September 25, 2026

झापा जिल्ला स्तरीय कराँते सम्पन्न

0

सुरूङ्गा ।

झापाको सुरुङ्गामा दोस्रो गौरीलाल श्रेष्ठ स्मृति आमन्त्रित झापा जिल्ला स्तरीय कराँते प्रतियोगिता सम्पन्न भएको छ ।

सुरुङ्गास्थित जेसीज भवनमा सम्पन्न एक दिवसीय प्रतियोगितामा माईधाम डोजो प्रथम भएको छ । माईधामले प्रतियोगितामा कुल १९ स्वर्ण पदक हात पारेको छ भने दोस्रो महेन्द्ररत्न डोजो बिर्तामोडले १८ स्वर्ण पदक जितेको छ ।

यसैगरी झिलझिले डोजोले कुल १४ स्वर्णपदक जित्दै तेस्रो बनेको छ । यस क्षेत्रका अगुवा तथा खेलप्रेमी स्वर्गीय गौरीलाल श्रेष्ठको स्मृतिमा उनको परिवारको आर्थिक सहयोगमा हरेक वर्ष जिल्लास्तरीय कराते प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

प्रतियोगिताको प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास बोर्डकी उपाध्यक्ष विन्दिया कार्कीले उदघाटन गरेकी हुन् । प्रमुख अतिथि कार्कीले राज्यलाई खेलाडीहरुले धेरै कुरा दिइसकेको भन्दै राज्यका तर्फबाट खेलाडीको जीवनस्तर र जीविकोपार्जनको क्षेत्रमा केही नसोच्ने हो भने अबका बाँकी दिनहरुमा खेलाडीले राज्यलाई मात्रै दिइरहन नसक्ने अवस्था आएको बताइन् ।

आयोजक संस्था इलुवाबारी सितोरियो कराँते डोजोका संयोजक राजेन्द्र लिम्बूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खेलकुद विकास समिति झापाका अध्यक्ष प्रशान्त भण्डारी, कनकाई नगरपालिका वडा नं.३ का वडाअध्यक्ष युवराज चम्लागाईँ, खेलप्रेमी खड्ग कार्की लगायतले खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण साँघुरो हँुदै गएको भन्दै समाजसेवी गौरीलाल श्रेष्ठको स्मृतिमा हरेक वर्ष आयोजित यस प्रकारको प्रतियोगिताबाट खेल क्षेत्रमा अतुलनीय योगदान पुगेको बताए ।

खेलकुद विकास समिति झापाका प्रवक्ता समेत रहेका कराँते महासंघ झापाका अध्यक्ष जगन कार्की ‘दुर्वासा’ ले स्वागतसहित औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गरेको भन्दै स्वर्गीय गौरीलाल श्रेष्ठका परिवार प्रविन श्रेष्ठ, पुजा श्रेष्ठ, चन्द्राकुमारी श्रेष्ठ लगायतलाई सम्मान समेत गरिएको थियो ।

सुरुङ्गा जेसिज सहआयोजक रहेको प्रतियोगितामा झापा जिल्ला कराँते महासंघको संयोजन तथा रेफ्री कमीशन झापाको प्राविधिक सहयोग रहेको थियो । प्रतियोगितामा विभिन्न ९ इभेन्टमा झापाका १८ कराँते डोजोका ३ सय ५० खेलाडी सहभागी रहेको कार्यक्रम संयोजक राजेन्द्र लिम्बूले जानकारी दिए । राखेप कराँते प्रशिक्षक दुर्गाराज निरौलाले संचालन गरेको कार्यक्रममा रेफ्री संयोजक कृष्ण बस्नेत साथै सहसंयोजक बद्री विष्टको संयोजनमा रहेको रेफ्रीहरुको टोलीले निर्णायक मण्डलीको भूमिका खेलेको बताइएको छ ।

निर्णायक मण्डलीका सदस्यहरुमा दिपेश निरौला, विक्रम मेचे, हरि बस्नेत, अशोक राई, जीवन राई, हेम परियार, निशा राई, धिरज ओझा, रेणुका राई, सञ्जय शाह, झगेन्द्र दर्नाल लगायत रहेको आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *