June 14, 2026

आँधीको फूल आँधीको पत्कर

0

धुलाम्य आकाश
कार्बन र मिथेनको दवदवाले
प्रदुषित, विषाक्त, विषाक्त धरती, आकाश
सफाचट पारेर बडार्न
एक युगमा एकपटक
प्रलयकारी, आधीबेरी आउँछ
धर्तीको डंगुर फोहोर मैला बगाउन
प्रलयकारी, संसार डगमगाउने बाडी आउँछ
नयाँ, मिठो रंगीन सपना फक्राउन
फक्रिँदै गरेका कलिला कोमल फूलहरू ।

खबरदार !!
आँधीबेरीमा घातक मिथेन र
कार्बनको मिश्रण उँडेका हुन्छ्न्
आँधीमा धूलो, कसिङ्गर र पत्कर उँडेका हुन्छन्
तिमी, विसंगतिको आँधी र
बाडीसँग जुधेको संघर्षशील फूल हौ, तिमी
आफ्नो धरातलको माटो बिर्सिएर
हावा, बतासमा उड्ने
आँधीको पत्कर हुनु हुँदैन
आँधीको धूलो हुनु हुँदैन
बाडीको कसिङ्गर हुनु हुँदैन ।

सुन्दर मूल्य र मान्यताको दरो हाँगा समातेर
तिमीभित्रको अनन्त सुगन्धको कुचो चलाएर
बरु आँधीमा धूलो र पत्कर उडाउनु पर्छ
तिमीभित्र उर्लिरहेको सुन्दर रङको छाल उठाएर
बाडीमा कसिङ्गर बगाउनुपर्छ
युगको मागको सापेक्षमा
समयको सापेक्षमा
तिम्रो नविन रङको उज्यालो बिहानीले
हिमालको मुहारमा खुशीको मुस्कान अवश्य पोतिने छ
नेपालको मुहारमा सुनौलो विहानीको मुस्कान फक्रिनेछ ।

बिर्तामोड नगरपालिका, झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *