नहराओस् मौलिक विशिष्टता
नेपाली महिलाहरूको ठूलो पर्व हो तीज । तीजको बेग्लै र विशेष महत्व छ र विशेषता पनि । वैदिक सनातन धर्म र संस्कृतिमा तीज भन्नाले पौराणिक युगमा हिमालय पुत्री पार्वतीले भगवान शिवलाई वर पाउँ भनेर एकसय आठ वर्ष निराहार व्रत बसेको र त्यही व्रत र कठोर तपस्याका कारण उनको इच्छा पूरा भएको विश्वास छ । यही पर्वको अर्को महत्वपूर्ण र लौकिक विशेषता भनेको चेली माइतीको भावनात्मक, आत्मीय र अटुट सम्बन्ध उजागर गर्नु हो । खासगरी विवाहित छोरीलाई बुहारी भएर घरको सम्पूर्ण जिम्मेवारी निर्वाह गरेर अनि खेतीको धपेडीले थाकेको मन र शरीरलाई आराम दिन तीजले अवसर पनि दिएको छ । घरको बुहार्तन, पुरानो पारिवारिक ढाँचा र सासू बुहारीका बीचको अप्रिय जस्तो लाग्ने सम्बन्धले एक दुई दिन भए पनि माइतीको काखमा बसेर बिर्साउने तीजको व्यवहारिक महत्व नै हो । यद्यपि आजको परिवार एकल बन्दै गएको छ, न खेतीको धपेडी छ, न खान समस्या न त सासू–बुहारीमा विभेद नै ।

आज चेतनाको स्तर उठेको छ । सोचाइ, गराइ र परिस्थितिमा आफूलाई परिवर्तन आइसकेको छ । अनि पनि चेली माइती र तीजको उत्साह कम भएको छैन । आज पनि दर खाइएको छ, नाच नाचिएको छ, तीजका गीत गाइएकै छ । अहिले धेरै छोरीले पति रोज्नका लागि पार्वतीले जस्तो कठोर व्रत बस्नु पर्दैन, पति पाइसकेपछि बुहार्तन खप्नु पर्दैन, न खान लाउनकै लागि चाड पर्खिनु पर्छ । न राता साडीको मोह छ, न लगाव, न त माइत जान कुनै आइतबारले नै छेक्छ । तर, यसको सांस्कृतिक पक्ष र महत्वलाई जोगाउन भने जरूरी छ । मौलिकता जोगिएन भने जातीय अस्तित्व सुरक्षित हुँदैन । त्यस्तोमा न पहिचान रहन्छ न त मौलिकता । भगवान शिवका मन्दिर, शिवालयहरूमा रातो पोशाकमा सजिएका विवाहित महिलाहरू अटल सौभाग्य, पारिवारिक सुख र समृद्धिको कामना लिएर पुगेका हुन्छन् । त्यसैले यस्तो पवित्र दिन र पर्वको मौलिकतामा बाह्य संस्कृतिको अतिक्रमण नहोस् सबै सचेत हुनु पर्छ । हाम्रो मौलिकतामा हाम्रै माटोको सुवास छ, कस्तुरीले आफूसँग भएको सुगन्ध थाह नपाएर वनमा निरर्थक हराए जस्तो नहोऔं ।
पोहोर जस्तै यो वर्ष पनि कोरोना कहरले पिरोलेको छ । त्यसैले उन्मुक्त भएर नाचगानमा सहभागी हुन भने सोच्नै पर्छ । खासगरी तीज चेली माइतीको प्रगाढ सम्बन्धको पर्याय हो त्यसैले यसलाई त्यसरी नै मानौं जसरी कि परम्परादेखि मान्दै आइएको थियो । हरितालिका तीजमा माता पार्वतीको असीम कृपा रहोस्, उनको भक्ति र आराधनाबाट हाम्रा चेलीहरूको मनका आकाङ्कहरू पूरा होउन् । नारी जाति सृष्टिका अनुपम वरदान हुन्, शक्तिका स्रोत हुन् र सृजनाका प्रतिक पनि हुन् । त्यसैले त्यही शक्ति र स्रोतको सम्मान गर्दै, शदीयौंंदेखि चलिआएको मौलिकताको समेत रक्षा गर्दै दर खाने र तीज मनाउने चेतना जागोस् । पूर्वीय दर्शन, संस्कृति र संस्कारले मानिल्याएका सबै चाडपर्व परम्परालाई यथावत राखेर मनाऔं । यसतर्फ नेपाली खासगरी हिन्दू महिलाहरूमा सचेतना र जागरण देखियोस् सबै महिलालाई तीज पर्वको अभ्यन्तरको शुभकामना ।
