June 14, 2026

 

[समा श्री]
गमलामा तिमीले रोपेको बोट
कठ्यांग्रिएको छ
तुषारोले खाएर पातहरू
पँहेलपुर हुँदै झरेका छन्
थुप्रिएका छन् बोट मुनि
यादहरू बनेर
सम्झ त
रोप्दा खेरि
तिम्रो मायालु स्पर्श
तिम्रो न्यानो गोडमेल
दुई थोपा पसिना तप्प चुहिएर
माटो भिजाएको थियो
मुहार हाँसेको थियो मेरो
आत्मा गदगद भएको थियो
मेरो उल्लास यसैलाई दिएको थिएँ
फूल बनेर फुलोस् भनेर
त्यो टुसायो पालुवा लाग्यो र फुल्यो
त्यो गम्कियो हाँस्यो र झुल्यो पनि
म प्रतीक्षामा थिएँ
तिमी रङ्ग लिएर आउँछौ भनेर
तिमी सुवाष लिएर आउँछौ भनेर
तिम्रो बाध्यता या नियत
उसको कर्म या विवसता
त्यो रंगहीन फूल्यो
त्यो सुवाषहीन फक्र्यो
नचढने भयो तिम्रो आश्रय नपाएर
पँलासमा बदलियो त्यो
नछोइने भयो
नचढिने भयो
अहिले
परिचय विहिन जर्जर बोट भएको छ
हाम्रो पँलास
खै ,कसले भन्दियोस्
पँलास पनि फूल हो भनेर
[नागरिकता विहिन नेपाली चेलीको पीडा सम्झदै ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *