिन्छ । पूजाका लागि कुन देवताको पूजा गरिने हो । त्यसै अनुसार भगवानको स्वरुपको तस्वीर तथा मूर्ति आवश्यक पर्दछ ।
यसै प्रयोजनका लागि भगवानको विविध स्वरुपको प्रतिमा तथा तस्वीर सर्वसाधरण भक्तजनका लागि सहजरुपले उपलब्ध गराउने माध्यमका रुपमा बिक्री कक्ष तथा पसल सञ्चालनमा रहेका हुन्छन् । यसै मध्ये एक हो– बिर्तामोड–५ शनिश्चरेरोडस्थित दुर्गा सिसा पसल ।
पसलका सञ्चालक हिरालाल चौधरी यतिखेर पुराना फोटो व्यवसायी चौधरीलाई देवी–देवताको तस्वीर फ्रेमिङ गर्न भ्याइनभ्याई छ । कोरोना भाइरसको दोस्रो लहर बढेपछि सरकारले लगाएको निषेधाज्ञाका कारण भारतीय सीमानाका बन्द हुँदा भगवानका तस्वीरहरु समयमा आयात हुन नसक्दा तस्वीर फ्रेमिङको कामको चाप थपिएको व्यवसायी चौधरीले बताए ।
भर्खरै सकिएको विश्वकर्मा पूजाको समयमा फोटो फ्रेमिङ कार्यमा व्यस्त हिरालाललाई पूजाभन्दा एक–दुई दिनअघि मात्र मुस्किलले फोटो आइपुगेकाले हतारो भएको थियो । भगवानको पूजाका लागि बजारमा तयार भएका तस्वीर धार्मिक विधि अनुसार प्राणप्रतिष्ठापन गरेपछि पूजाका लागि योग्य मानिन्छ । भगवान तस्वीरमा सीमित नभई कण–कणमा सर्वव्यापक हुने भए पनि भक्ति भावना जागृत गर्न सर्वसाधारणका निमित्त पूजाका लागि सर्वोत्तम साधन भएकाले पूजामा तस्वीरको सर्वाधिक महत्व रहने शास्त्रकारहरु बताउँछन् ।
भगवानको चित्र वा छवि हृदयमा राखेर प्रार्थना, नाम–रुपको स्मरण गर्न सकिने भएकाले इश्वरीय कृपा शक्ति प्राप्त गर्न सबैले श्रद्धापूर्वक भगवानको पूजा गर्नुपर्ने व्यवसायी चौधरीको भनाइ छ । पहिले सीसाको मात्र फोटो फ्रेमिङ हुने गरेको भए पनि केही समययता लेमिलेशन फोटोको बढी माग हुने गरेको उनले बताए ।
यसमा प्लाइउड, गम, प्लाष्टिक लगायतको प्रयोग हुने हुँदा सीसाको जस्तो फुट्ने जोखिम नहुने उनी बताउँछन् । हिन्दू धर्मका पञ्चायन (प्रमुख पाँच) देवताहरु गणेश, देवी, शिव, विष्णु, सूर्यको साथै राम, कृष्ण, बुद्ध, कँुवेर लगायत विभिन्न ईश्वरी स्वरुपको तस्वीर र अन्य प्राकृतिक, जीवजन्तु आदिको फोटो फ्रेमिङ, झ्यालढोकाका सीसा, ऐना बिक्रीवितरण कार्यमा ध्यान दिएको बताए । यसैबाट सामान्य जीवनयापनका लागि आयआर्जन हुने गरेको उनको भनाइ छ ।
उनले दिगो रुपमा व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक ज्ञान, सीप, लगनशीलता, समर्पण, इमान्दारिता जस्ता गुण आवश्यकपर्ने बताए । चार दशकको समयावधि यही व्यवसायमा व्यतित गरेका धार्मिक प्रवृत्तिका हिरालाल पेशासँगै भगवानको सेवा गर्न पाउँदा सन्तुष्टि लागेको बताउँछन् ।
