June 20, 2026

अर्जुनधारा नगरपालिकाको सर्वपक्षीय बैठक सम्पन्न

0

अर्जुनधारा ।

चालु आर्थिक वर्ष ०७८/०७९मा अर्जुनधारा नगरपालिकाले सञ्चालन गर्ने नगरस्तरिय योजनाहरुको प्रभावकारीरुपमा कार्यान्वयन गर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट रचनात्मक सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकामा बिहीबार सम्पन्न भएको जनप्रतिनिधि, स्थानीय राजनीतिक दल र सरोकारवालाहरु सहभागी भएको सर्वपक्षीय बैठकबाट उक्त निर्णय गरिएको प्रमुख हरिकुमार रानाले जानकारी दिए ।

त्यसैगरी बैठकले पारित गरेको अन्य निर्णयहरुमा चालु आर्थिक वर्षमा नगरपालिकाबाट बग्ने नदीजन्य सामग्रीहरुको उत्खनन् तथा बिक्री वितरणका लागि अद्यावधिक आईई प्रतिवेदन बमोजिमको परिमाणमा नदीजन्य सामग्री उत्खनन् तथा बिक्री वितरणका लागि ठेक्का बन्दोबस्त गर्ने, विगतमा नदीजन्य सामग्री उत्खनन् तथा बिक्री वितरणबाट हुने आय संकलनका लागि कार्यालयबाट जारी भएको रसिदमा उल्लेखित बराबरको रकम राजश्वमा दाखिला गरिएकोे वा नगरिएको विषयमा नगर कार्यापालिकाबाट छानविन समिति गठन गर्ने र नगरपालिकामा संकलन भएको अव्यवस्थित बसोबासीको विवरण अनुरुप जग्गा नापजाँचका लागि जिल्ला नापी कार्यालय झापाबाट भोली(शुक्रबार) चारपानेचौकबाट कन्ट्रोल प्वाइन्ट पहिचान गर्ने कार्य सुरु गर्ने रहेका छन् ।

प्रमुख रानाको अध्यक्षतामा बसेको बैठकमा नेकपा एमालेका नगर अध्यक्ष प्रेमसागर सापकोटा, नेपाली काँग्रेसका नगर सभापति हेमप्रसाद खरेल, नेकपा माओवादी केन्द्रका इञ्चार्ज नारद दुःखी, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि लवकुश गिरी, राष्ट्रिय जनमुक्ति पार्टीका प्रतिनिधि दिलीप राई, कार्यपालिका सदस्यहरु जीवकुमार भण्डारी, लोकनाथ गौतम, नवराम ढुंगाना र भैरवबहादुर खड्का, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईं, लेखा अधिकृत रामचन्द्र घिमिरे, अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष रमेश समदर्शीलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *