September 21, 2026

पाकेट मार्ने ८२ पक्राउ

0

काठमाडौँ।

नेपाल प्रहरीले सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ८२ व्यक्तिलाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौँबाट सादा पोशाकमा खटिएको टोलीले जेठ महीनामा काठमाडौँका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनमा पाकेटमार तथा चोरी गर्ने ७८ पुरुष र चार महिलालाई पक्राउ गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी काठमाडौँमा चल्ने बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुको पकेट तथा झोलामा रहेको नगद, मोबाइल तथा गरगहना चोर्दाचोर्दै पक्राउ गरिएको जानकारी दिएको हो ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विभिन्न बसमा दुई जनाका दरले समूह बनाएर बसभित्र छिरेर पैसा भएको यात्रु पत्ता लगाई ठेलमठेल गरेर नगद तथा गरगहना चोर्ने गरेको अनुसन्धानमा खुल्न आएको बताउनुभयो । “पाकेटमारी गर्दा साङ्केतिक भाषा प्रयोग गर्ने गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । प्रहरीले यसभन्दा पहिला पनि काठमाडौँका विभिन्न भागबाट १०० भन्दाबढी पाकेटमारीलाई पक्राउ गरेको थियो ।

प्रहरीले पाकेटमारी गर्दागर्दैै विभिन्न व्यक्तिबाट रु छ लाखभन्दा बढी बरामद गरेकामा सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । प्रहरीले पाकेटमारीबाट २१ थान मोबाइल, दुई थान ल्यापटपसमेत बरामद गरेको छ । पहिलोपटक पाकेटमारी गर्नेलाई एक महीना जेल र बिगो बराबरको जरिवाना साथै दोस्रोपटक पाकेटमारी गर्नेलाई दुई महीना कैद, बिगोबमोजिमको जरिवाना वा दुवै सजाया हुने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *