September 25, 2026

पत्रकार महासंघ झापाको १४औं अधिवेशनः मोतीराम पत्रकारिता पुरस्कार आचार्य र हुमागाँईलाई

0

झापा ।

नेपाल पत्रकार महासंघ झापा शाखाले १४औं अधिवेशनको अवसरमा अग्रज पत्रकारहरुलाई नगदसहित सम्मान गरेको छ । झापा शाखाले बिगतदेखि नै बितरण गर्दै आएको नेपाली पत्रकारिताका जन्मदाता मोतीराम भट्टको स्मृतिमा स्थापित मोतीराम पत्रकारिता पुरस्कार यस वर्ष दुई जना अग्रज पत्रकारहरुलाई संयुक्त रुपमा प्रदान गरेको छ ।

रु. एक लाख १ हजार एक सय ११ रुपैयाँसहितको उक्त पुरस्कार प्रेस स्वतन्त्रताको पक्षमा संघर्ष गर्दै पत्रकारिताको व्यवसायिकता र मर्यादा बढाउन योगदान दिएको भन्दै दुई पूर्व अध्यक्षहरु केशव आचार्य र कृष्ण हुँमागाँईलाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

सोही अबसरमा पूर्वका जेठो पत्रकार श्यामकृष्ण उपाध्यायद्वारा सम्पादित झापाको पहिलो पत्रिका केटोको सम्मानमा स्थापित केटो पत्रकारिता पुरस्कार पूर्वाञ्चल डटकम अनलाइन संयोजक नरेन्द्र ढकाललाई नगद २५ हजार पाँच सय ५५ रुपैयाँसहित सम्मान–पत्र प्रदान गरियो ।

यसैवर्षदेखि नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा प्रदान गरिने गरी स्थापना भएको हेम–सरिता फाउण्डेशन टेक्सास अमेरिकाले संयोजन गरेको ‘टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार’ भद्रपुर निवासी पत्रकार राजबाबु शंकरलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित प्रदान गरएको थियो ।

हेम–सरिता फाण्डेशन अमेरिका र नेपाल पत्रकार महासंघ झापा शाखाले गरेको सम्झौता बमोजिम फाउण्डेशनका संस्थापकका हेम पाठक र सरिता पाठकले पिता टंकप्रसाद पाठक र माता रमादेबी पाठकको स्मृतिमा प्रत्येक बर्ष प्रदान गर्ने गरी रु. ५ लाखको अक्षयकोष स्थापना गरेका छन् । उक्त कोषको ब्याजबाट भ्रष्टाचारबिरुद्ध तथा सुशासन प्रवद्र्धनका लागि पत्रकारितामार्फत महत्वपूर्ण योगदान दिने पत्रकारलाई पुरस्कृत गरिने फाण्उडेशनको उद्देश्य रहेको छ ।

त्यसैगरी अधिवेशनमा २५ हजार राशिसहितको लैङ्गिक समानता पत्रकारिता पुरस्कार २०७९ लीला अनमोल लाई र २०८०को पुरस्कार रेजिना गौतमलाई प्रदान गरिएको थियो । बिर्तामोड–१ निवासी छोरा विपीन (विश्वेश्वर) र बुहारी बिनिता बजगाँई (होमकला)ले आफ्ना मातापिता मनमाया र केदार बजगाँईको स्मृतिमा महासंघमा २ लाख ५१ हजारको अक्षयकोष स्थापना गरेका थिए ।

लैङ्गिक समानता हासिल गर्न समाजलाई अभिप्रेरणा दिने, समतामूलक समाज निर्माणमा भूमिका खेल्दै पैरवीयुक्त, खोजमूलक र प्रभावशाली समाचार प्रकाशन तथा प्रशारण गर्ने एक जनालाई प्रत्येक बर्ष प्रदान गर्ने गरी उक्त पुरस्कारको स्थापना गरिएको हो ।

त्यसैगरी यसै बर्षबाट महासंघ झापाले स्थापना गरेको समावेशी सक्रिय पत्रकारिता पुरस्कार नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको छ । पत्रकार महासंघ झापाले यसैबर्षदेखि सञ्चार क्षेत्रका विविध बिधालाई समेटेर समाज रुपान्तरणमा योगदान दिने पत्रकारहरुलाई जनही ११ हजार नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

विविध बिधा अन्तर्गत अनलाइन पत्रकारिता पुरस्कार शब्दपत्र डटकमका सम्पादक उद्धव पुरीलाई प्रदान गरिएको छ । त्यस्तै छापा पत्रकारिता पुरस्कार मेची साप्ताहिकका सम्पादक झुलन रेग्मीलाई प्रदान गरियो । त्यस्तै टेलिभिजन पत्रकारिता पुरस्कार हिमशिखरका सुदीप अधिकारीलाई र रेडियो पत्रकारिता पुरस्कार रेडियो भिजनका पुष्प बराललाई प्रदान गरिएको थियो । सोही अवसरमा उदीयमान पत्रकारिता पुरस्कार आँगन एफएमका चन्द्र बस्नेत र मेची खबर साप्ताहिकका प्रकाश पौडेललाई प्रदान गरियो । उक्त पुरस्कारको राशि जनही ११ हजार १ सय ११ रुपैयाँ रहेको छ ।

त्यसैगरी अधिवेशनकै अवसरमा ११ जना अग्रज पत्रकारहरुलाई दीर्घसेवा सम्मान प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा नकुल काजी, गोबिन्दचन्द्र छेत्री, गञ्जबहादुर दाहाल, शिरोसान्दाइ, लीला बराल, लेखनाथ परदेशी, गोपाल गिरी, चिन्तामणि दाहाल, नेत्र पाठक, केशव आचार्य र लक्ष्मण ढकाल छन् ।

यसैबीच झापाली पत्रकारहरुको सामाजिक सुरक्षामा महत्वपूर्ण योगदान दिएको भन्दै व्यवसायी दीपक पोखरेललाई सम्मान गरिएको थियो । सौर्य एयरलायन्स तथा ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष पोखरेलले महासंघको प्रस्ताव अनुसार पत्रकारहरुको उपचारमा सहयोग गर्न काठमाडौंसम्मको हवाई टिकट र हस्पिटलमा उपचार सेवामा योगदान दिँदै आएका छन् ।

कार्यक्रममा मेची महाकाली पहिलो पत्रकार साइकलयात्री मुक्ति पौडेललाई समेत सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरे, प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, नेपाल पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष वाला अधिकारी लगायतले सम्मान एवम् पुरस्कार वितरण गरेका थिए । पत्रकार महासंघका सस्थापक महासचिव चन्द्र भण्डारीले सम्मानित व्यक्तिहरुको नाम घोषणा गरेका थिए ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *