September 20, 2026

साना किसानको नाफा १० लाख बढी

0

शान्तिनगर ।

हिम शिखर साना किसान कृषि सहकारी संस्था लिमेटेडले आर्थिक बर्ष २०७५÷०७६ मा १० लाख ९७ हजार ५सय ६५ रुपैयाँ नाफा कमाएको छ । संस्थाको सातौं बार्षिकोत्सवको अवसरमा सो जानकारी दिइएको हो । आर्थिक बर्ष २०७४÷०७५ मा संस्थाले २१ लख २७ हजार ७ सय ७५ रुपैयाँ नाफा कमाएको तर आर्थिक बर्ष २०७५÷०७६ मा ९ लाख रुपैयाँ कम नाफा आर्जन गरेको संस्थाको बार्षिक लेखा प्रतिवेदनमा उल्लेख छ ।

झापा बुद्धशान्ति गाउँपालिका–५ मा कार्यालय रहेको सहकारीले साविक शान्तिनगर गाउँ विकास समितिलाई कार्य क्षेत्र बनाएको छ । संस्थाले १८७ समुह गठन गरी १०२१ जना शेयर सदस्य बनाएको छ । संस्थाले ६० लाख ५१ हजार ५ सय रुपैयाँ चुक्ता पुजीँ र ३ करोड ४२ लाख ४५ हजार १ सय ४८ रुपैयाँ ऋण लगानी गरेको छ । तर, संस्थामा भाका नाघेको ऋण असुली गर्न संस्था असक्षम रहेकाले लक्ष्य अनुसार कुल बचत संकलन कम भएको संस्थाका ब्यवस्थापक नारायण पौड्यालले जानकारी दिए ।

बार्षिकोत्सवको अवसरमा बोल्ने अधिकांश बक्ताहरुले संस्थाको कमी कमजोरी औल्याएको र भाका नाघेको ऋण उठाउन संस्थाले नीति नियम बनाई काम अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए । यसका साथै कृषि कर्जा उपलब्ध गराउँदै आएको सहकारीले किसानको हितमा अझ बढी काम गर्न सुझाव समेत दिएका थिए ।

संस्थाले आर्थिक बर्ष २०७५÷०७६ मा सामाजिक सामुदायिक कार्यक्रम अन्तर्गत शेयर सदस्यहरुलाई आत्मनिर्भर बनाउन मिनिकेट वितरण गरेको छ । यसका साथै १४ क्विन्टल रामपुरे मकै वितरण गरेको छ । त्यस्तै, संस्थाले गत सालबाट पशु एग्रोभेट संचालन समेत गरेको छ । संस्थाले सहकारी शिक्षा, जग्गा नाप जाँच सम्वन्धि एक दिने तालिम, प्राड्गारिक मल बनाउने तालिम, सुपारी जोनमा संस्थालाई दर्ता, निःशुल्क परिक्षण, अध्ययन अवलोकन लगायतका कार्यक्रम संचालन गरेको संस्थाको बार्षिक कार्य प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस आर्थिक बर्षमा पनि सोही कार्यक्रममा साथै कर्जा विमा कार्यक्रम संचालन, सीपमुलक तालिम, पशु स्वास्थ्य परीक्षण, पशुस्वास्थ्य सचेतना कार्यक्रम, सहकारी शिक्षा तथा तालिम, शेयर सदस्यहरुका लागि उपचार ब्यवस्था, पशु प्राविधिकको दरबन्दी कायम, करारमा रहेका कर्मचारीलाई स्थायीका लागि प्रक्रियामा जाने, इजरायल प्रशिक्षार्थी कार्यक्रमलाई निरन्तरता दिने, तीन बर्षे ब्यवसायिक योजना तयार पारी लागु गर्ने लगायत रहेका छन् ।

सोही कार्यक्रममा संस्थाका शेयर सदस्यहरुको छोरा÷छोरी मध्ये सामुदायिक र संस्थागत विद्यालयबाट कक्षा–१२ मा उत्कृष्ट अंक ल्याउने एक÷एक जना छात्र÷छात्रालाई सम्मान तथा पुरस्कृत गरेको छ । सामुदायिक विद्यालय तर्फबाट सम्मानित हुनेमा अस्मिता पौड्याल र अनिल पौड्याल छन् । त्यस्तै, संस्थागत विद्यालयको तर्फबाट भावेश पौड्याल र बर्षा ढुङ्गेल छन् । उनीहरुलाई खदा, सम्मान–पत्र र जनही नगद २५ रुपैयाँसहित सम्मान गरिएको हो ।

यसका साथै उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा पदममाष योङहाङ (बाख्रापालन), राम राना मगर(बाख्रापालन), नर्वदा गड्तौला(गाईपालन), दलबहादुर राई(तरकारी खेती), टीका पौड्याल र सीता भट्टराई (तरकारी खेती) रहेका छन् । उनीहरुलाई खदा, कृषि औजार र सम्मान–पत्रले सम्मान गरिएको हो ।

संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यको अध्यक्षतामा आयोजित साधारणसभामा बुद्धशान्ति गाउँपालिका सहकारी विभागका प्रमुख देवेन्द्र दाहालको प्रमुख आथित्य रहेको कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष आचार्यले बाचन गरेका थिए । यसका साथै संस्थाको बार्षिक प्रतिवेदन र लेखा प्रतिवेदन पनि अनुमोदन गरिएको थियो ।

संस्थाका उपाध्यक्ष दुर्गा पोख्रेलले स्वागत गरेको कार्यक्रममा सहकारी अभियान्ता गंगाराम राई, इन्सेक बुद्धशान्तिका अध्यक्ष देवकुमारी शेर्मा, संस्थाका पूर्व अध्यक्ष धनबहादुर श्रेष्ठ, साना किसान सहकारी बैङ्कका सुभाष गौतम लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका ब्यवस्थापक नारायण पौड्यालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *