खोप लुकाउने खड्कालाई कामबाट हटाइयो
बिर्तामोड।

कोरोनाबिरुद्धको खोप दुरुपयोग भएको भन्दै नेपाली कांग्रेसका तरुण, विद्यार्थी र माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शनिबार बिर्तामोड नगरपालिकाको मूल गेटमा लगाएको ताला ७ बुँदे सहमति पछि आइतबार खोलिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीमा बसेको सर्वपक्षीय बैठकले १०३ भायल भेरोसिल खोपसहित शंकास्पद अवस्थामा होटलमा भेटिएका नगरपालिकाका कोरोना फोकल पर्सन ओमबहादुर खड्कालाई निलम्बन गरेको छ ।
सर्वपक्षीय बैठकको निर्णय बारे नगरपालिकाका नासु मेघराज बाँस्तोलाले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिलाई निष्पक्ष छानविनका लागि सहयोग गर्ने, अब उप्रान्त खोप व्यवस्थापन गर्दा सर्वदलीय संयन्त्रमार्फत् गर्ने, अब उप्रान्त तोकिएको उमेर समूह तथा पेशा व्यवसायका मानिसलाई मात्र खोप लगाउने, नगरपालिकामा हालसम्म प्राप्त कोरोनाबिरुद्धको खोप संख्या तथा खोप लगाएको तथ्याङ्क सार्वजनिक गर्ने आदि निर्णय गरिएको जानकारी दिए ।
छलफलमा नगर प्रमुख ध्रुवकुमार शिवाकोटीसहित प्रदेश सांसद एकराज कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, वडाध्यक्षहरु, विभिन्न राजनीतिक दलका नगरस्तरीय नेताहरु, नगरपालिकामा तालाबन्दी गर्ने नेविसंघ, अखिल क्रान्तिकारी तथा तरुण दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
यसैबीच बिर्तामोड नगरपालिकाको खोप काण्ड छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले बिर्तामोडको खोप काण्ड सात दिनभित्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने निर्णय गरेको हो ।
छानबिन समितिको सदस्यहरुमा जिल्ला समन्वय समिति अधिकारी लालबहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राकेश थापा, सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रहरी नायव उपरीक्षक प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धानका अनुसन्धान अधिकृत किरण भट्टराई छन् । बैठकले जिल्लामा खोप लगाएको तथा खोप सम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको छ ।
यस्तै होटलमा भेटिएको खोपको वास्तविकता सार्वजानिक गर्न विभिन्न पाँच राजनीतिक दलले माग गरेका छन् । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनीहरुले तत्काल वास्तविकता सार्वजनिक गरि दोषीलाई कडा कारबाही गर्न माग गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति उद्धव थापा, नेकपा माओवादी केन्द्रका सचिव मणिकुमार साङपाङ, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष दिपेनबाला राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष केशव ओझा र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष सन्तोषकुमार राईले संयुक्त विज्ञप्ति निकालेर घटनाको वास्तविकता सार्वजानिक गर्न माग गरेका हुन् ।
त्यस्तै नेकपा एमाले बिर्तामोड नगर कमिटीले होटलमा फेला परेको कोरोना विरुद्धको खोपको वास्तविकता सार्वजानिक गर्न माग गरेको छ ।
बिर्तामोड नगर कमिटी अध्यक्ष उमानाथ ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– स्वास्थ्य जस्तो संवेदनशिल विषयमा कसैबाट पनि अनियमितता भएको भए त्यो क्षम्य हँुदैन् । समस्याको तथ्यपरक र सही अनुसन्धान गरी यथार्थ तत्काल सार्वजनिक गर्न पनि एमाले माग गर्दछ ।
यता बिर्तामोड उद्योग वाणिज्य संघले पनि खोप लुकाइएको विषयको सत्य तथ्य सार्वजानिक गर्न माग गरेको छ ।बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै संघले कोरोना भाइरसको संक्रमण दर र मृत्युदर दिनानुदिन बढी रहेका बेला सरकारले खोप दिनु भनेर तोकेको समूह दिनभर जोखिम मोलेर भीडभाड र घाममा बस्नु परेको तर उक्त समूहले खोप नपाउनु र विभिन्न बहानामा खोप होटलमा लुकाईछिपाई राखेको घटनाले गम्भीर प्रश्न उठाएको अध्यक्ष प्रकाश शिवाकोटीले बताए ।
