June 19, 2026

दुई सय टेम्पो चालकको आँखा जाँच

0

       झापा। टेम्पोका कारण झापामा धेरै दुर्घटना बढेको भन्दै चौतर्फी गुनासो आउन थालेपछि सवारी दुर्घटना…

झापा।

टेम्पोका कारण झापामा धेरै दुर्घटना बढेको भन्दै चौतर्फी गुनासो आउन थालेपछि सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी अन्तरक्रिया गरिएको छ ।

संयुक्त अटो टेम्पो छाता संगठन झापाले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले टेम्पो चालकलाई ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिनुपर्नेमा जोड दिए । उनीहरुले झापाका शहरी क्षेत्रमा टेम्पो अत्यधिक भएकाले ठाउँ अनुसार संख्या विभाजन गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्टराईले टेम्पो चालकहरु संगठित रुपमा एक भएर अघि बढेको भन्दै अब ट्राफिक नियम सम्बन्धी तालिम पनि आवश्यक रहेको धारणा राखेका थिए । ट्राफिक प्रहरीले जरिवानामा भन्दा सचेतनामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी उपरीक्षक सुवास खड्काले सवारी चाकललाई प्रशिक्षण प्रदान गर्ने विषयमा ट्राफिक प्रहरीले पहल गर्ने बताए । उनले सवारी चालकले समेत ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोड दिए । त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख होमप्रसाद अधिकारीले अधिकांश चालकको लाइसेन्स नै नभएको बताउँदै पहिला दक्ष चालक बन्न सुझाव दिएका छन् ।

उनले मुख्य राजमार्ग बाहेक सहायक मार्गमा मात्रै तीन पाङ्ग्रे सवारी सञ्चालनको अनुमति दिनुपर्नेमा यातायात कार्यालय मेचीले जिल्लाका सबै सडकको अनुमति दिएकाले समस्या निम्तिएको बताए । उनले ट्राफिक प्रहरीले चालकहरुलाई प्रशिक्षण प्रदान गर्दै दुर्घटना न्यूनीकरणका लागि पहल गर्ने बताए ।

संयुक्त टेम्पो छाता संगठनका अध्यक्ष गोविन्द तामाङको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा (प्रसाई), हलेंसी ट्रेड लिंकका प्रोप्राइटर चूडामणि पौडेल लगायतको आतिथ्य रहेको थियो । हस्तराज राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन टोपराम राईले गरेका थिए ।


यसैबीच दुर्घटना न्यूनीकरणको लागि झापामा टेम्पो चालकको आँखा जाँच गरिएको छ । सवारी दुर्घटना नहोस् भनेर सोमबार बिर्तामोडमा बजाज टेम्पोका आधिकारी बिक्रेता हलेंसी ट्रेड लिंकले निःशुल्क आँखा शिविरको आयोजना गरेको हो ।

बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोग र हलेंसी ट्रेड लिंकको आयोजनामा गरिएको निःशुल्क आँखा शिविरमा दुई सयभन्दा बढी टेम्पो चालकको आँखा जाँच गरिएको ट्रेड लिंकका प्रोप्राइटर पौडेलले जानकारी दिए । परीक्षणमा चालकहरुको आँखामा मोतीयाबिन्दु, मासु पलाएको, आँखा पाकेको समस्या भेटिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *