October 4, 2026

पचास वर्षमाथिका खेलाडीलाई सम्मान

0

गलेश्वर,

म्याग्दीको पर्यटकीयस्थल टोड्केमा जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकूद प्रतियोगितामा पदक जित्न सफल ५० वर्ष पार गरेका पाँच जना खेलाडीलाई शनिबार सम्मान गरिएको छ ।

सम्मानित हुनेमा एथलेटिक्सतर्फ ६१ वर्षीय मीनबहादुर पाइजा, पौडी तथा डाइभिङतर्फ अन्तरराष्ट्रिय उपाधि विजेतासमेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष ६१ वर्षीय क्या. डमबहादुर पुन, भलिबलतर्फ मिलन श्रेष्ठ र ५३ वर्षीया कौशिला खत्री र बक्सिङमा ७४ वर्षीय मानबहादुर बुढाथोकी रहनुभएको छ ।

राष्ट्रिय खेलकूद विकास परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सिना, नेपाल ह्याडबल सङ्घका अध्यक्ष तेजबहादुर गुरुङ, रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदी, प्रहरी निरीक्षक धु्रवप्रसाद शर्मा, टोड्के हिल रिसोर्ट प्रालिका अध्यक्ष मीनबहादुर पाइजाले उहाँहरूलाई संयुक्तरूपमा सम्मान गर्नुभएको थियो ।

टोड्के हिल्स रिसोर्ट प्रालिले आयोजना गरेको ५० वर्षमाथिका राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश खेलाडीको सम्मान कार्यक्रममा उपाध्यक्ष तिमिल्सिनाले खेलकूदको माध्यमद्वारा पर्यटक प्रवद्र्धन गर्न सकिने बताउँदै खेल पूर्वाधारको विकाससँगै खेलाडीको हितमा नीतिगत सुधारको पहल आवश्यक रहेको बताउनुभयो ।

सागको तयारीमा रहेका ह्याडबल खेलका खेलाडीलाई उच्च स्थानमा तालीम प्रदान, ज्येष्ठ खेलाडीको योगदानको कदर र टोड्केको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको रिसोर्टका सञ्चालक भीम शेरचनले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *