June 20, 2026

कोरोना ! कोरोना र कोरोना !!

0

भौतिक विकासले आकाश छोएका हुन् वा पछि–पछि दौडिने विश्वका सबै देशका लागि कोरोना महाआतंक बनिएको छ । झण्डै दुई वर्षदेखि त्रासदी बनेको यसको कहरविरूद्ध खोप लगाउन थालेको पनि निकै भयो । तर, यसले बिसाउने सुरसार गरेको छैन । समृद्ध मुलुकलाई समेत कायल बनाउने कोरोना महामारीबाट नेपाल पनि आक्रान्त छ । दश हजारभन्दा बढी नेपालीको जीवन खोसेको यसको पीडा ढीलो– चाँडो सबैले व्यहोर्नु पर्ने देखिँदैछ । कोरोनाजन्य कहरको प्रभावकारी प्रतिरोध सुरक्षाको मापदण्डको पालना नै हो । त्यही कारण विश्व स्वास्थ्य संगठनले मास्कको अनिवार्य प्रयोगमा जोड दिएको छ । यसका साथै एकअर्काबीच दुई मिटरको दूरी बनाउन, हातको नियमित सरसफाई गर्न आग्रह गरिएको छ ।

बिगत डेढ वर्षदेखि नेपाली जीवन पनि अस्तव्यस्त छ । बन्दव्यापार, उद्योगधन्दा, कलकारखाना, कार्यालयहरू, शिक्षण संस्था लगायत देशको जीवन सञ्चार गर्ने वित्तीय क्षेत्रहरू समेत पूर्णतः प्रभावित भएका छन् । विश्वविद्यालयदेखि विद्यालयसम्मका नियमित कार्यक्रम ठप्प छन् । दिनहुँ काम गरेर खानुपर्ने वर्ग जीवन रक्षाकै सङ्कट भोग्दैछ । सरकार राजनीतिक स्वार्थको खेलमै रमायो जसका कारण परिस्थिति झन् संक्रामक बनियो । बन्दाबन्दी, निषेधाज्ञा जस्ता हतियारले पनि अपेक्षित परिणाम दिन सकेन । यसबीच सत्ता परिवर्तन भएको छ । खोपलाई पहिलो प्राथमिकतामा राखेर खोप कार्यक्रम निरन्तर सञ्चालन पनि हुन थालेको छ । तर, आमनागरिकका तर्फबाट आवश्यक सजगता अपनाउन छाडेको शहर बजारका भीडभाड र सवारीको चापले प्रमाणित गर्दैछ । यसकै परिणाम प्रत्येक दिन संक्रमण बढ्दो क्रममा छ । जोखिम उच्च हुँदैछ र स्वास्थ्य सेवा असहज हुने परिस्थिति देखिन थालेको छ ।

नयाँ सरकारले खोप नियमित गर्दै विगतका कमजोरी सच्याउन थालेको छ । खोप कार्यक्रम व्यवस्थित हुन खोज्दैछ । यद्यपि निषेधाज्ञा जारी छ । तर, मानिसको स्वच्छन्द गतिविधि पूर्ववत् छ । अनेक वहाना देखाएर प्रहरीको आँखा छल्नुपर्छ भन्ने मानसिकताले आवागमन रोकिएको छैन । कतिले अत्यावश्यकीय सेवाको पोस्टर, स्टिकर टाँसेर त कतिले झुटो काम देखाएर स्वास्थ्य सुरक्षा मापदण्ड विपरीत जोखिम बढाइरहेका छन् । स्वयम्को चेतना जागृत नहुञ्जेलसम्म अनुशासन कायम गर्न सकिँदैन । अनुशासन कायम नहुञ्जेल कोरोना कहरबाट त्राण पाइँदैन । यसैले सरकारले स्थानीय सरकार, प्रहरी र प्रशासनसँग समन्वय गरेर निषेधाज्ञालाई कठोर ढङ्गले कार्यान्वयन गर्दै खोप कार्यक्रमलाई अझै तीव्र बनाउनु पर्छ । अनि मात्र विद्यमान कोरोना, कोरोना र कोरोनाको चपेटाबाट नागरिक र देशलाई मुक्त गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *