विश्वप्रकाशको पहल : रिङरोडलाई ३ करोड
झापा ।

झापा क्षेत्र नम्बर १को बहुप्रतिक्षित रिङरोड निर्माण गर्न सरकारले बजेट व्यवस्थापन गरेको छ ।
सरकारले भदौ २५मा प्रतिनिधिसभामा प्रस्तुत गरेको बजेटमा उक्त रिङरोडका लागि पहिलो किस्ताको ३ करोड रुपैयाँ विनियोजन भएको छ । ०७०मा पहिलोपटक चुनाव लड्दा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यो रिङरोडको प्रस्ताव गरेका थिए ।
उनी निर्वाचनमा पराजित भए पनि कांग्रेस सभापति सुशील कोइराला नेतृत्वको सरकारले रिङरोडलाई प्राथमिकता दिएर सर्भे गर्ने निर्णय गरेको थियो। शर्माको त्यसबेलाको चुनावी घोषणा पत्रमा झापा १ को काँकरभिट्टा– सतिघट्टा– दुहागढी– चन्द्रगढी– तेलिबारी–धाइजन– शान्तिनगर–गडीगाउँ–बाहुनडाँगी हुँदै काँकरभिट्टा जोड्ने रिङरोडको प्रस्ताव गरिएको थियो।
सुशील कोइराला प्रधानमन्त्री छँदा शर्माकै पहलमा प्रस्तावित झापा १ को यो रिङरोडमा प्रथम किस्ताका रूपमा ३ करोड रुपैयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा नयाँ बजेटमा परेको हो । कोइराला नेतृत्वको सरकारले ल्याएको पहिलो बजेट आर्थिक बर्ष ०७१/०७२मा रिङरोडको भूगोल उल्लेख भएको थियो ।
रातो किताबमा प्रकाशित भएर सर्भेका लागि रकम विनियोजन भएको योजना ०७२÷०७३मा डीपीआरका लागि बजेट स्वीकृत भएपछि ०७३मा डीपीआर सम्पन्न भएको थियो । ०७४देखि ०७७को अवधिमा भने रिङरोडमा कुनै बजेट परेको थिएन ।
कांग्रेस नेताले योजना पारेको भन्दै केपी ओली नेतृत्वको सरकारले यसलाई वेवास्ता गर्दै आएको आरोप थियो । जब कि ओलीको गृहनगर दमक र आसपासका क्षेत्रमा भने विकास आयोजनाको बाढी लागेको भन्दै आलोचना हुने गरेको थियो ।
