September 15, 2026

ताप्लेजुङ कारागारका ६ जना कैदीको कैद मिनाह

0

ताप्लेजुङ,

गणतन्त्र दिवसका अवसरमा ताप्लेजुङ कारागारबाट ६ जनाको कैद मिनाह भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरिदिएकी हुन्।

कारागार प्रमुख कुलेन्द्र खवासका अनुसार माफी मिनाहा पाउनेमा मेरिङदेन गाउँपालिका–४ का डिल्ली लङ्वा लिम्बू रहेका छन्। उनको १ वर्ष ११ महिना १४ दिन कैद कट्टा गरिएको छ। यस्तै, फुङलिङ नगरपालिका–३ का प्रदिप न्यौपानको ५ महिना १० दिन, फुङलिङ–९ का मनकुमार रेग्मीको ४ महिना १७ दिन, मिक्वाखोला गाउँपालिका–३ का साजन शेर्पाको १ वर्ष ८ महिना १७ दिन बाँकी कैद कट्टा गरिएको प्रमुख कुलेन्द्र खवासले जानकारी दिए।

मैवाखोला गाउँपालिका–४ का कुमार लिम्बू र मनबहादुर लिम्बूलाई ५ वर्ष कैद घोषणा गरिएकोमा २ वर्ष ३ महिना २६ दिन बाँकी कैद मिनाहा गरिएको छ। ६ जना मुक्त भएसँगै अब जिल्ला कारागारमा १४५ जना थुनुवा र कैदी रहनेछन्। २५ जना क्षमताको कारागारमा यसअघि १५१ जना रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *