जन्मोत्सवमा पत्रकार रञ्जित परियारद्वारा पत्रकार उपचार कोषलाई सहयोग
बिर्तामोड।

नेपाल पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य रञ्जित परियारले आफ्नो जन्मोत्सवको अवसर पारी पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोषका लागि परियारले मंगलवार उक्त रकम प्रदान गरेका हुन् । महासंघ झापाका अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई र कोषाध्यक्ष रञ्जित प्रसाईंलाई उनले उक्त रकम प्रदान गरेका हुन् ।
झापा अर्जुनधारा–११ निवासी परियार डेढ दशकदेखि पत्रकारितामा छन् । जन्मोत्सवको शुभ अवसरमा झापाली पत्रकारहरुको हितमा योगदान गर्न आफूले रकम प्रदान गरेको उनले बताएका छन् ।
महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ । कोषको व्याजबाट पत्रकारहरु विरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ ।
कोषमा हाल ४५ लाख रुपैयाँ जम्मा भइसकेको छ । पत्रकार परियारले आफूले झैं अरुले पनि जन्मोत्सव, विवाह उत्सव तथा पितृको स्मृति जस्ता सन्दर्भमा केही रकम योगदान गर्ने हो भने कोषलाई एक करोड रुपैयाँ बनाउन सहयोग पुग्ने बताएका छन् ।
महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ ।
