‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियानमा शान्ति समाज
काठमाडौँ,

नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड–१९) सङ्कटका कारण निषेधाज्ञा जारी रहेको अवस्थामा मानवअधिकार तथा शान्ति समाजले ‘अक्सिजन सिलिण्डर जुटाऔँ, जीवन बचाऔँ’ अभियान शुरु गरेको छ ।
समाजले अक्सिजन भरिएका १० थान ठूला सिलिन्डर सङ्कलन गरी सभापति गोविन्द खनाललगायत पदाधिकारीले लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । उक्त सिलिन्डर मन्त्रालयमार्फत् अत्यावश्यक बिरामीका लागि कोभिड अस्पतालमा वितरण हुनेछ ।
समाजले वर्तमान सङ्कटपूर्ण अवस्थामा सेवामुखी कार्यलाई निरन्तरता दिइरहेको छ । यस क्रममा जेठ ५ गते पशुपति क्षेत्रका बाँदरका लागि मनपर्ने भिजेको चना र पाउरोटीसहित सामग्री वितरण गरेको थियो । जेठ ४ गते असहाय गाईबाछा संरक्षण अभियानलाई समाजले रु १६ हजार बराबरको खाद्य सामग्री प्रदान गरेको छ ।
यसैगरी जेठ ३ गते गुहेश्वरी मन्दिर अगाडि रहेका सहयोगापेक्षीलाई पाउरोटी वितरण गरिएको थियो । जेठ २ गते काठमाडौँ साँखुस्थित द्वन्द्व पीडित तथा अपाङ्ग समाजलाई रु २३ हजारको खाद्य सामग्री सहयोग प्रदान गरिएको थियो । सहयोग प्रदान कार्यक्रममा समाजका सल्लाहकार उत्तम पुडासैनी, काठमाडौँ शाखा सदस्य विकास थापा, भगवान पुडासैनीसहित सहभागिता थियो ।
यस्तै २०७८ जेठ १ गते समाजले जोरपाटी चोकमा मास्क, स्यानीटाइजर वितरण गरेको थियो भने शान्ति समाज सिरहा शाखाले पनि सुरक्षाकर्मीलाई मास्क उपलब्ध गराएको थियो । काठमाडौँमा सम्पन्न सप्ताहव्यापी कार्यक्रमको संयोजन शान्ति समाजका महासचिव रामकृष्ण बरालले गर्नुभएको थियो ।
यसै क्रममा अक्सिजन प्लान्ट शीघ्र स्थापनार्थ ध्यानाकर्षण गराउँदै जेठ ४ गते शान्ति समाजको प्रतिनिधिमण्डलले गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेसँग छलफल गरेको थियो । बुटवलस्थित स्वास्थ्य प्रतिष्ठानका चिकित्सकसँग कोभिडसँग सम्बन्धित विषयमा छलफल गरिएको समाजले जनाएको छ । महामारीको यो समयमा अक्सिजनको खोजी र अन्य मानवीय सेवामा लागि रहने समाजको प्रतिबद्धता छ ।
