June 16, 2026

किसानलाई पिरल्यो अलैँची टिप्ने चटारोले

0

इलाम,

यहाँका लेकाली क्षेत्रका किसान यतिबेला अलैँची टिप्ने र सुकाउने काममा व्यस्त छन् । अलैँचीको काम सकेर दशैँ मनाउने सुरसारमा रहेका किसानलाई अलैँचीको चटारो परेको हो ।

त्यसमा पनि केही दिनयता परेको वर्षाका कारण दशैँमा पनि अलैँचीको धमाधमले नछाड्ने देखिएको छ । यहाँको सुलुबुङ, सुम्बेक, माईमझुवा लगायतका क्षेत्रमा यति बेलै अलैँचीको धमाधम पर्ने गरेको छ ।

केही दिनमा अलैँचीको काम सकिने अनुमान गरिएको भए पनि लगातार परेको वर्षाका कारण दशैँसम्मै पनि अलैँचीको चटारोले नछाड्ने हो कि भन्ने समस्या रहेको इलाम सन्दकपुर गाउँपालिका–२ स्थित माईमझुवाका किसान प्रताप राईको भनाइ छ । “दशैँको समयमा समेत फुर्सद छैन । यो साल दशैँ र अलैँचीको समय एकैचोटि परेकाले राम्रो दशैँ मनाउने समय छैन ।” राईका अनुसार यस वर्ष दशैँ छिटो आएकाले अलैँची टिप्ने कामले चाडबाडको मुखमा चटारो थपेको हो ।

यस वर्ष करीब १६० किलो अलैँची हुने राईले आशा गर्नु भएको छ । लेकाली क्षेत्रका किसानको प्रमुख बालीका रूपमा रहेको अलैँची नै धेरैको आम्दानीको ठूलो माध्यम पनि हो । एकैचोटि टिप्ने र सुकाउने काम गर्नुपर्ने भएकाले पनि अलैँचीको ‘फसल’ जोगाउन गाह्रो पर्ने माईजोगमाई गाउँपालिकास्थित नयाँ बजारका अलैँची किसान धर्म भट्टराई बताउनुहुन्छ । भट्टराईका अनुसार नयाँ बगानसमेत रहेकाले टिपाइमा लापरवाही गर्नु नहुने हुनाले अझै पनि सातदेखि १० दिन अलैँची टिप्न लाग्छ ।

“मेरो त मध्य दशैँमा अलैँची टिप्ने काम पर्छ”, उहाँले थप्नुभयो, “के गर्ने वन्यजन्तुले समेत पाकेको अलैँची खान थालेपछि दशैँकै समयमा अलैँची टिप्नुपर्ने भएको हो ।” भट्टराईका अनुसार मुसा, काला नामका जङ्गली जीवजन्तुले अलैँचीको फल खाइदिनाले पनि यसै बेला अलैँची टिप्नुपर्ने बाध्यता छ । यस वर्ष भट्टराईको चारदेखि पाँच मन अलैँची हुने अनुमान छ । “नयाँ बगान भएकाले यति नै त भन्न सकिन्न । तर चारदेखि पाँच मन चाहिँ अलैँची हुन्छ होला ।”

जिल्लाका लेकाली क्षेत्रका बासिन्दालाई दशैँको समयमा समेत अलैँचीको फुर्सद छैन । दशैँकै समयमा अलैँची टिप्ने भएपछि दशैँ नै नमनाई किसान अलैँची टिप्न बाध्य छन् । जिल्लाका सुलुबुङ, माईमझुवा, माबु, जमुना, प्याङ नयाँ बजार लगायतका लेकाली क्षेत्रमा अलैँचीको धमाधम काम परिरहेको छ । विशेषगरी बढी अलैँची उत्पादन हुने किसानलाई भने त दशैँको समय पनि अलैँची बगानमै बित्ने देखिन्छ । यस क्षेत्रमा एउटै किसानको २० मनसम्म अलैँची बनाउँछन् ।

अलैँची टिप्ने मात्र नभई छोडाउने र सुकाउने कामसमेत एकै चोटि गर्नुपर्ने भएकाले धेरै समय लाग्ने गरेको सन्दकपुर गाउँपालिकाका किसान गङ्गा गुरुङको भनाइ छ । “अलैँची टिपेको १५ दिन भित्रमा अलैँची टिपेर र सुकाएर सक्नुपर्छ, नभए कहिएरसमेत जान्छ ।”

नेपालबाट बर्सेनि साढे चार अर्ब रुपैयाँको अलैँची विदेश निर्यात भइरहेको केन्द्रको तथ्याङ्क छ । केन्द्रका अनुसार सन् २०१७ मा नेपालबाट ७६ लाख ६० हजार ६७७ किलो अलैँची निकासी भएको छ । यसबाट रु चार अर्ब ५० करोड ६३ लाख ४६ हजार आम्दानी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *