April 30, 2026

फ्रान्सेली विद्यार्थीको सहयोगमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना

0

कास्की,

सोलिडारिटी फर फ्रान्स नेपालअन्तर्गत त्यहाँका विद्यार्थीको सहयोगमा कास्कीमा एक ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको स्थापना गरिएको छ ।

ज्येष्ठ नागरिकहरु भेला हुने र सुख–दुःखका अनुभूति साटासाट गर्न सहयोग पु¥याउने उद्देश्यले माछापुच्छ«े गाउँपालिका–३ घाचोकमा केन्द्रको स्थापना गरिएको हो । गत असार २१ गते नेपाल आएका फ्रान्सको पेरिसस्थित इएससीपी कलेजका छ युवा विद्यार्थीको समूहले स्थानीयवासीसँग सहकार्य गर्दै २५ दिन लगाएर सेवा केन्द्र भवन तयार गरेका थिए ।

आमा स्मृति प्रतिष्ठान नेपालको समन्वयमा उनीहरु निर्माण कार्यमा लागेका हुन् । प्रतिष्ठानका अध्यक्ष बसन्तराज दवाडीले स्वयंसेवक विद्यार्थीले रातको १ बजेसम्म पनि निरन्तर काम गरेर भवन, शौचालयलगायतका पूर्वाधार निर्माण गरेको बताउनुभयो । विद्यार्थीले रु तीन लाख ८० हजार नगद र रु दुई लाख बराबरको श्रमदान गरेका थिए । प्रतिष्ठानका अध्यक्ष दवाडीले गाउँपालिका तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनासमेतको लगानीमा रु आठ लाख खर्च गरेर भवन निर्माण गरिएको बताउनुभयो ।

स्वयंसेवकका रूपमा नेपाल आएका ३० विद्यार्थी पाँच समूहमा विभाजित भएर नेपालका विभिन्न गाउँहरुमा सामाजिक काममा लागेको र यहाँ सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको सो समूहका टोली नेता गास्पर्ड डारिगलले बताउनुभयो ।आमा स्मृति प्रतिष्ठान, सोलिडारिटी फर फ्रान्स नेपाल तथा गाउँपालिकाको आर्थिक सहयोगमा सो भवन निर्माण गरिएको थियो । भवनमा ५० वृद्धवृद्धाका लागि टेलिभिजन, आराम तथा मनोरञ्जनका सामग्रीहरु राखिएको छ ।

स्थानीय ज्येष्ठ नागरिक तोयनाथ शर्मा लम्सालले विगतमा गाउँघरमा भएका चौतारीहरु अहिले मासिइसकेको बताउँदै दुःख–सुखका अनुभूति साटासाट गर्ने र दिन कटाउनका लागि सेवा केन्द्र निर्माण भएपछि आफूहरु खुशी भएको बताउनुभयो ।उहाँले भन्नुभयो, “हामी वृद्धवृद्धालाई शीतल ताप्ने र एक ठाउँमा बसेर मनको बह, गुनासा पोख्ने ठाउँ पनि छैन, अब भने जमघटको थलो पाएका छौँ ।”

सेवा केन्द्र वडा कार्यायललाई विहीबार हस्तान्तरण गर्दैै गण्डकी प्रदेशसभाका सदस्य रामजीप्रसाद बरालले ज्येष्ठ नागरिक राज्यका अमूल्य सम्पत्ति भएको चर्चा गर्दै उनीहरुका सीप, अनुभव र ज्ञानलाई राज्यले संरक्षण गर्नुपर्ने भनाइ राख्नुभयो । गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णकुमारी दवाडीले सबै वडामा ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र स्थापना गर्ने योजना रहेको सुनाउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *