रोलिङ फुटबल क्लब विजयी
अर्जुनधारा।

झापाको अर्जुनधारा–१ सिस्नेमा जारी प्रथम शहीद टेक–मान स्मृति प्रदेशस्तरिय नकआउट फुटबल प्रतियोगिताको बिहीबारको सम्पन्न खेलमा धुलाबारीको रोलिङ फुटबल क्लब विजयी भएको छ ।
स्थानीय टेक–मान रंगशालामा भएको खेलमा बिर्तामोड युनाइटेड एफसीलाई ३–१ गोलअन्तरले पराजित गर्दै रोलिङ विजयी भएको हो ।
रोलिङको जितका लागि खेलको ३२औं र ३४औं मिनेटमा निशेव लिम्बू र रञ्जित लिम्बूले एक–एक गोल गरेका थिए । थप एक गोल बिर्तामोडको तर्फबाट आत्मघाती गोलको भएको थियो ।
खेलको ५८औँ मिनेटमा भने बिर्तामोडले पाएको पेनाल्टीको अवसरलाई बिक्की चौधरीले गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ दी म्याच रोलिङका रञ्जित लिम्बू घोषित हुँदै नगद ३ हजार पुरस्कार पाउन सफल भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले नगद प्रदान गरेका थिए ।
शुक्रबारको खेल चन्द्रगढी फुटबल एकाडेमी र श्रीनाथ गण चारआलीबीच हुने प्रचार प्रसार उपसमितिका संयोजक डिबी दर्नालले बताए ।
