July 7, 2026

सम्पादकीय

विश्वलाई नै प्रभावमा पारेको कोभिड–१९, कोरोना भाइरसको कारण नेपालमा यस वर्ष होलीका दिन केही सहज महशुस भयो । हाट–बजार र शहरहरुमा हुने गरेको लाइभ कन्सर्ट गर्न प्रशासनले रोक लगाएका कारण स्थानीयबासीले आतंकित हुनु परेन । मुटुका विरामीले थप पीडा भोग्नु परेन, यस अर्थमा कोरोना वातावरणीय स्वच्छताका लागि, ध्वनी प्रदुषणबाट जोगिन, रङ्गहरुमा गरिने खर्च कम गर्न र मानव स्वास्थ्य रक्षाका लागि ठीकै हो कि ! भान भएको छ । यद्यपि यस्ता महामारी समय–समयमा आउने गरेका छन्, कहिले दैवी विपत्तिका रुपमा त कहिले, प्राकृतिक वा असावधानीबस हुने विपत्तिका रुपमा । त्यसैले सायद ‘माल्थस’ नाम गरेका अर्थशास्त्रीले जनसङ्ख्या नियन्त्रणका लागि यो र यस्तै विपदाहरु आउने उहिल्यै बताएका थिए ।

होलीमा गरिने खर्च फिजुल खर्च नै हो । रङ्गका लागि गरिने खर्च जम्मा गरेर भोकमरीको पीडा खपेका नेपाली कै लागि खर्च गर्न पाए ! होलीका नाममा लागूपदार्थ र मद्यपान गरेर पैसा र स्वास्थ्य दुबै क्षति गर्नेबाट जोगाएर आशामुखी वा पैसाको अभावमा उपचार नपाइ छटपटाएकाहरुको सेवा गर्न सकिए कति स्याबासी पाइन्थ्यो होला । फेरि होली मनाउनेहरुले सांस्कृतिक मूल्य र मान्यताको जानकारी कति राख्छन्, धार्मिक महत्व र आफ्नो जीवनसँगको नातालाई कसरी परिभाषित गर्छन्– त्यो अर्कै विषय हो । वैदिक सनातन धर्ममा यस्ता धेरै पर्वहरु छन् जसले जीवनलाई जगतसँग जोडेर सत्मार्ग, सदाचार, सहिष्णु र सहृदयी बन्न प्रेरित गर्छ । हामी ती पर्वहरु मनाएर निर्देशित मार्गमा हिँडिरहेका छौं त ! आफैंलाई सोध्नुपर्ने भएको छ ।

पूर्वीय धर्म, दर्शनभित्र संस्कार र संस्कृतिहरु पश्चिमाहरुका लागि समेत प्रेरक र आकर्षक हुन थालेका छन् । त्यहीकारण हुनसक्छ लाखौं पश्चिमाहरु वैदिक सनातन धर्मका अनुयायी भइरहेका छन् प्रत्येक वर्ष । हाम्रा संस्कृति, रितिरिवाज र सामाजिक मूल्य–मान्यता उनीहरुका लागि आकर्षणका विषय बन्दैछन् । तर, हामी पूर्वीय दर्शन र संस्कृतिका अनुचर भनिनेहरु पश्चिमी संस्कृतिमा हराउँदैछौं । तागाधारीहरुले काँधमा ‘जनै’ लगाएका छौं ? औंशी–पूर्णिमा जस्तो पवित्र दिनमा मांसाहार त गर्दैछैनौं ? जन्मदेखि मृत्युपर्यन्त गरिने मौलिक संस्कारको पालना परम्परागत रुपमै गर्दैछौं ? यस्ता सवालहरुको जवाफ होलीमा रङ्गिनुलाई धर्म–संस्कृति जोगाएको ठान्नेहरुले आफ्नै मनलाई दिनु राम्रो हुन्छ ।

सनातनी मार्गबाट विमुख भइयो भने गन्तव्य नभेटिने मात्र होइन ‘बुहारीले काग’ बनिन्छ । अरुहरुलाई हाम्रो संस्कार–संस्कृतिमा ढाल्न सकिँदैन भने अरुको अनुशरण गर्दै दौडिनु पनि मुर्खता मात्रै हुन्छ । नयाँ वर्ष, हाम्रा चाडपर्वहरु दशैं, तिहार, कुशे औंशी, जनैपूर्णिमा, तिज, नागपञ्चमी वा मकर संक्रान्ति लगायतमा हामीले निजत्व खोज्नुपर्छ । तिनको धार्मिक, लैङ्गिक वा परम्परागत मूल्य र मान्यताको अनुशरण गर्नुपर्छ । कागले मयुरको प्वाँख लगाउँदैमा मयुर हुँदैन, स्वयम्ले अनुभूत गर्नुपर्छ । चाडपर्वका नाममा फिजुल खर्च, स्वास्थ्यको हानी र विकृतिहरु भित्र्याउने कुरामा प्रत्येक व्यक्तिले सचेत हुनैपर्छ । अन्यथा नेपाली समाज मौलिकताविहीन, विखण्डित जातिका रुपमा स्थापित हुनेछ । यसतर्फ सरोकारी संस्था, सचेत वर्ग र सामाजिक अगुवाहरुले बेलैमा ध्यान दिनु पर्दछ । अन्यथा पछुताउनु बाहेक आफूसँग केही बाँकी रहने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *