October 4, 2026

सम्पादकीय

आइतबार बिहान उदाउँदो सूर्यलाई अध्र्य दिएर छठ पर्व समापन भएको छ। छठ मूलतः सूर्यको पूजा गरिने पर्व हो । मानव शरीरको निर्माणमा पाँच तत्वको समश्रिण छ । त्यसमध्यको एक हो सूर्य । सूर्यबाट मानव मात्र होइन सम्पूर्ण पृथ्वी संरक्षित छ । त्यसैले पनि भगवानको दर्जा दिइएको छ सूर्यलाई र छठ सूर्यदेवको पूजा आराधना गरिने सर्वाधिक ठूलो धार्मिक अनुष्ठानका रुपमा मनाइन्छ । वैदिक सनातन धर्मका सम्पूर्ण चाडपर्वहरु प्रकृति र पृथ्वीसँग सम्बन्धित छन् त्यसैले प्रत्येक चाडपर्वहरुलाई क्षेत्रगत वा भूगोलगत वा जातिगत रुपमा श्रद्धा र भक्तिपूर्वक मनाइन्छ ।

वैदिक सनातनीहरु प्रत्येक बिहान स्नानादि पश्चात सूर्यदेवलाई अध्र्य दिएर ऊर्जा, आरोग्य र आत्मिक सुखको कामना गर्दछन् । वर्षका प्रत्येक दिन सूर्यको उपासना गर्ने वैदिक सनातनीहरु मध्ये कुनै दिन तराईबासीहरुले मात्र मनाउने यो पर्व अहिले राजधानी लगायत सबै भूगोलसम्म पुगेको छ। तराईबासीले मात्र मान्ने यो पर्व अहिले सबै जातिले मान्न थालेको सन्दर्भले यसको विस्तार हुँदै जाँदा नेपालीको साझा पर्व बनिन थालेको छ । सूर्यले हाम्रा घर भित्रै छिरेर प्रकाश दिने, बिरुवालाई हुर्काउने, बादल बनाउने र न्यानो ताप दिने भएका कारण यसको महत्व विज्ञानले समेत स्वीकार गरेको सत्य हो ।

नेपालका ठूला चाड तिहारको समापनपछि षष्ठी तिथिका दिन मनाइने यो पर्वको नाम अपभ्रंंस भई छठ हुन पुगेको भनाइ छ । चाडपर्वले आपसी सद्भाव, हार्दिकता, प्रेस, समानता र भातृत्वको सम्बन्धलाई बलियो बनाउँछ । त्यसकारण पनि सकारात्मक सन्देश दिने प्रत्येक पर्वहरुले नेपालीलाई एकापसमा जोडेको छ । चार दिनसम्म मनाइने छठ पर्वको खास दिन षष्ठी तिथिका दिन बत्ती र सौन्दर्यले परिपूर्ण नदी, ताल, तलैया र पोखरीमा अस्ताउँदो सूर्यलाई अध्र्य दिएर र भोलिपल्ट उदाउँदो सूर्यलाई अध्र्य दिएपछि सम्पन्न हुन्छ । व्रतालुहरु पानीमा उभिएर सूर्यदेवको स्मरण गर्दै रोग, शोक र नकारात्मकताबाट मुक्ति माग्दै अध्र्य दिन्छन् ।

छठ पूजाका लागि आवश्यक सामग्रीहरुको समेत बेग्लै महत्व रहेको छ । यसरी व्रतालुले जम्मा गरेको सामग्री बोकेर घाटसम्म पुग्नु, अध्र्य दिनु र रातभर जाग्राम बसेर ‘छठी’ को गायन गर्नु यसको बेग्लै महत्व हो । महाभारतकालमा कर्णले प्राप्त गरेको ऐश्वर्य र द्रौपदीले पनि छठको व्रत लिएको प्रसंगले पनि यसको पौराणिक महत्व बढाएको छ । प्रकृति र सभ्यताका दृष्टिले पनि नदी, ताल र पोखरीको स्वच्छता, शुद्धता कायम राख्नुपर्छ भन्ने सन्देश दिने यो पर्वले सबैमा गहिरो प्रेम र सम्बन्ध बढाओस् । चाडपर्वको समापन पछि धर्तीपुत्रहरुलाई अन्नरुपी ऐश्वर्य भित्र्याउन तेज र ऊर्जा प्राप्त होस् । सूर्यदेवले पनि सम्पूर्ण प्राणीहरुको रक्षाका लागिताप, प्रकाश र शक्ति प्रदान गरिरहुन् । सबै प्राणीको जय होस् र वैदिक सनातन धर्मको रक्षा होस् शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *