सम्भावित एमाले विभाजनः जनताको सपनामाथि तुषारापात
तीर्थराज खरेल,
२०५४ सालमा नेकपा एमाले र नेकपा मालेको रुपमा विभाजन भएका कारण २०५६ सालको आम निर्वाचनबाट बन्ने निश्चित भएको कम्युनिष्टको सरकार बनेन । अहिले फेरि त्यसकै निरन्तरता फरक परिवेश, फरक शैली, फरक पात्र र फरक अवस्थामा एमाले विभाजनको नाटकको पूर्वाभ्यास भइरहेको छ । यो निश्चित हो– यस पटकको विभाजन २०५४ सालजत्तिको भयावह हुने छैन, ध्वंशकारी हुनेछैन, तर विभाजन भनेको त विभाजन नै हो । परिवारबाट एउटा कनिष्ठ सदस्य विमति राखेर घर छोडेर हिँडेमा परिवारमा निश्चय नै अपूर्णता हुन्छ र मुटुमा किलो गाडिएझैं त्यो घाउले सताउँछ । राणाशासनको अन्त्यकालमा पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, नारायणबिलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतीदेवी श्रेष्ठले २००६ साल बैशाख १० अर्थात् सन् १९४९, अप्रिल २२ तारिख लेनिन जयन्तीका दिन भारतको कोलकाताको श्यामबजारमा नेपालमा नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्ने लक्ष्यका साथ नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । पार्टीमा वि. सं. २००८ सालदेखि नै विजातीय, अस्वस्थ र असैद्धान्तिक अन्तरसंघर्ष शुरु भएर २०१९ मा सम्पन्न तेस्रो महाधिवेशनपछि टुक्राटुक्रामा विभक्त हुनपुगेको दुःखद् इतिहास रचना भयो । आफू पानीमाथिको ओभानो हुने नेपालका कम्युनिष्टहरुको दीर्घरोग हो । पार्टीभित्र अन्तरविरोध सदैव रहन्छ र अन्तरविरोधलाई मित्रतापूर्ण रुपमा हल गर्दै कम्युनिष्ट पार्टी अघि बढ्छ । तर नेपाली कम्युनिष्टहरुमा कथनी र करनीमा आकाश–धर्तीको फरक छ । नेपालका कम्युनिष्टहरु कार्ल माक्र्स, फ्रेडरिक एंगेल्स, भ्लादिमिर इल्यिच लेनिन, जोजेफ स्टालिन, माओत्सेतुङ, चे ग्वेभारा, फिडेल क्यास्ट्रो, होचि मिन्ह आदिका अनुयायी भएकोमा गर्व गर्छन्, तर आफूले अनुकरण गरिएका व्यक्तित्वका राम्रा कुरालाई छायाँमा पारेर नराम्रा कुराहरुलाई नै सर्वश्व ठान्छन् । तर यथार्थमा नेपालका कम्युनिष्टहरु आफ्ना स्वार्थ, महत्वाकांक्षा, लालसा, कुण्ठा र मपाईवादलाई ढाकछोप गर्न माक्र्सवादको माला जप्छन् भन्ने कुरा घामझै छर्लङ्ग छ ।
२०२५ सालसम्ममा नेपाल कम्युनिष्ट पार्टी दुई दर्जन बढी ससाना भँगालामा बाँडियो । बीसको दशकको उत्तरार्ध र तीसको दशकको पूर्वार्धमा कम्युनिष्टहरु दुई ध्रुबमा ध्रुवीकृत हुन शुरु गरे । एकातिर झापा विद्रोहको पृष्ठभूमिमा कोअर्डिनेशन केन्द्र (कोके) हुँदै २०३५ साल पुस ११ (डिसेम्बर २६) मा माओ जन्मजयन्तीको अवसरमा नेकपा (माले) को स्थापना भयो । यो धारले माओत्सेतुङ विचारधारा वा माओवादलाई परित्याग गर्दै माक्र्सवाद लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्दै अन्ततः नेकपा एमाले बन्यो । यति बेला नेकपा एमालेभित्रको अन्तरविरोध असैद्धान्तिक, व्यक्तिवादी, अमाक्र्सवादी बन्दै बुझ्नै नसकिने पहेलीझैं भएको छ । एमाले नेपालको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी हो र सबै पार्टीहरुमा पनि नेपालकै ठूलो पार्टी हो । पटक पटक फुटको सँघारमा पुगेर वैतरणी दानपछि पनि बौरिँदै गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) यस पटक कानुनी रुपमा फुटेको घोषणा हुन नसके पनि राजनीतिक र व्यावहारिक रुपमा विभाजन भइसकेको छ । संसदको लगभग दुई तिहाइ र मुलुकका मतदाताको लगभग आधा जनमतको साथ, सहयोग र समर्थन प्राप्त छ नेपालका कम्युनिष्टहरुलाई । तर अन्य कम्युनिष्ट घटकहरुसँगको सहकार्य र एकताको कुरै छोडौं, स्वयम् सत्तारुढ नेकपा एमाले अहिले विभाजन र विग्रहको सन्निकट छ । एमालेमा अहिले नजानिँदो अस्थायी युद्धविरामको अवस्था छ । एमालेभित्रको अन्तरविरोध शत्रुतापूर्ण अवस्थामा छ । पार्टी फुट्छ या जुट्छ यसै भन्न सक्ने अवस्था छैन । विगतको त्यागतपष्या मूल्यहीन लाग्न थालेका छन् । दशकौं सुख–दुःखमा बिताएका साथीहरु बिरानाजस्ता भएका छन् । दोस्रो तहका नेताहरु समुद्र मन्थन गरेर एकता र मेलमिलापको अमृत निकाल्न कोशिस गरिरहेका छन् र यो बीचमा द्वन्द्वरत पक्षवीच सहमति र सहकार्यका लागि प्रयत्न पनि भएका छन्, तर एक बनाउनेभन्दा पार्टी विभाजन गराउने, आफ्नै घर जलाएर आगो ताप्ने र खरानी घसेर आत्मसन्तुष्टी लिनेको सघन बोलबाला बढेको देखियो । पार्टी विभाजन भए आफ्नो स्थान अग्लो हुने आशामा कतिपयका लागि विभाजनमै गहिरो दिलचस्पी बढेको छ । एकतालाई जोगाउन सतर्कतापूर्वक संघर्ष यति कमजोर भएको छ कि पार्टी नफुटोस् भन्नेहरु डराउनुपर्ने अवस्था छ । हरेक नेताहरु हरेक कार्यकर्ताबाट पार्टीभित्र एकताका लागि आवाज उठाउनेभन्दा पनि आफ्नो पक्षमा वकालत गरुन् भन्ने आशामा छन् जस्तो लाग्छ । कार्यकर्तालाई म सिंगो र एकीकृत नेकपा एमालेको सदस्य हुँ भन्दा पनि परिस्थितिले कुन गुट÷उपगुट भनेर चिनिन उत्प्रेरित गरेको देखिएको छ । अरुको खुट्टा काटेर अग्लिने र रुखको हाँगामा बसेर बसेकै हाँगा काट्ने कालिदासीय मनोदशामा एमालेका नेता–कार्यकर्ता ध्वंशात्मक प्रवृत्तितर्फ आमुख भएका छन् ।

नेपालमा कम्युनिष्ट पार्टी विभाजनका प्राकृतिक र अप्राकृतिक दुवै प्रकारका कारणहरु हुने गरेका छन् । कहिले कुनै विदेशी शक्तिकेन्द्रप्रति लक्षित गर्दै पार्टी विभाजनको दोष अर्काको थाप्लोमा हालिदिने गरिएको छ भने कहिले आफ्नै कमरेडलाई लाञ्छना लगाएर सिध्याउने पटकपटक दुःखद् इतिहास दोहोरिएको छ । गुट हेरेर बोल्ने र नेता हेरेर सही वा गलत बुझ्ने कार्यकर्ता बन्ने नेपाली कम्युनिष्टको धर्म भएको छ । २०६२÷२०६३ सालको जनसंघर्षको जगमा बनेको नेपालको संविधान २०७२ को मूल जिम्मेवारी नेपालका कम्युनिष्टहरुको हो, तर उनीहरु संविधान कार्यान्वयनको उत्तरदायित्व कस्को हो भन्नेमा उदासीन लाग्छन् यतिबेला । जनतामा कम्युनिष्टहरुप्रति ठूलो आडभरोसा थियो र जनताले मुलुकमा राजनीतिक स्थिरता र समृद्धिका लागि मतादेश पनि दिएका थिए । दुःखको कुरा जनपक्षीय राजनीति अहिले तुच्छ वाकयुद्ध, अस्वस्थ गतिविधि र झाँगिदै गएका अस्वस्थ, असैद्धान्तिक र व्यक्तिवादी सोच र सो अनुरुपका आत्मघाती र विध्वंसात्मक क्रियाकलापको शिकार भएको छ । नेकपाको विभाजन र एमालेको सम्भावित विभाजनका पछि प्रष्ट देखिने क्रान्तिको कार्यनीति, रणनीतिमा भएको विमति होइन, यो त नेपाली कम्युनिष्टमा फुट र विभाजनको पुरानो रोग दबिएको र मौका पाउनासाथ उजागर भएको मात्र हो । नेताहरु शक्तिको केन्द्रीकरण चाहन्छन्, शीर्ष नेतृत्वमा आफू टिकिरहन चाहन्छन्, त्यसैले यो अस्वस्थ होडबाजी चलेको हो ।
सुन्दा तीतो लागे पनि यथार्थ के हो भने जनतालाई राजनीतिक स्थायित्व र आर्थिक रुपान्तरणका लागि नेकपा एमाले चाहिएको हो, तर नेताहरुलाई प्रधानमन्त्रीको पद, राष्ट्रपतिको पद र पार्टी अध्यक्षको पद चाहिएको हो । नेकपा एमाले यतिबेला मुख्य तीनवटा पद प्राप्तिको अभिलाषाका कारण विभाजनको डिलमा छ—प्रधानमन्त्रीको पद, राष्ट्रपतिको पद र पार्टी अध्यक्षको पद । आगामी चुनावमा पार्टीका आम कार्यकर्ता जनतासामु राजनीतिक अस्थिरताको खलनायकीय पात्रको रुपमा चित्रित भएर शिर झुकाएर मत माग्न जानुपर्ने परिस्थिति बन्दैछ । पार्टीभित्रको यो विवाद र यो विभाजनको अन्तर्य जनहितभन्दा पनि व्यक्तिगत स्वार्थ र महत्वाकांक्षा भएको अनुमान गर्न जोकोहीलाई अप्ठेरो छैन । २००७ सालदेखि नै सरकार बनाउने र गिराउने खेलको दुश्चक्रमा परेको नेपाल फेरि संयुक्त र मिलिजुली सरकारको बाटोमा लाग्न अभिषप्त हुँदैछ । नेकपामा नीतिभन्दा नेता प्राथमिकतामा पर्न थाल्नु र पार्टी गुटबन्दीले थलिनु नेपाली लोकतन्त्रको लागि अति दुःखद् पक्ष हो । पार्टीको नेतृत्व व्यक्तिकेन्द्रित हुनु र राज्यका स्रोतसाधन दलभित्रका गुटका लेनदेनको विषय बन्नु विधि र पद्धतिभन्दा बाहिर जानु हो । खुला छलफल र चिन्तन नगर्ने परिपाटीले कार्यकर्तालाई समेत नेताहरुको गतिविधिबारे प्रश्न गर्न दिँदैन । कार्यकर्ताले भेला, बैठक, सम्मेलन वा महाधिवेशनमार्फत प्रश्न गर्ने हो । तर जब प्रश्नहरू निषेध हुन्छन्, तब निरंकुशता हावी हुन्छ र दासता मौलाउँछ । अहिलेका अभ्यासहरूले पार्टी कमजोर भएको छ, कार्यकर्ता निरीह पछुवा भएका छन् र नेता बलिया भएका छन् । जहाँ विधि र पद्धतिले काम गर्छ, त्यहाँ नयाँ नेतृत्व जन्मिन्छन् । नेकपा एमालेमा पन्पिएको यस्तो प्रवृत्तिले विचारले खारिएका, केही गरौं भन्ने युवा नेताहरूलाई पार्टी नेतृत्वमा पु¥याउन सक्दैन ।
माक्र्सवादको आत्मा भनेको समाजलाई बुझ्ने र दलनमा परेका वर्गको हितलाई सर्वोपरि राखेर समाजलाई बदल्ने हो । कम्युनिष्ट पार्टी निर्माण समाजको विकासक्रम र विद्यमान उत्पादन प्रणाली अर्थात् उत्पादक शक्ति र उत्पादन सम्बन्धको अन्तरक्रियात्मक अभिव्यक्ति, राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति सन्तुलन आदिको विश्लेषणसहित समाजमा रहेका अन्तरविरोध हल गर्दै क्रान्तिका कार्यभार पुरा गर्न सकिने मार्गचित्रसहित निर्माण गरिन्छ । यही सत्यलाई आत्मसात गरेर गठन भएको नेकपा एमाले पनि यी कुनै सैद्धान्तिक वा दार्शनिक आधार बारेमा नभएर अन्धानुकरण, व्यक्तिवादी महत्वाकांक्षा, भट्काव, उक्साहट र सारसंग्रहको दलदलमा फँसेर दिग्भ्रमित भएर विभाजनको संघारमा पुगेको छ । सैद्धान्तिक र दार्शनिक विषयमा अन्तरसंघर्ष भएमा छलफल, बहस र विवादबाट हल गर्न सकिन्छ, तर एमाले एकताबद्ध बनेमा पनि भागबण्डा, सौदाबाजी र हेराफेरीका आधारमा हुने प्रष्ट छ । सत्तास्वार्थ, शक्ति आर्जन र पदलोलुपताको गोलचक्करमा फँसेर विवेकशून्य भई आफ्नो खुट्टोमा आफै बन्चरो हानेर नेकपाबाट अलग भएर नेकपा माओवादी केन्द्रको अकण्टक अध्यक्षको रुपमा पुष्पकमल दाहाल प्रचण्ड खुसियाली मनाइरहेका छन्, किनभने २०४५ सालको सेक्टर काण्डदेखि पार्टीको प्रमुख रहेका प्रचण्ड अहिलेसम्म पनि निरन्तर पार्टीको सर्वोच्च स्थानमै छन् । नेपालको सर्वोच्च अदालतले नेकपालाई विभाजन गरेको होइन, न्यायालयको फैसला अघि नै पार्टी फुटिसकेको थियो । नत्र कसरी फुट सम्भव छ ? संसारमा कुनै पनि तागतले नेकपालाई विभाजन गर्न सक्ने थिएन नेताहरुको चाहना बिना । नेपाली जनताले कम्युनिष्टप्रति देखाएको सद्भावमाथि तुषारापात भएको छ । जनअभिमतमाथिको धोखा दिएको कलंकको टीका ग्रहण कसले गर्ने हो ? त्यसरी नै एमाले विभाजन भएमा पार्टीले लिने नीति, योजना र कार्यक्रम तथा कार्यदिशाका आधारमा होइन स्वार्थान्धताले हुने हो फुट । आग्रह, पूर्वाग्रह तथा गुट–उपगुटका स्वार्थले पागल बनेर आत्मघाती कदम चालेर मात्र पार्टी विभाजन हुन्छ । पार्टी भित्रको कलह अब पार्टीमा मात्रै सीमित रहेन । यसले देशलाई अस्थिरतातर्फ धकेलेको छ, मुलुक नै तरङ्गित गराएको छ । यी सबै गतिविधिको कुलयोग भनेको जनताका सपनामाथिको तुषारापात हो ।
