June 16, 2026

विप्लवको तालिम केन्द्र खोज्दै प्रहरी

0

ओखलढुंगा,

सोलुखुम्बूको महाकुलुङ गाउँपालिका–५ स्थित गुँदेलमा प्रतिबन्धित विप्लव समूहले सञ्चालन गरेको भनिएको तालिम केन्द्र प्रहरीले फेला पार्न सकेको छैन।

आइतबार परिचालित सुरक्षाकर्मीले छेस्काम चौकी कब्जा गर्न आएका भनिएका विप्लव कार्यकर्ता र तालिम केन्द्र फेला पार्न नसकेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। गुँदेलमा तालिम केन्द्र सञ्चालन गरेको जानकारी प्रहरीलाई आइरहेकै बेला आइतबार छेस्कामको चौकीनजिक हतियारधारी समूह आएको सूचना पाएपछि प्रहरीले चौकी छाडेका थिए।

यसैका आधारमा विप्लवले चौकी कब्जा र आक्रमण गरेको हल्ला फैलिएपछि देशभरि तरंग ल्याएको थियो। विप्लवको गतिविधि बढेको सूचनाका आधारमा गस्ती र सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरिएको छ। सोलुखुम्बूका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले छेस्काममा हल्ला मात्र चलाइएको बताए। उनले टेलिफोनमा भने, ‘छेस्काममा केही भएको थिएन, गुँदेलमा छ भनिएको तालिम केन्द्र खोजी भइरहेको छ, फेला पार्नासाथ जानकारी दिन्छौँ।’

विप्लवको गतिविधि बढेको र तालिम केन्द्र नै छ भन्ने सूचनाका आधारमा खोजी भइरहे पनि अहिलेसम्म फेला नपरेको उनको भनाइ छ। सोलुखुम्बूको महाकुलुङ केन्द्रित गरी प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली परिचालन गरेर तालिम केन्द्र र विप्लवका कार्यकर्ता खोजी भइरहेको छ। सशस्त्र प्रहरीको प्रदेश १ गण मुख्यालय रानी विराटनगरबाट डीएसपीको नेतृत्वमा ५० र केन्द्रीय प्रहरी विशेष कार्यदलबाट ३० सहित ८० प्रहरीको विशेष टोली सर्च अभियानमा छ।

गुँदेलमा बिजुली र टेलिफोन सहज नहुँदा सूचना प्रवाहमा समस्या छ। ओखलढुंगाबाट समेत प्रहरी खटाइएको छ। बाहिरबाट आएको र जिल्लाभित्रकै सुरक्षाकर्मीको टोलीले सर्च अभियान सुरु गरेर विप्लव समूहका कार्यकर्ताको खोजी तीव्र पारेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *