September 24, 2026

भेडे खुर्सानीका उपभोक्ता बढेसँगै बिक्री बढ्यो

0

लक्ष्मी उप्रेती,
मेचीनगर ।

पछिल्लो समय भेडे खुर्सानीको माग बजारमा निक्कै बढेको छ । तरकारी तथा सलादका लागि समेत प्रयोग गर्न सकिने भएकाले पनि अहिले काँकरभिट्टाका सब्जी बजारमा यसको खरिद गर्ने ग्राहकको भीड ठूलै रहेको सब्जी व्यवसायीहरुको भनाई छ ।

भेडे खुर्सानी हरियो फलको प्रयोग गरिन्छ भने सलाद, पकाएको तरकारी वा अचार बनाएर पनि प्रयोग गर्न सकिने व्यापारीको भनाइ छ । यसको बासना र स्वाद धेरैलाई मीठो हुने गर्दछ । बजारमा भेडे खुर्सानीको मग बढेसँगै व्यावसायिकरुपमा यसको खेती गर्ने व्यवसायीहरु पनि क्रमशः बढ्दै गएका छन् ।

यसको व्यवसायिक खेती गर्न जाने छोटो समयमै राम्रो आम्दानी लिन सकिने तथा सहज, सरल र सबैले मनपराउने तरकारी खेती भेडे खुर्सानी भएकाले खेतीतर्फ किसानको आकर्षण बढेको बताइएको छ । यो खुर्सानी स्वास्थ्यका लागि पनि निक्कै लाभदायक भएकाले दिन प्रतिदिन यसका ग्राहक बढ्दै गएको मेचीनगर–६ काँकरभिट्टाका सब्जी व्यापारी मोहन राउतको भनाइ छ ।

यो पहाडी जिल्लाबाट आउने विषादीरहित भएकाले पनि यसको फाइदा हुने राउतको भनाइ छ । अहिले काँकरभिट्टाको सब्जी पसलमा प्रति केजी दुई सय रुपैयाँमा बिक्री हुने उनको भनाइ छ । भेडे खुर्सानीको सेवनले ठन्डी, दम, श्वासप्रश्वास प्रणालीमा समस्या र अर्वुद रोगसँग लड्ने क्षमता बढाउने तथा भिटामिन ए र सी पाइने बताइएको छ ।

यो खुर्सानी भारतबाट समेत आयात हुने गरेको छ । तर, भारतबाट आयात गरिएको खुर्सानीमा रसायनिक मल प्रयोग गरिएका कारण उपभोक्ताले स्वदेशी उत्पादन नै खोज्ने उनको भनाइ छ । क्वारेन्टिन कार्यालय काँकरभिट्टाका अनुसार गत आर्थिक वर्ष २०७७÷०७८ को एक वर्षे अवधिमा काँकरभिट्टा नाका भएर चार लाख ८० हजार रुपैयाँ मूल्य बराबरको ३० मेट्रिक टन यो खुर्सानी आयात भएको छ ।
बजारमा यसको माग बढेसँगै अभाव हुने गरेको अर्का सब्जी व्यावसायी सुरज भुर्तेलको भनाइ छ । यो खुर्सानी सब्जी तथा सलादका लागि ठूलादेखि सामान्य होटल र गाउँघरतिर पनि खपत हुने गरेको छ । खासगरी, फ्राई राइस, चाउमिनमा यो अत्यधिक प्रयोग हुने गरेको छ ।

उत्पादित फल स्थानीय स्तरमा सङ्कलन केन्द्र वा बजारमा पु¥याएर आफैंले वा थोक वा खुद्रा व्यापारी मार्फत बिक्री गर्न सकिने व्यवसायीहरु बताउँछन् । पहाडी भेगमा भन्दा तराईमा सफल यो खेती पहाडमा यति धेरै क्षेत्रफलमा नलगाइएको कृषि प्राविधिकहरको भनाइ छ । यसको खेती विभिन्न भौगोलिक क्षेत्रमा प्लाष्टिक गुमोजरघरभित्र वा खुला खेतमा विभिन्न समयमा गर्न सकिन्छ ।

तराईमा हिउँदे बालीको रुपमा भाद्र–आश्विनमा बेर्ना सारेर कात्तिक–चैत्रमा बाली लिन सकिन्छ भने मध्य–पहाडमा बसन्ते बालीको रुपमा माघ–फाल्गुणमा लगाएर बैशाख–आषाढमा र उच्च पहाडमा वर्षे बालीको रुपमा प्लाष्टिक घरभित्र बैशाख–जेठमा बाली लगाएर श्रावण–कात्तिकमा बाली लिन सकिन्छ । यातायातको सुविधा भएका र अधिकांश बजारमा यसको माग बढिरहेकाले यो खुर्सानीका लागि बजारको खासै समस्या नभएको व्यावसायी कृष्णलाल मगरको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *