July 5, 2026

क्वारेन्टाइन ठूलो कि आइसोलेशन ?

1

(कथा)

भुवन तामाङ,

राजमार्गमा निस्किएर कवारेन्टाइन जीउ तनक्क तन्काउँछ । कम्मर मराकमुरुक पार्छ । वर र पर जगिङ्ग गर्छ । पीचरोडमा घोप्टिएर पुसअप पनि गर्छ । यत्तिकै मा आइसोलेशन पनि त्यहाँ आइपुग्छ र भन्छ, ‘एई क्वारेन्टाइन ! केवल तीनपल्ट पुसअप ?’ क्वारेन्टाइनलाई रिस उठेर आउँछ र भन्छ, ‘गर्न त हेर आइसोलेशन म सयचोटी पनि पुसअप गर्न सक्छु तर तैँले भन्दैमा गर्नुपर्छ भन्ने के छ ?’ आइसोलेशन भन्छ, ‘मैले त पत्याईन क्वारेन्टाइन ! जम्माजम्मी सातपल्ट चाहिँ गर्न सक्लास् कि ?’ क्वारेन्टाइन जङ्गिदै भन्छ, ‘एई आइसोलेशन ! लु तँइले पहिला पाँचपल्ट पुसअप गरेर देखा त अनि म सात पल्ट त के साततीयाँ एक्काईसपल्ट चाहिँ गरेर देखाइदिन्छु ।’

आइसोलेशनलाई आपत पर्छ क्वारेन्टाइनको च्यालेन्जले । आइसोलेशन त्यहाँबाट भाग्न खोज्छ । क्वारेन्टाइनको पालो आइसोलेशनको कठालो समातेर झाङ्गल झुङ्गल पार्छ र भन्छ, ‘डरपोक, पानी मरुवा, भाग्छस् ? अर्कालाई वाणजस्तो तिखो बचनले घोचेर आहात पार्छस् ?’ आइसोलेशन पनि के कम ऊ पनि क्वारेन्टाइनको कठालो समातेर उसलाई पनि झाङ्गल झुङ्गल पार्छ । उनीहरु एकै गुजुल्टो पर्छन् । तँ तँ र म म गर्दै लाप्पा खेल्न थाल्छन् ।

कुकुर लाप्पा खेलेजस्तैगरी क्वारेन्टाइन र आइसोलेशन लडिबुडि गर्दै लाप्पा खेलिरहन्छन् तर, निकैबेर लाप्पा खेल्दा पनि उनीहरुबीच हार जीत केही हुँदैन । लाप्ला खेल्दा खेल्दा गलेर लखतरान पर्दछन् । लखतरान मात्र होइन, आलु ताछिए जस्तै पीचले उनीहरुका शरीरका छाला उप्काइदिन्छ । चहराएर मर्नु हुन्छन्, तर मिल्ने छाँट देखाउँदैनन् । जे होस् उनीहरुले कोरोना भाइरसका कारण लकडाउनमा परेको राजमार्गको खुल्लापनको मज्जा पक्कै लिएका छन् तर यस्तो मज्जा पीडादायी नै साबित भएको छ ।

यस्तो मुर्खसँग के कुस्ती खेल्नु भनेर क्वारेन्टाइन त्यहाँबाट पलायन हुन खोज्छ । यतिकैमा आइसोलेशन सोध्छ, ‘एई क्वारेन्टाइन ! तँ ठूलो कि म ठूलो ?’ जवाफमा क्वारेन्टाइन भन्छ, ‘यो पनि कुनै सोधिने कुरा हो ? निश्चयपनि क्वारेन्टाइन ठूलो हो । त्यसैले मै ठूलो हुँ ।’ आइसोलेशन भन्छ, ‘इस्, तँ के खाएर ठूलो हुन्थिस् ? म आइसोलेशन नै ठूलो हुँ बुझिस् ।’ क्वारेन्टाइन सुरिएर बक्सिङ्ग देखाउँदै आइसोलेशनमाथी जाइलाग्न खोज्छ । आइसोलेशन पनि के कम हुस् आवाज निकाल्दै ऊ पनि कराँटेको पोजिसन लिन्छ । क्वारेन्टाइनले चाहिँ जमाएर बक्सिङ्ग हानेर आइसोलेशनलाई भ्वाक्कै ढलाइहाल्छ । आइसोलेशन पनि कम्ति चलाख छैन । ऊ त बिरालो जस्तै बुरुक्क गर्दै क्वारेन्टाइनलाई किक हान्छ । त्यसपछि त क्वारेन्टाइनको बक्सिङ्ग त हावा कटिङ्ग मात्र हुन्छ । त्यस्तै आइसोलेशनको किक पनि हावा कटिङ्ग । हावा कटिङ्ग बक्सिङ्ग र हावा कटिङ्ग किक हान्दा हान्दै दुबै गलेर लल्याकलुलुक हुन्छन् । यत्तिकैमा आइसोलेशन भन्छ, ‘एई क्वारेनटाइन ! अब डिक्स्नरीमा हेरौँ क्वारेन्टाइन र आइसोलेशनको अर्थ । अनिमात्र छुटिन्छ को ठूलो भनेर ।’ उनीहरुबीच डिक्स्नरी हेर्ने सहमति हुन्छ । तर बजारका सबै पुस्तक पसलहरु लकडाउले गर्दा बन्द ।

यस्ता मुर्खसँग के विवाद गर्नु भनेर क्वारेन्टाइन दगुर्दै धेरै टाढा गाउँतिर पुग्छ । आइसोलेशन निहु खोज्दै त्यतै पुग्दछ । अब भने क्वारेन्टाइनलाई साह्रै झोँक चल्छ । उसको पालो आइसोलेशनलाई एक बक्सिङ्ग बजाइ हाल्छ । आइसोलेशनले पनि एक फ्लाईङ्ग किक क्वारेन्टाइनको टाउकामा हानेर रगतै निकालिदिन्छ । क्वारेन्टाइन रनथनिएर पर उछिट्टिन्छ तर पुनः शक्ति बटुल्दै न्वारनदेखिको बल निकालेर माइकटाईसने बक्सिङ्ग आइसोलेशनको नाकैमा भ्वाक्कै हान्दिन्छ । आइसोलेशनको नाथ्रीबाट रगत तरर हुन्छ । उनीहरुको लडाई हेर्न गाउँलेको रमिता लाग्छ ।

यत्तिकैमा कतैबाट प्रहरीहरु आइपुग्दछन् । गाउँलेहरु एकै ठाउँ भेला भएको देखेर सम्झाउँदै प्रहरीहरु भन्छन्, ‘खोइत त तपाईहरुले सामाजिक दुरी राखेको ? एकअर्का यसरी नजिक नजिक नबस्नुस् । अनि खोइ त तपाईहरुले मास्क लगाएको ? मास्क लगाईहाल्नुहोस् । सबै घरभित्र बस्नुहोस् र घरभित्र पनि सामाजिक दुरी कायम राख्नुहोस् ।’ यसैबीच एक ज्येष्ठ भन्छन्, ‘होइन प्रहरी भाईहरु ! हामी त यी क्वारेन्टाइन र आइसोलेशन लाप्पा खेलेको हेरेर पो बसेको । यिनीहरु कोरोना भाइरस संक्रमित हुनसक्ने आशंका गरिएका र संक्रमितहरुलाई सुरक्षित राख्नु पर्नेमा झगडा गर्दै यहाँसम्म पो आएछन् । यिनीहरुलाई सम्झाएर लानुहोस् । यिनीहरुले कर्तव्य भुलेछन् ।’

क्वारेन्टाइन र आइसोलेशनलाई प्रहरी सोध्छन्, ‘अनि तिमीहरुचाहिँ किन लाप्पा खेलेको यसरी रगतपच्छे हुनेगरी ?’ जवाफमा कवारेन्टाइन भन्छ, ‘हामीमध्ये को ठूलो भनेर विवाद पर्दा कुटाकुट प¥यो हजुर ।’ पुनः प्रहरी भन्छन्, ‘तिमीहरु दुबै बराबर हौ । कोही ठूलो र सानो होइन । मानवीय सेवाका लागि तिमीहरु उत्कृष्ट माध्यम हौ । ल हिँड आआफ्नो जिम्मेवारी वहन गर्न ।’ तर क्वारेन्टाइन र आइसोलेशन मान्दैनन् । यत्तिकैमा आइसोलेशन भन्छ, ‘डिक्स्नरी हेरौँ न सर ! को रहेछ ठूलो ?’ यत्तिकैमा क्वारेन्टाइन भन्छ, ‘डिक्स्नरीमा मै छु क्यारे ठूलो ।’ जवाफमा आइसोलेशन भन्छ, ‘इस् ।’

प्रहरी कसैलाई डिक्स्नरी माग्छन् र माने हेर्छन् । डिक्स्नरीका अनुसार क्वारेन्टाइनको अर्थ ‘एक त्यस्तो समयसम्म जब पशु या व्यक्ति जसमा रोग छ या रोग भएको आशंका छ, उसलाई रोग निदान नभएसम्म अरुमा नसरोस् भन्ने उद्देश्यले अलग्गै राखिन्छ ।’ आइसोलेशनको अर्थ, ‘अरुदेखि अलग्ग राखिनु, अलग्ग बस्नु, अलग्ग हुनु । आइसोलेशन हस्पिटल या आइसोलेशन वार्ड भनेको सरुवा रोग लागेका बिरामीलाई उनमा भएको रोग अरुमा नसरोस भनेर अरुदेखि एक्लै या एकान्तमा अलग्ग राखिनु हो ।’ दुबैको अर्थ उस्तै उस्तै रहेछ । दुबै ठूलो । दुबै असल ।

क्वारेन्टाइन र आइसोलेशन, मानवजातिका जीवन रक्षाका लागि अपनाईएको एक भरपर्दो र सुरक्षित विधि हो रहेछ । अर्थ सुनेपछि क्वारेन्टाइन र आइसोलेशन आआफ्नो कर्तव्यबोध गर्दछन् । प्रहरीहरु भन्छन्, ‘यो बेला एकअर्का मिलेर काम गर्ने बेला हो । एकले अर्कालाई होच्याउने बेला पक्कै पनि होइन । सबैले आआफ्नो स्थानबाट कर्तव्य पालना गर्नु पर्दछ । तब मात्र कोरोना भाइरस संक्रमण महामारीबाट बच्न सकिन्छ ।’

1 thought on “क्वारेन्टाइन ठूलो कि आइसोलेशन ?

  1. सचेतना मुलक प्रस्तुति, हालको परिस्थितिमा एकदमै ज्ञान मुखी लाग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *