बाह्रदशीका कृषकलाई ४० लाखको कृषि औजार (फोटो फिचर सहित)
भागुडुब्बा, बाह्रदशी गाउँपालिका वडा नम्वर १ का कृषकका लागि २० लाख मूल्य बराबरको कृषि औजार प्रदान गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बाह्रदशी गाउँपालिकाले कृषि औजार खरिदका लागि ५० प्रतिशत अनुदान रकम उपलब्ध गराएपछि यहाँका कृषकलाई थ्रेसरदेखि मकै छोडाउने मेसिनसम्म प्रदान गरिएको हो ।

बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशी, प्रमुख प्रशासकीय अधिकृत चित्रप्रसाद गुरागाँई, वडा नम्वर १का वडाध्यक्ष शम्भुसिंह राजवंशीले हामार कृषक समूहकी अध्यक्ष संगीता राजवंशीलाई तीन थान थ्रेसर, ३ थान हेरो हलो, चार थान चापकटर, २० हर्स पावरको टिलर एक थान, रोटावेटर एक थान, पानी तान्ने पम्प तीन थान, तीन हर्स पावरको पाँच थान मोटर, र मकै छोडाउने मेसिन ४ थान प्रदान गरिएको हो । सबै कृषि औजार सुन्दर आधुनिक कृषि सञ्चार बिर्तामोडले उपलब्ध गराएको थियो । बाह्रदशी गाउँपालिका वडा नम्वर १ मा मकै पकेट कार्यक्रम सञ्चालनमा रहेको र त्यस ठाउँका कृषकलाई आधुनिक खेतीपाती गर्न सहज बनाउने उद्देश्यले कृषि औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए ।

कृषि प्रर्बद्धनका लागि कृषकलाई कृषि औजार प्रदान गरेसंगै यहाँका कृषक उत्साहित भएको अध्यक्ष राजवंशीको भनाइ छ । कृषकलाई प्रदान गरिएको सामग्री दिगो र भरपर्दाे भएकाले यहाँका कृषकले बर्षाैंसम्म यही उणले व्यवसायिक खेती गर्न सकिने बताएका छन् । आधुनिक र व्यवसायिक खेतीका लागि यस ठाउँका कृषक अग्रसर भएसंगै समूहगत रुपमा समेत अब कृषकले खेती गर्न सक्ने बताउँदै अध्यक्ष राजवंशीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उपलब्ध भएको सामग्री प्रभावकारी भएको बताएका छन् ।
यता प्रमुख प्रशासकीय अधिकृत गुरागाँईले गाउँपालिकाबाट प्रदान गरिएको सामग्रीले सिङ्गो वडावासी लाभान्वित हुने भन्दै यसको भरपूर सदुपयोग गर्न आग्रह गरेका छन् । उनले कृषकको उत्पादकत्व वढाउन यसखाले उपकरण प्रभावकरी हुने भन्दै अब आधुनिक र व्यवसायिक खेतीमा लाग्नुपर्ने सुझाव दिए ।
यता वडाध्यक्ष राजवंशीले आफ्नो वडाको कृषकको जीवनस्तर उकास्न प्रदान गरिएको कृषि औजारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । कोरोना कहरकाबीच थलिएको कृषि क्षेत्रको उत्थानका लागि गाउँपालिकाले अन्य थुप्रै कार्यक्रम सञ्चालन गरिरहेको बताइएको छ । यस अघि कृषकका लागि १० लाख मूल्य वरावरको धानको बीऊ समेत बितरण गरिएको थियो ।

त्यस्तै गाउँपालिकाकै तर्फबाट मोटर समेत बितरण गरिएको बताइएको छ ।
यता बाह्रदशी गाउँपालिका वडा नम्वर २ का कृषकलाई समेत २० लाख मूल्य वरावरकै कृषि औजार प्रदान गरिएको छ । सालवारी मिश्रित कृषक समूहलाई २२ थान मोटर, १८ थान वोरिङ, वोरिङ पाईप, विजुलीको तार, हलो , स्प्रे ट्याङ्की, १० थान चापकटर, त्रिपाल लगायतका सामग्री प्रदान गरिएको गाउँपालिका कृषि शाखा प्रमुख आर्जु खड्काले जानकारी दिइन् ।





