June 17, 2026

होटल सञ्चालक विष्ट दम्पतीको मृत्युले सुरुङ्गा शोकमा

0

सुरुङ्गा । 

मोटरसाइकल दुर्घटनामा परी झापाको सुरुङ्गास्थित होटल हेवनका सञ्चालकद्वय विष्ट दम्पतीको घटनास्थलमै मृत्यु भएको छ ।

कोरोना संक्रमणका कारण सबैतिर बन्दाबन्दी भएपछि व्यापार व्यवसाय अस्तव्यस्त भएका कारण मंगलबार बिहानै भेडेटार घुम्न गएका विष्ट दम्पती सुरुङ्गास्थित घर फर्कने क्रममा मंगलबार राती दमक चियाबगान सडक खण्डमा सडक दुर्घटनामा परी मृत्यु भएको बिष्टका छिमेकी सुरुङ्गा निवासी प्रेम तिवारीले जानकारी दिएका छन् ।

मंगलवार राति साढे १० बजे दमक चिया बगान सडक खण्डमा मोटरसाइकलमा रहेका बिष्ट दम्पती होटल हेवनका सञ्चालक ४३ वर्षीय पूर्णबहादुर बिष्ट (राज) र उनकी पत्नी ३७ वर्षीय भीमा कार्की विष्टको घटनास्थलमै मृत्यु भएको हो । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको विष्ट दम्पती सवार प्र.२(०३(०१३(प.४७८७ नम्बरको निलो रङ्गको अपाची मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ ख.८७३० नम्बरको टूकले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ठक्कर दिने टूक र मोटरसाइकल दमक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ ।

मोरङको भाउन्नेमा मूल घर भए पनि लामो समयदेखि सुरुङ्गामा विभिन्न व्यवसाय गर्दै विगत ७ वर्षदेखि होटल हेवन सञ्चालन गर्दै आएका विष्ट दम्पतीको निधनले सुरुङ्गामा शोक छाएको छ । यतिबेला दुर्घटनामा परी निधन हुनुभन्दा २४ घण्टा अघि उनीहरुले बनाएको बाँच्दा सँगै बाँच्ने र मर्दा पनि सँगै मर्ने भावको गीतको टिकटिक भाइरल भएको छ ।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– बाचे पनि तिम्रै साथमा…मरेसँगै धर्ती छाडौंला ! टिकटक यो गीतमा बनाइरहँदा सडक दुर्घटनामा एकैसाथ जीवन गुमाउने कल्पना यो जोडीलाई पक्कै थिएन ।

झापा कनकाई नगरपालिका सुरुङाका होटल व्यवसायी पूर्णबहादुर बिष्ट र भीमा बिष्टको मृत्युको खबरले अत्यन्तै दुःखी तुल्याएको छ । यो प्रेमील जोडीको आत्माको मिलन होस् स्वर्गमा । परिजनमा गहिरो समवेदना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *