कोरोना कहर : सार्वजनिक स्थल तथा पर्यटकीय क्षेत्रमा मानिसको जमघट बढ्यो
विनोद सापकोटा/ झिलझिले,

कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेको बेला सार्वजनिक स्थल तथा पर्यटकीय क्षेत्रमा मानिसहरुको भीड लाग्न थालेको छ ।
लकडाउन खुकुलो हुँदै गएपछि जोखिमका बीचमा पनि मानिसले पर्यटकीय क्षेत्रमा रमाइलो गर्न थालेका छन् । झापाको शिवसताक्षी नगरपालिका ८ झिलझिलेको वाटर किङडम पार्क ६ महिनापछि संचालनमा आएको छ । यो पार्क एक वर्ष अघि निर्माण भएकाे हाे । कोरानाको पहिलो लहरमा सरकारले गरेको लकडाउनका कारण पार्क संचालनमा आउनसकेको थिएन ।
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पुरा गरेर आउने आन्तरिक तथा बाह्य पर्यटकलाई पार्क भित्र पस्न दिन थालिएको संचालक राजकुमार संग्रौलाले बताए । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेपछि आन्तरिक पर्यटकहरुको लागि भ्रमण गर्ने प्रमुख थलो पार्क बनेको छ । ‘लकडाउनले गर्दा घुमफिर गर्न पाइएको थिएन । नजिकै पार्क बनेपछि घुम्न आइयो,’ मोरङ कानेपोखरीका यामप्रसाद पौडेलले भने,‘राम्रो लाग्यो ठाउँ।’

पार्क संचालन हुन थालेपछि जिल्ला भित्र र बाहिरबाट पर्यटकहरु रमाइलो गर्न आउन थालेको संचालक संग्रौलाले बताए । ‘कोरोना भाइरसले लकडाउन भएका कारण धेरै समय मानिस घर भित्रै बस्नुपरेको थियो । ठाउँठाउँमा बनेका यस्ता नयाँ भ्रमण योग्य स्थलमा मानिसहरुको भीड लाग्ने गरेको छ,’ संग्रौलाले भने ।
झिलझिलेको वाटर किङडम पार्कमा घुमफिर गरेर टिकटकका लागि भिडियो बनाउने, फेसबुक स्टोरीका लागि भिडियो र फोटो खिच्नेको संख्या दिनहुँ बढेको संचालकले बताएका छन् । ‘मानिसहरुको भीडभाड बढ्दै छ । कोरोनाको जोखिम कायमै रहेकाले सतर्क रहदै पार्क संचालन गर्न लगानीका हिसावले आवश्यक छ,’ उनले भने । पार्कमा संचालकले ४० करोडको संरचना निर्माण गरका छन् ।
सामाजिक सञ्जाल टिकटकको लागि भिडियो र फेसबुकको लागि सेल्फी लिने ठाउँ निर्माण भएकोले पार्कले दर्शक बटुल्न सफल भएको छ । पार्कमा आउने हरेक पर्यटकको रोजाइ पानीको फोहोरा, विभिन्न भाषा धर्मका डर्मीसँग र पार्क छेउको फुलबारीमा तस्बीर खिच्ने हुन्छ ।

योसंगै उक्त पार्कमा जिपलाइन, सुपरम्यान जिपलाइन र जिप साइकिलिङले पनि पर्यटकको मन लोभ्याउन सफल भएको पार्कका कार्यकारी व्यवस्थापक सौजनराज संग्रौलाले बताए । उनले भने,‘ बिबाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि झापामा उपयुक्त ठाँउ वाटर किङडम पार्क हो ।’
पार्कमा पानीमा मात्र खेलेर मनोरञ्जन लिनसकिने ८ प्रकारका खेल पनि छन् । संग्रौलाका अनुसार स्विमिङ पुल, वेब पुल, मल्टीलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड छन् ।
कोरोना भाइरसका कारण हुने जोखिमलाई लिएर पार्क क्षेत्रमा घुमफिरको लागि सरकारले रोकेको भएपनि घुम्न आउनेको संख्या बढेकोले पार्क खुकुलो बनाइएको हो । ‘कोरोनाको जोखिमले गर्दा पार्क प्रवेशमा रोक लगाएका थियौँ । तर, मानिसको घुँइचो लागेपछि रोक्न सकिएन,’ संग्रौलाले भने, ‘मास्क लगाएर मात्रै पार्क क्षेत्रमा आउन अपिल गरेका छौँ ।’
पार्कले भिजीटरका लागि १ सय ५० रुपैयाँ शुल्क निर्धारण गरेको छ । यस्तै ‘रोपवेज’ बाहेकको वाटर आइटमका लागि ५ सय शुल्क तय गरेको छ । यता सुपरम्यान जीप लाईन र भीजिटरका लागि ७ सय शुल्य निर्धारण गरिएको छ । यस्तै जिप साइकिलीङ र भिजिटरका लागि प्रति व्यक्ति ७ सय रुपैयाँ शुल्क निर्धारण गरिएको पार्कका कार्यकारी व्यवस्थापक सौजन संग्रौलाले बताए । पार्कमा आउने भिजिटरका लागि संचालकले रोप वेजको फुल प्याकेजमा ५० प्रतिसत छुट दिने भएको छ ।
