झापाका चिकित्सक भन्छन्– सजक बनौं, अफवाहको पछि नलागौं
बिर्तामोड।

विश्वका विभिन्न देशमा नोबल कोरोना भाइरसको संक्रमण बढिरहेका बेला झापाका चिकित्सकहरुले भीडभाडमा नजान सुझाव दिएका छन् । सामाजिक सञ्जालमा गलत हल्ला फैलाउँदा मानिसमा त्रास बढेको भन्दै चिकित्सकहरुले संयमित हुन आग्रह गरेका छन् । कोरोना भाइरस मानिसबाट मानिसमा सर्ने भएकाले बढी भीडभाड हुने क्षेत्रमा नजान भन्दै उनीहरुले स्वास्थ्यको ख्याल गर्न सुझाव दिएका छन् ।
मेची अञ्चल अस्पतालका सुपरिटेण्डेन्ट डा. पिताम्बर ठाकुरले चीनको बुहानबाट फैलिएको कोरोना भाइरस क्रमशः अन्य देशमा पनि फैलिनेक्रम तीव्र रहेको भन्दै नेपालमा सतर्कता अपनाउनुपर्ने बताए । उनले विभिन्न समयमा फैलिएका प्रकोप जस्तै कोरोना भाइरस पनि एउटा प्रकोप भएकाले यसबाट आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।
उनले रुघाखोकी लागेका व्यक्तिबाट टाढै रहन आग्रह गर्दै रुघाखोकी लाग्दैमा कोरोना भाइरस नहुने उल्लेख गरे । डा. ठाकुरले भीडभाड तथा विभिन्न महोत्सव, सम्मेलन लगायत बढी भीड हुने क्षेत्रमा नजान र आफ्नो स्वास्थ्यको सुरक्षा आफैं गर्न आग्रह गरेका छन् । उनले मासु पकाएर मात्रै खान सुझाव दिँदै दैनिक १० पटकसम्म हात साबुन पानीले धुन सुझाव दिए ।
कोरोना भाइरस ३५ डिग्री तापक्रममा राखे मर्ने भएकाले तातो पानी खान, मास्क लगाउन र खोक्दा मुख छोप्न आग्रह गरेका छन् । उनले गलत हल्लाको पछि नलागी आफ्नो स्वास्थ्यको ख्याल गर्न सर्वसाधारणलाई सुझाव समेत दिएका छन् ।
त्यस्तै पूर्ण–टुङ्ग बिर्तासिटी हस्पिटलका डा. मनिष सुवेदीले कोरोना भाइरस हावाबाट नफैलने बताए । उनले यो संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले कसैमा यसको संक्रमण भएको आशंका गरिएमा त्यो व्यक्तिबाट टाढै रहन सुझाव दिए । उनले कोरोना भाइरस संक्रमित व्यक्ति भीडभाडमा भए चाँडो भाइरस फैलने भएकाले रुघामर्की लागेका व्यक्तिलाई भीडभाडमा नजान आग्रह गरे ।
उनले हाछ्युँ गर्दा किटाणु हातमा सर्ने भएकाले हात नमिलाउन आग्रह गरेका छन् । उनले तातो झोल पदार्थ खान सुझाव समेत दिएका छन् । रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति तथा दीर्घरोगी सुगर, मुटु, क्यान्सर लगायतका विरामीलाई यो भाइरसले चाँडो आक्रमण गर्ने भएकाले यस्ता व्यक्तिले बेलैमा सचेतता अपनाउनु पर्ने डा. सुवेदीको भनाइ छ ।
झापामा कोरोना भाइरसका संक्रमित व्यक्ति हालसम्म फेला नपरेको र त्यसको पूर्व तयारी सबै हस्पिटलले थालिसकेको बीएण्डसी टिचिङ हस्पिटलका डा. लक्ष्मण ठाकुरले बताए । उनले हिँड्डुल गर्दा मास्क लगाउन आग्रह गरेका छन् । नियमित रुपमा हात धुन तथा बढी भीडभाड भएको ठाउँमा नजान आग्रह गर्दै नजिकिँदै गरेको फागू पूर्णिमा (होली पर्व)मा हुने भीडभाडमा नजान सबैलाई आग्रह गरेका छन् । कसैलाई रुघामर्की लागेमा घरमै बसेर उपचार गर्न डा. ठाकुरले सुझाव दिएका छन् ।
कोरोना भाइरसको लक्षण रुघामर्की जस्तै हुने भएकाले यसबाट सबै सचेत हुनुपर्ने चिकित्सकको भनाइ छ । कोरोना भाइरस लागेमा एक सय एक डिग्रीभन्दा माथि ज्वरो आउने, माशंपेशी अत्याधिक दुख्ने, घाँटी दुख्ने, श्वासप्रश्वासमा समस्या हुने भएकाले यस्ता लक्षण देखिए तत्काल नजिकैको स्वास्थ्यचौकी जान चिकित्सकहरुले सुझाव दिएका छन् ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसका कारण १० वर्षमुनिका बालबालिकाको हालसम्म मृत्यु भएको छैन । त्यस्तै १०देखि ५० वर्ष उमेर समूहमा प्रति हजारमा दुई जनाको मृत्यु, ६० देखि ७० उमेर समूहमा प्रति हजारमा १३ जनाको र ७०देखि ८० वर्ष उमेर समूहमा प्रति हजारमा ८० जनाको मृत्यु भएको बताइएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरस पूर्वी–दक्षिण एशियाली मुलुकमा फैलिनेक्रम जारी रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
