September 24, 2026

धानमा खैरो फड्के किराको प्रकोप बढ्यो

0

पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं ५ स्थित हसन्दह- शान्ति चौक क्षेत्रको धानबालीमा यतिखेर खैरो फड्के किराको प्रकोप भेटिएको छ ।

धानवाली भित्र पुरै डढेको लागेजस्तो सुकेको देखिन थालेपछि कृषि प्राविधिकको सहयोगमा परिक्षण गर्दा उक्त रोग पत्ता लागेको हो ।

स्थानीय कृषकहरुले प्राविधिक जाँचका लागि नगरपालिका कार्यालयमा निवेदन गरेपछि त्यहाँको धानवाली भित्र परिक्षण गर्दा खैरो फड्के किराको प्रकोप फैलिएको भेटिएको नगरका कृषि शाखा प्रमुख सावित्रा कार्कीले बताएकी हुन् । अघिल्ला वर्षहरुमा समेत हसन्दह क्षेत्रमा सो किराको प्रकोप देखिएको थियो ।

स्थानीय ठगेन्द्र राउतको १ विगाहा, कमलबहादुर अधिकारीको १५ कठठा र दिलबहादुर राउतको ८ कठठा जग्गा लगायतका विभिन्न किसानको धानमा खैरो फड्के किराको प्रकोप देखिएको छ । यो किराले आफ्नो सियो जस्तो मुखले पात र पातको आधारबाट रस चुस्ने गर्दछ ।

जसबाट धान पुरै डढेको लागेजस्तो सुकेको देखिन्छ । यसलाई हपरबर्न पनि भनिन्छ । यिनीहरु चुसाहा प्रवृतिका हुने र बोटको धेरै तन्तुहरुमा धेरै घाउहरु लाग्दछ । अनि घाउबाट अन्य हानिकारक सुक्ष्म जीवाणुको संक्रमण भइ धेरै रोगहरु समेत पैदा हुनेगर्छ ।

यो किरा भाइरस रोगको प्रमुख कारक समेत मानिने शाखा प्रमुख कार्कीले बताउनुभयो । धान रोप्दा धेरै गाँज नरोप्ने, गाँजको घनत्व कम गर्ने , ३–४ दिनमा पानीको सतह घटाउने बढाउने, धान बालीमा भ्यागुताको संख्या बढाउने, माछा पालन गर्नाले यस्तो रोग लाग्नबाट बचाउने उहाँले बताउनुभयो ।

यस किराको संक्रमण हुने वित्तिकै प्रांगारिक विधिका रुपमा मेट्राइजिम एनिसोप्लेइमा निमको तेलमा मिसाई छर्ने र रासायनिक बिधि अन्तर्गत इमिडाक्लोप्रिड, एसिफेट, पेक्सालोन नामक बिषादी जुन १ एम एल वा १ ग्राम प्रति लिटर पानीमा मिसाई छर्ने गर्नुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *