कोरोना – राहत कोषमा पाँच करोड २ लाख रुपैयाँ जम्मा
सुरेन्द्र भण्डारी
झापा,
झापाका १५ वटा स्थानीय तहमा स्थापना गरिएका राहत कोषमा पाँच करोड रुपैयाँ भन्दा बढी रकम जम्मा भएको छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार नोवल कोरोना भाइरस कोभिड १९ रोकथाम, उपचार तथा राहत कोषमा हालसम्म पाँच करोड दुई लाख ६० हजार ६ सय १७ रुपैयाँ जम्मा भएको हो । जसमा स्थानीय सरकाको तर्फबाट तीन करोड ९० लाख ९३ हजार रुपैयाँ जम्मा गरिएको छ भने बाँकी रकम स्थानीय संघ संस्था तथा दाताहरुले स्वेच्छिक रुपमा जम्म गरेका छन् ।

बिर्तामोड नगरपालिकाले सबैभन्दा धेरै रुपैयाँको कोष स्थापना गरेको छ । समन्वय समिति झापाका प्रमुख पोर्तेलका अनुसार बिर्तामोड नगरको कोषमा ८३ लाख ८६ हजार ६ सय ९५ रुपैयाँ जम्मा भएको छ । जसमा नगरको तर्फबाट ५० लाख रुपैयाँ रकम जम्मा गरिएको छ । त्यस्तै दमक नगरपालिकामा ५७ लाख १० हजार रुपैयाँको कोष स्थापना भएको छ । कोषमा ३० लाख रुपैयाँ नगरले जम्मा गरेको छ ।
यता बाह्रदशी गाउँपालिकामा ५५ लाख रुपैयाँको कोष स्थापना गरिएको छ भने कनकाई नगरपालिकामा ४४ लाख १४ हजार ९ सय २२ रुपैयाँको कोष स्थापना गरिएको छ । बाह्रदशी गाउँपालिकामा पालिका आफैले ५५ लाख रुपैयाँको कोष खडा गरेको हो भने कनकाईमा ३० लाख रुपैयाँ नगरको र बाँकी रकम स्थानीय संघ संस्था र दाताले प्रदान गरेको बताइएको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल ।
मेची नगरपालिकामा ४० लाख ८५ हजार रुपैयाँको कोष स्थापना गरिएको छ । जुन कोषमा ३५ लाख रुपैयाँ नगरपालिकाले जम्मा गरेको छ । त्यस्तै अर्जुनधारा नगरपालिकामा १६ लाख ५१ हजार रुपैयाँको कोष खडा भएको छ । जसमा १५ लाख रुपैयाँ नगरपालिकाले जम्मा गरेको छ । कचनकवल गाउँपालिकामा ३२ लाख ६६ हजार रुपैयाँको कोष खडा गरिएको छ । कोषमा गाउँपालिकाको तर्फबाट ३० लाख रुपैयाँ जम्मा गरिएको छ ।
यता कमल गाउँपालिकामा १९ लाख रुपैयाँको कोष खडा गरिएको छ । जसमा गाउँपालिकाको १० लाख रुपैयाँ रहेको छ । गौरादह नगरपालिकामा ३३ लाख २२ हजार रुपैयाँको कोष खडा गरिएको छ । जसमा नगरले ३० लाख रुपैयाँ जम्मा गरेको छ । गौरीगञ्ज गाउँपालिकामा ३७ लाख रुपैयाँको कोष खडा गरिएको छ । जसमा ३३ लाख रुपैयाँ गााउँपालिकाले जम्मा गरेको छ ।
झापा गाउँपालिकामा ३५ लाख रुपैयाँको कोष खडा भएको छ । जसमा २५ लाख रुपैयाँ गाउँपालिकाले जम्मा गरेको छ । बुद्धशान्ति गाउँपालिकामा १२ लाख ३२ हजार रुपैयाँको कोष स्थापना भएको छ । जसमा १० लाख रुपैयाँ गाउँपालिकाले जम्मा गरेको छ । भद्रपुरमा २७ लाख ९३ हजार रुपैयाँको कोष स्थापना भएको छ । कोषको सबै रकम नगरपालिकाकै रहेको जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेलले बताउनुभयो ।
यता शिवसताक्षी नगरपालिकले १५ लाख रुपैयाँको कोष स्थापना गरेको छ जसमा १० लाख रुपैयाँ नगरको रहेको छ भने हल्दिवारी गाउँपाालिकामा १९ लाख रुपैयाँको कोष स्थापना भएको छ । जसमा १० लाख रुपैयाँ गाउँपालिकाको रहेको छ ।
जिल्ला समन्वय समिति झापाले समेत ५० लाख रुपैयाँको नोवल कोरोना भाइरस कोभिड १९ रोकथाम, उपचार तथा राहत कोष स्थापना गरेको र सो कोषमा आठ नगरपालिकाले तीन ÷तीन लाख रुपैयाँ तथा सात गाउँपालिकाले दुई ÷ दुई लाख रुपैयाँ गरी ३८ लाख रुपैयाँ जम्मा गर्न अनुरोध गरेपनि तीन वटा स्थानीय तहबाहेक अन्य पालिकाले रकम जम्मा नगरेको पोर्तेलको भनाई छ ।
नोवल कोरोना भाइरस कोभिड १९ रोकथाम, उपचार तथा राहत कोषमा सबै स्थानीय तहले रकम जम्मा गरेको खण्डमा ३८ लाख रुपैयाँ जम्मा हुन्छ वाँकी रकम स्थानीय दाता र संघ संस्थालाई जम्मा गर्न आह्रवान गरिएको छ पोर्तेलले भन्नुभयो – स्थानीय तहले सायद एक दुई दिन भित्रमै रकम जम्मा गर्ने विश्वास लिएको छु ।
झापाका २७ हजार विपन्न परिवालाई
पाँच लाख ८८ हजार केजी चामल बितरण
कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन गत चैत ११ गतेदेखि मुलुक लकडाउन हुँदा विपन्न परिवारलाई दैनिक गुजारा चलाउन समस्या परेपछि स्थापाका स्थानीयतहले राहत वितरण कार्यलाई तीन बनाएका छन् । स्थानीय पालिकाले वडा कार्यालय र टोल विकास संस्था मार्फत ११ वटा स्थानीय तहले २७ हजार १ सय ४ परिवारका लागि ५ लाख ८८ हजार ४ सय १० केजी चामल बितरण गरेको जिल्ला समन्वय समिति झापाले जनाएको छ । चार वटा स्थानीय तहको विवरण आउन बाँकी रहेको जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेलले बताउनुभयो ।

वाह्रदशी गाउँपालिकाको वडा नम्वर २ स्थित मुस्लिम समुदायका विपन्न परिवारका लागि राहत वितरण गरिदै ।
पोर्तेलका अनुसार २७ हजार विपन्न परिवारका लागि ६९ हजार १ सय १ केजी दाल, ६० हजार १ सय ८६ केजी नून, २३ हजार ६ सय २३ लिटर तेल बितरण गरिएको छ । केही स्थानीय तहले सावुन,चाउचाउ, आलु, चिउरा, चियापत्ती, चिनी, अण्डा समेत वितरण गरेका छन् । ११ वटा पालिकाले विपन्न परिवारका लागि १३ हजार ५ सय ३० थान सावुन वितरण गरेका छन् । भद्रपुर नगरपालिकाले खाद्यन्यसंगै नगरवासीका लागि १३० काटुन चाउचाउ वितरण गरेको छ ।
वुद्धशान्ति र भद्रपुर नगरपालिकले ४५ हजार ४ सय २५ केजी आलु वितरण गरेको बताइएको छ । दमक नगरपालिकाले खाद्यन्यसंगै तीन हजार ६ सय १६ केजी चिउरा वितरण गरेको छ । भद्रपुर नगरपालिकाले एक सय ३० केजी खाद्यन्यसंगै चिनी समेत वितरण गरेको छ । कनकाई नगरपालिकाले आफ्ना नगरवासीलाई खाद्यन्यसंगै ६ सय ३० क्यारेट अण्डा वितरण गरेको बताइएको छ ।
विरामीको उपचारका लागि ४५ जना डाक्टर परिचालन
भद्रपुर नगरपालिकामा रहेको मेची अस्पताल सहित १५ वटा स्थानीय तहमा विरामीको उपचारका लागि ४५ जना चिकित्सक परिचालन गरिएको जिल्ला समन्वय समिति झापाले जनाएको छ ।

बिर्तामोडस्थित विएण्डसी अस्पतालका चिकित्सकको टोली सेनिटाइजर बनाउँदै ।
मेची अस्पतालमा १५ जना चिकित्सक सहित ८ जना नर्स, २६ जना सहयोगी र २ जना स्वयमसेवक परिचालन गरिएको जिल्ला समन्वय समिति झापाका प्रमुख पोर्तेलले बताउनुभयो । उहाँका अनुसार अन्य पालिकामा ३० जना चिकित्सक परिचालन गरिएको छ । पालिकामा १३३ जना नर्स, २२ जना ल्याव टेक्निसियन, ८७ जना सुरक्षाकर्मी र १२१ जना अन्य सहयोगी परिचालन गरिएको छ भने ६३ जना स्वयसेवक परिचालन गरिएको बताइएको छ ।
अझैं ११ सय ७४ जना क्वारेन्टाइनमा
भारत लगायत विभिन्न ३० वटा देशबाट झापा भित्रिएका एक हजार १ सय ७४ जनालाई अहिले पनि क्वारेन्टाइनमा राखिएको छ । जसमा १ सय ३३ जना क्वारेन्टाइनमा छन् भने १ हजार ४१ जना होम क्वारेन्टाइनमा रहेका छन् । गत चैत १ गतेदेखि हालसम्म ९ सय ९९ जना विभिन्न ३० मुलकबाट नेपालीहरु झापा भित्रिएको र ५ सय सात जना भारतबाट नेपाल भित्रिएकालाई क्वारेन्टाइन र होम क्वारेन्टाइमा राखिएको जिल्ला समन्वय समिति झापाले जनाएको छ ।
कोरोनाको आशंकामा झापामा सात जनालाई मेची अस्पतालको आइसुलेसनमा राखिएको र उनीहरुको स्वाव परीक्षण गर्दा रिर्पाट नेगेटिभ देखिएपछि घर पठाइएको छ ।

त्यस्तै क्वारेन्टाइनमा वस्ने ७० जना समेत घर पठाइएको जिल्ला समन्यव समिति झापाले जनाएको छ ।
झापामा १५ वटा स्थानीय तहले २७ ठाउँमा क्वारेन्टाइन निर्माण गरेको र निर्माण गरिएको क्वारेन्टाइनमा ६ सय ९६ जनालाई राख्न सकिने बताइएको छ । –––
