May 2, 2026

झापामा चारजनाको नमूना परीक्षणमा सवै नेगेटिभ

0

लक्ष्मी उप्रेती / झापा,

नोवल कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि झापाबाट पठाइएका पाँचजनाको नमूनामध्ये चारजनाको रिपोट आएको छ । स्वास्थ्य कार्यालय झापाका महामारी रोग फोकल पर्सन जीवनकुमार चौलागाईँका अनुसार झापा जिल्लाबाट वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा ३ तथा काठमाण्डौंमा २ गरी कुल ५ जनाको नमूना परीक्षणका लागि पठाइएको थियो ।

ती मध्ये धरान र काठमाण्डौबाट २÷२ जनाको रिपोट प्राप्त भएको हो । उनीहरुको रिपोट नेगेटिभ रहेको झापा जिल्ला विपद् व्यवस्थापन समिति सहायता कक्षका सचिव समेत रहेका चौलागाईँले बताउनुभयो । अब धरानबाट आउने एकजनाको रिपोट २÷३ दिनभित्रैमा आउने उहाँले बताउनुभयो ।

सन् २०१९ को डिसेम्वरदेखि चीनको वुहान शहरबाट शुरु भएको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण र सन्त्रासबाट उत्पन्न हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न झापा जिल्लाले शुरुदेखि नै आफ््ना हरेक संयन्त्र परिचालन गरेको थियो । नेपालमा समेत नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमित देखिन थालेपछि यसको नियन्त्रणमा झापाका स्थानीय सरकारदेखि सवै अंगहरुले उच्च सतर्कता अप्नाएका थिए ।

अहिले झापाका विभिन्न होम क्वारेन्टाइनमा १ सय ७६ महिला र ६ सय ९४ पुरुषगरी कुल ८ सय ७० जना भारतलगायत अन्य मुलुकबाट आएका मानिसहरुलाई राखिएको छ । त्यसैगरी झापाका स्थानीय तहले सञ्चालनमा ल्याएका जिल्लाभरिका २२ वटा अन्य क्वारेन्टाइन जहाँ ३ सय ७६ वटा वेडको व्यवस्थापन गरिएको थियो, त्यहा ९५ पुरुष र ४ महिला गरी कुल ९९ जना मानिसलाई राखिएको चौलागाईँले जानकारी दिनुभयो ।

जिल्लाका सातवटा अस्पतालमा २९ वटा आइसोलेसन वाडको प्रवन्ध गरिए पनि अहिले मेची अञ्चल अस्पताल भद्रपुरबाहेक अन्य वाड खाली रहेका छन् । मेची अञ्चल अस्पताल भद्रपुरको वाडमा ३ जनालाई राखिएको जनाइएको छ । झापामा मेची अञ्चल अस्पताल भद्रपुरमा र विएण्डसी अस्पताल विर्तामोडमा ६÷६, लाइफ लाइन अस्पताल दमक, एडभान्स अस्पताल दमक, र विर्तासीटी अस्पतालमा ३÷३ आम्दा अस्पताल दमकमा ७ र सरकारी दमक अस्पताल दमकमा २ गरी २९ वटा आइसोलेसन वाडको प्रवन्ध गरिएको चौलागाईँले बताउनुभयो ।

बजार अनुगमनलाई तीव्रता

नोभल कोरना भाइरसको त्रासको यो अवस्थामा जिल्लामा सञ्चालित औषधि, खाद्यन्न, तरकारी तथा फलफूल पसलहरुलाई कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गदैं जिल्लामा बजार अनुगमनलाई तीव्रता दिइएको छ ।

बजारमा मास्क, ग्लोब्स र सेनिटाइजरको अभाव भइरहेको जनगुनासो बढेसँगै झापाका स्थानीय सरकारले आ आफ्नो क्षेत्रमा अनुगमन गरेको हो । विहिबार जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईको संयोजकत्वमा रहेको जिल्ला स्थित बजार अनुगमन समितिले जिल्लाको माइ पश्चिमका बजारको अनुगमन गरेको छ ।

झिलझिले, केर्खा दमकलगायतको बजार अनुगमन गरेको टोलीमा संलग्न झापा जिल्ला विपद् व्यवस्थापन समिति सहायता कक्षका सचिव जीवनकुमार चौलागाईँले बताउनुभयो ।

अनुगमन टोलीले खाद्यन्नलगायत अन्य पसलको अनुगम गदैं सञ्चालकहरुलाई अत्यावश्यक वस्तुको कृत्रिम अभाव सिर्जना र कलाबजारीसहित आफ्नो एकलौटी पारामा मुल्यवृद्धि नगर्न आग्रह गरेको थियो । टोलीले मौज्दात अवस्था पछिल्लो पटक खरिदतथा आवश्यक प्रमाण पत्र हेरेको थियो ।

मेचीनगरमा २ सय बढी होम र ४३ जना अन्य क्वारेन्टाइनमा

झापाको मेचीनगर नगरपालिकाले सञ्चालनमा ल्याएको चारवटा क्वारेन्टाइनमा भारततथा अन्य मुलुकबाट आएका ४३ जनालाई राखिएको छ । २ सय ४६ जना होम कवारेन्टाइनमा छन् ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका प्रमुख टीकाराम मंग्रान्तीका अनुसार मेचीनगर ८ स्थित आदर्श माध्यमिक विद्यालयमा २०, वडानम्बर ११ स्थित धाइजन स्वास्थ्य चौकीमा ९ र वडानम्बर ४ स्थित पशुपति र सरस्वती माध्यमिक विद्यालयमा १४ जना गरी ४३ जना भारत तथा अन्य मुलुकबाट आएका लाई राखिएको हो ।

उनीहरुलाई खान बस्नको उत्तम प्रवन्ध गर्नुका साथै स्वास्थ्यकर्मीहरुबाट नियमितरुपमा स्वास्थ्य परीक्षण गरिदै आइएको छ ।

विदेशबाट फर्किएकाको घरमा रातो रंग लगाउने कार्य शुरु

मेचीनगरक्षेत्रमा स्थायी बसोबास भएका तथा भारतलगायत तेस्रोमुलुकबाट फर्किएकाको पहिचानका लागि मेचीनगर नगरकार्यपालिकाको कार्यालयले उनीहरुको घरमा रातो रंगको संकेत गर्ने कार्य शुरु गरेको छ । अब उप्रान्त नगरको जुन घरमा नगरपालिकाले रातो रंगको लगाउछ सम्झिए हुन्छ त्यो घरको कुनै न कुनै सदस्य भरखरै भारतलगायत तेस्रोमुलुकबाट फर्किएको छ ।

भारतलगायत अन्य मुलुकबाट फर्किएकाहरुमामात्र नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण धमाधम फेला पर्न थालेपछि मेचीनगर नगरकार्यपालिकाको कार्यालयले विदेशबाट आउनेको पहिचानका लागि यो अभियान शुरु गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन नगरपालिकाको निर्णय अनुसार चैत १ गतेपछि विदेशबाट फर्किएकाहरुको घरमा रातो रंग लगाएर पहिचान गर्न लागिएको उप्रेतीको भनाई छ । सामाजिक शाखा प्रमुख अनन्तप्रकाश वस्तीले यसका लागि नगरका प्रत्येक टोल विकास संस्थामा आवश्यक सामाग्री पठाइसकिएको छ ।

रातो रंग लगाए पछि होम क्वारेन्टाइनको अनुगमन र स्वास्थ्यकर्मी र सुरक्षाकर्मी परिचालन गर्न सजिलो होस भनेर यो अभियान शुरु गरिएको हो । २०७६ फागुन २२ यतादेखि मेचीनगर नगरपालिकाभित्र अहिलेसम्म भारतलगायत तेस्रो मुलुकबाट १ सय ६४ जना फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *