October 9, 2026

सताक्षी गोल्डकप :अभागी आर्मी

0

शिवसताक्षी ।

साविकको विजेता त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र क्लब सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

सहिद स्मारक ए डिभिजन लिगको विजेता मच्छिन्द्र क्लब लिगकै प्रतिद्वन्द्वी आर्मीलाई २–० गोल अन्तरले पाखा लगाउँदै उपाधि दाबेदार बनेको हो । अब मच्छिन्द्रले आइतबार फाइनलमा लिगको चौथो अंक तालिकामा रहेको थ्री स्टारसँग प्रतिस्पर्धा गर्ने छ ।

झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानको सुरुवाती समयबाटै मच्छिन्द्रले आर्मीलाई दबाबमा राखेको थियो ।

खेलको २१ औँ मिनेटमा विपक्षी गोल किप्पर बिट भएको मौकामा मच्छिन्द्रका रेजिन सुब्बाले गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै, खेलको ७४ औँ मिनेटमा मच्छिन्द्रका विशाल राई ‘बि’ को प्रहार आर्मीका गोल किप्परबाट फुस्किएको गोल विकास खवासले बचाउन खोज्दा अन गोल भएको थियो ।

यसअघि खेलको छैटौँ मिनेटमा मच्छिन्द्रका विमल घर्ती मगरकोे प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाउ गरे । २४ औँ मिनेटमा मच्छिन्द्रका अडेलाजा सोमिडेले आर्मीका चारजना डिफेन्सबाट छक्याएर गरेको प्रहार पनि चौधरीले पञ्च गरेर बचाए । २६ औँ मिनेटमा पिटर सेगुनको प्रहार बार नजिकैबाट बाहिरियो । ३१ औँ मिनेटमा बिमल घर्ती मगरको प्रहार विफल भयो ।

त्यस्तै, खेलको पहिलो मिनेटमै आर्मीका जर्जप्रिन्स कार्कीको प्रहार बाहिरिएको थियो । नवौँ मिनेटमा सन्तोष तामाङले गरेको प्रहार मच्छिन्द्रका गोलरक्षक सूर्य अधिकारीले बचाएका थिए । २८ औँ मिनेटमा कार्कीकै फ्रिकिक प्रहार बारको निक्कै माथि आकाशिएको थियो ।

खेलको ५७ औँ मिनेटमा सन्तोष तामाङको फ्रिकिक गोलरक्षक अधिकारीले पञ्च गरेर बचाए । खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा भए । उनले नगल १० हजार रुपैयाँ प्राप्त गरे ।

सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।

मच्छिन्द्रका झापाली खेलाडीलाई पुरस्कार

झापा गोल्डकप आयोजक समितिले मच्छिन्द्र फुटबल क्लबबाट लिग खेल्ने झापाली खेलाडी र प्रशिक्षकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

झापाको झिलझिलेमा जारी सताक्षी गोल्डकपको अन्तिम सेमिफाइनल खेलमा शुक्रबार झापा गोल्डकपले उनीहरुलाई नगद पुरस्कार प्रदान गरेको हो ।

कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रका झापाली खेलाडी र प्रशिक्षकलाई झापा गोल्डकप हौशला प्रदान गर्न पुरस्कृत गरिएको अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए ।

मच्छिन्द्रबाट खेल्ने छजना खेलाडी झापाका छन् । उनीहरुमध्ये केही झापा ११ फुटबल क्लबका सदस्य पनि हुन् । यो वर्ष लिगमा मच्छिन्द्रले त्रिभुवन आर्मी क्लबलाई हराउँदै इतिहास रचेको थियो । मच्छिन्द्रले पहिलोपटक लिगको उपाधि उचालेको हो ।

अध्यक्ष गिरीका अनुसार मच्छिन्द्रका प्रशिक्षक झापाका प्रवेश कटवालसहित खेलाडीहरु विशाल राई बी र योगेश गुरुङ मिल्डफिल्ड, देवेन्द्र तामाङ र विमानप्रसाद राई डिफेन्स, रेजिन सुब्बा र विशाल राई ए फरवार्डलाई पुरस्कृत गरिएको हो । प्रशिक्षक कटवाललाई नगद २५ हजार रुपैयाँ र खलाडीलाई नगद १५ हजार रुपैयाँका दर पुरस्कृत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *