July 7, 2026

बिहीबारेका शिवराजले बनाए ड्रिम कार

0

चारपाने।

‘धन हुनेसँग बुद्धी हुँदैन, बुद्धी हुनेसँग धन’ भन्ने उखान पनि छ । झट्ट हेरेको भरमा कुनै पनि मानिसलाई साधारण ठान्नु हँुदैन किनकि ऊ बाहिर हेर्दा सामान्य देखिए पनि ऊ भित्र असामान्य प्रतिभा रहेको पनि हुन सक्छ ।

त्यस्तै झापाको बाह्रदशी गाउँपलिका वडा नं. ६ स्थित बाह्रदशी बिहीबारे बजारका शिवराज लिम्बू झट्ट हेर्दा सामान्य मानिस देखिन्छन्, देखिनु मात्र होइन उनी आर्थिक हिसाबले विपन्न वर्गका व्यक्ति हुन्, उनको दैनिकी अरुकोमा ज्याला मजदुरी गरेर चल्नुपर्ने अवस्था छ । गरिबी र उनको एक पाटो हो भने अर्कोपाटोमा उनी धेरै धनी व्यक्ति पनि हुन्, उनी यसकारण धनी हुन् उनीसँग बुद्धी र काम गर्ने लगनशिलता छ ।

बिहिबारे बजारकै पञ्चमणी स्कूलमा कक्षा ८ सम्म अध्ययन पूरा गरी १२ कक्षासम्मको अध्ययनका लागि आदर्श विद्या मन्दिर माध्यमिक विद्यालय घैलाडुब्बासम्म धाएका शिवराज यतिबेला आफ्नो अध्ययनलाई थाती राखेर कक्षा ८ पढ्दादेखि नै देखेको कार बनाउने सपना पूरा गर्न लागीपरेका छन् ।

(ड्रिम) नाम दिएको उक्त कार निमार्ण कार्यको अन्तिम चरणमा पुगेको छ । विभिन्न कवाडी दोकानबाट खरिद र बाटोमा छोडिएका सामानहरु संकलन गरेर उनले सुन्दर डिजाइनको कार तयार पारेका छन् ।

मोटरसाइकलको इञ्जिन जडान गरेर बनाइएको कारका आधारभूत सबै सुविधाहरु कारमा जडान गरिएको छ । प्रति घण्टा ७० देखि ८० किलोमिटरसम्म कुदाउन सकिने उक्त कारमा पाँच लिटरको पेट्रोल ट्याङ्की बनाइएको छ । प्रतिलिटर ३० देखि ४० किलोमिटरसम्म चल्ने बताइएको छ ।

औपचारिक रुपमा कारको अनारण हुन बाँकी छ । रंग रोकनको काम पनि बाँकी नै रहेकोले अबको केही समयमा सार्वजनिक स्थलमा कार कुदाएर देखाउने शिवराजले बताए ।

घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उनले समयमै ड्रिम कार तयार पार्न नसकेको बताए । गाउँघरमा मेलापात मजदुरी गरेर कमाएको पैसाले स्थानीय गृल दोकानमा फलाम खरिद लगायतका काम गर्दा सकिएपछि इञ्जिन जडानका लागि खर्च अभाव भएपछि काठमाडौंमा मजदुरी गर्न गएको उनी बताउँछन् । उनले चुनीखेल बालुवा खानीमा थुन्चेमा बालुवा बोकेर कमाएर जम्मा गरेको पैसाले पुरानो मोटरसाइकलको इञ्जिन किनेर त्यही इञ्जिन कारमा जडान गरिएको बताए ।

करिब तीन लाख ८० हजार खर्चमा तयार हुन लागेको आधुनिक डिजाइनको कारलाई नेपाल सरकारले व्यावसायिक रुपमा निर्माण गर्ने हो भने विदेशी कारको बिक्री नेपालमा घट्ने सम्भावना निश्चित छ ।

ड्रिम कार हेर्दा राम्रो त छदैछ सुविधायुक्त पनि उत्तिकै रहेको छ । तीन बर्ष लगाएर तयार पारिएको कारलाई आफ्नो छोराको रुपमा माया गर्ने गरेका छन् शिवराजले । उनको यो मेहनत र लगनशिलताको बारेमा सामाजिक सञ्जालहरुमा आउन थालेपछि हालै राष्ट्रिय अनुसन्धान केन्द्रका महावीर पुनले फोन सम्पर्क गरेर धन्यवाद दिँदै साथ सहयोग गर्ने बचन दिएको युवा वैज्ञानिक शिवराजल बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *