May 4, 2026

दैनिक मन्द विष कहिलेसम्म पिउने ?

0

दिपक चापागाईं,

केही समयअघि कनकाई नगरपालिकाको लक्ष्मीपुरमा एक चर्चित माछाघरमा गए दिउँसो निकै गर्मी थियो । हामी तीन जना छाप्रोमा बसेर स्प्राइड र माछा अडर ग¥यौ, वेटरले माछा ल्याए हामीले मिठो मानेर माछा खायौं र पैसा तिर्न काउन्टरमा जाँदा होटल निकै भिडभाड पनि थियो । केही युवायुवतीको प्रेमी जोडी माछाका स्वादमा रमाइरहेका थिए, दृश्य हेर्न लायक नै थियो । बिल भुक्तानी पश्चात हामी आ–आफ्नो साधन प्रयोग गरेर आफ्नो–आफ्नो बाटो लाग्यौं जब विरिङ नदीको पुल तरेर वारी आई पुग्दा पेट कटक्कै खायो सहन नहोला जस्तो भयो मेरो पूर्व निर्धारित कार्यक्रमलाई विट मारेर म घर आएँ । पेट सारै दुख्यो बान्ता होला जस्तो भयो म बिरामी नै परेर सुते भोलिपल्ट पुनः हामी तिनै जाना साथी भेट भयौ सबैको समस्या उस्तै माछा त भुडीभित्र पौडिए छ सबै विरामी प¥यौं । कारण रहेछ अस्वस्थ्यकर माछाको परिकार खाएछौं ।

बिहानै उठे आफनो नित्यकर्म सिध्याएर बाल्टीन बोकेर गाई दुहुन गाईका थलामा पुगे गाई उठ्दै बस्दै ग¥यो, हल्का मुखबाट ¥याल पनि निकालिरहेको थियो । बाच्छा फुकाए गाई फेरि बाच्छालाई दूध नदिएर बस्यो, लाग्यो गाई विरामी भएछ पुनः दुहुने प्रयास गरे गाईको दूध नै आएन रित्तो बाल्टी बोकेर भान्साघर छिरेपछि आमाले सोध्नुभयो– गाईले दूध दिएन ? मैले गाई विरामी भएको जानकारी गराए त्यसपछि सबै जना गाईको थलामा आयौं त्यसपछि बुवाले भन्नुभयो हिजो बेलुकी जुकेकल्र्वटको फलफूल पसलले बिग्रन लागेका एक काईया केरा गाईलाई खुवाउनु भनेर दिएको थियो बेलुका खुवाएको थिए त्यसैले पो होला की । अनि गाईको बिरामीको लक्षण हेरेर पशु डाक्टरले पनि गाईले विषाधियुक्त खानेकुरा खाएको शंका गरेर एउटा इञ्जेक्सन हानेर गए प्राथमिक उपचार नुन अमिलो पानी लसुन कुटेर ख्वाएको एक घण्टापछि देखि घास खान लाग्यो ।

पहिलो र दोस्रो दुबै घटना वर्तमान समयमा हाम्रो भान्सामा कतिको स्वस्थ्यकर खानाका परिकार बन्दा रहेछन् र हामीले कोशेलीको रुपमा आफ्ना मान्यजनलाई कतिको स्वस्थ्य खानेकुरा लैजाँदा रहेछौं भन्ने कुरा पुष्टी हुन्छ । हामीले होटल रेष्टुरेण्टमा पाकेका मिठा परिकारमा पनि सरकारी निकायहरुले अनुगमन नगर्दा दिनहँु मन्द–मन्द विष खाइरहेका छौं । जहाँबाट खरिद गर्ने हो सोही ठाउँमा अनुगमन गरेर मुहान सफा बनाएन भने आधा उमेर रोग बोकेर बाच्नुपर्ने प्रत्येक नेपालीको बाध्यता बन्ने कुरा घाम जस्तै छर्लङ छ । नागरिकको स्वास्थ्य सबैभन्दा ठूलो धन हो । यो कुरा राज्यका सम्बन्धित निकायहरुले बुझ्नु जरुरी छ ।

अस्पतालको संख्या वृद्धी होइन विरामीको संख्या कसरी घटाउन सकिन्छ राज्य त्यस तर्फ लाग्नुपर्छ । अहिले जताततै अस्पताल खुलेका छन् । चोक–चोकमा गल्ली–गल्लीमा स्वास्थ्य क्लिनिकहरु खुलेका छन् त्यसमा बिरामीले भरिएका छन् । खुट्टो टेक्ने ठाउँ छैन । राज्यको अर्बौं पैसा औषधि खरिद र विविध प्रकारका रोगका कारणले विदेशिएको छ । त्यसैले काम गर्न नागरिकले उपभोग गर्ने स्वच्छ पिउने पानी हाम्रो भान्सामा पाक्ने खाना र होटलहरुमा पाक्ने परिकारको परीक्षण अनुगमन र नागरिकहरुलाई सचेतना नगर्ने हो भने नेपाल केही वर्षपछि रोगीहरुको देश बन्ने खतराको रातो बत्ती बलिरहेको छ ।

त्यस कुरालाई राज्यले बुझ्नु जरुरी छ । हाम्रो देश विश्वकै डम्पिङ साइड जस्तो भएको छ । यहाँ अनुगमन नियन्त्रण र कानूनलाई पूर्णरुपमा पालना सबैले नगरेसम्म चाईनाबाट र इण्डियाबाट गुणस्तरहीन सामान ल्याएर नाफा कमाउन पल्केका विचौलिया दलाल पूँजीपति मात्र मोटाउने र सर्वहारा श्रमजीवी नेपालीहरु कमसल गुणस्तरहीन विषाधियुक्त खाना खाएर र दैनिक औषधि उपचार गरेर मृत्यु पर्खनु सिवाय केही हुने छैन, त्यसैले गम्भीर भएर सोच्नु जरुरी छ ।

हामीले कोसेलीको रुपमा आएका फलफूल खाँदा गाई जस्तो ठूलो सबैथोक पचाउन सक्ने जनावर त विरामी हुँदो रहेछ भने धन्न पो मान्छे वाचेका रहेछन् भन्ने पुष्टी हुन्छ सरकार, स्थानीय सरकारले प्रत्येक हप्ता बजारलाई अनुगमन गरेर विषाधि परीक्षण गरी स्वच्छ सफा खानेकुरा नागरिकलाई खुवाउनु पर्दछ । बजारबाट तरकारीको झोला बोकेर घर आउँदा आफूलार्ई इज्जतदार र गौरबशाली ठान्ने परम्परा दिनानुदिन बढ्दै गएको छ ।

आफ्नो घरको कोठेबारी (करेसाबारी)मा उन्यु उमारेर भारतले विषमा हुर्काएर पठाएका फलफूल र तरकारी बोक्न पाउँदा गर्भ होइन प्रत्येक नेपालीलाई सरमले टाउको निउरिनुपर्छ । सकेसम्म आफूले उपभोग गर्ने खाद्यान्न, तरकारी आफै उत्पादन गर्नुपर्छ । जसले गर्दा तपाईको शारीरिक व्यायाम पनि हुन्छ । र, स्वास्थ्यकर खानेकुरा खान पाइन्छ । त्यसकारण तपाईको पैसा समय बचत हुनुका साथै स्वास्थ्य जीवन पनि बन्नेछ र उत्पादनमा जोड दिएमा मुलुक समृद्धीतिर जानेछ । घर खेत बाझो राखेर अरबका मरुभूमि हरियाली बनाउने नेपाली युवाहरु घर फर्कदा, जवानीले रंग फेरिसकेको र श्रीमतीलाई रोगले थिचिसकेको हुन्छ र बाँकी जीवन सुख भोग्ने आशमा सबै गुमी सकेको हुन्छ यो बुझ्नु जरुरी छ ।

खानेकुरा जस्तो संवेदनशील चिज सडकको पेटीमा घाममा सुकाएर, धुलो, धँुवा फोहोर सबै मिसाएर बेच्ने नेपाली चलनको अन्त्य गरी सफा तरकारी बजार, फलफूल बजारहरुको व्यवस्था मिलाउनुपर्छ । खानेकुरा सकेसम्म सफा चिसो ठाउँमा राखेर मात्र वितरण गर्ने व्यवस्था मिलाउन जरुरी छ । हामी खुट्टामा लगाउने जुत्ता सीसाको दराजमा राख्छौं, शरीरमा लगाउने कपडा सोकेसमा सजाएर राख्छौं, घाम भयो भने पर्दा लगाएर छोप्छौं, तर हाम्रो प्राण बचाउने खाद्यान्न चाहिँ धुलाम्वे सडकको पेटी फोहोरमैला भएका ठाउँमा राखेर बिक्रीवितरण गर्ने परम्परा तत्काल परिवर्तन गर्न जरुरी छ ।

त्यसैले राज्य जनताको स्वास्थ्यमा खेलबाड गर्नेहरुका अगाडि निरीह भएर होइन निर्दयी भएर उभिनुपर्छ नत्र भने हामी दैनिक मन्द–मन्द विष कहिलेसम्म पिउनुपर्ने हो ? सरकार ? आफ्ना संयन्त्रलाई समय बनाएर अनुगमन गरी स्वच्छ, सफा, खानेकुरा खुवाएर नागरिकलाई स्वास्थ्य बनाई आफ्नो दायित्व पूरा गरे कसैले पनि स्वर्गमा जान चौतारो बनाउनु पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *