पेशाबाट विस्थापित हुने जोखिम
नेत्रबिक्रम बिमली,
हल्दिवारी।

हल्दिवारी–४ मा माटोको भाँडा, गमला लगायत २५ प्रकारका सामग्री बनाउँदै आएको कुमाल परिवार आफ्नो पेशाबाट विस्थापित हुने अवस्थामा पुगेका छन् ।
हल्दिवारी–४ जलथल जङ्गल छेउमा २५ बर्षदेखि बस्दै आएका कुमाल परिवारमध्ये दुई परिवारले आफ्नो पुख्र्यौली पेशा छोडिसकेका छन् भने बाँकी दुई परिवार पेशा छोड्ने अवस्थामा पुगेको चन्द्रवती कुमाल (पणित) ले बताइन् ।
हल्दिवारी गाउँपालिका भित्र कै अति विपन्न तथा लोपोन्मुख कुमाल परिवारले आजसम्म कुनै सहयोग पाएका छैनन् । चन्द्रवती भन्छिन्– नेताहरू भोट माग्नबाहेक उनीहरुको समस्या बुझ्न् आएका छैनन् ।
स्थानीय जनप्रतिनिधि तथा वडामा सहयोगका लागि अनुरोध गर्दा पैसा छैन भन्दै पन्छिने गरेको उनले गुनासो गरिन् । हल्दिवारी, राजगढ र भद्रपुरका ठाउँ–ठाउँमा माटाका सामग्री साइकलमा राखेर घर–घरमै पु¥याएर जीवीको पार्जन गर्दै आएको विपन्न कुमाल परिवार स्थानीय सरकारबाट उपेक्षित भएको उनीहरुको गुनासो छ ।
उनीहरुले ठूलो सहयोगको अपेक्षा गरेका छैनन् । व्यवसाय गर्दै आएको परिवारले माटो मुछ्ने मेसिन र भाँडाकँुडा बनाउने बिजुलीबाट चल्ने चर्खा अनुदानको अपेक्षा गरेका छन् ।
स्थानीय सरकारले एक लाख रुपैयाँँ सहयोग गरे उनीहरुले विस्थापित हुनु नपर्ने स्थानीयको भनाइ छ ।
