September 18, 2026

अग्नि ज्वाला माथि उभिएकाछौ
भूगोल छट्पटीले आक्रान्त छ
हिमालका हिउँ पग्लिसके
चौंरीका रौंहरु भकाभक झर्दैछन्
फूल ओइलाएर लथ्रक्क भए
काँडाको सर्वत्र बिगबिगी छ
नदीमा गढेरासम्म पलायन भइसके
तर,
सगरमाथाको फेदीमा
मोनेराहरु मान्छेको विकास चरणमा नपुगेरै हुनसक्छ,
मिसन चौरासीको सपना देखाएर
रङ–बिरङका झण्डाले तर्छाउँदै
सडकदेखि सदनसम्म
जिन्दावाद र मुर्दावादको नारा ठोकिरहेछौ
निरोका भ्रुणहरु ।

दिनमा दुई हजार बाहिरिँदैछन् आफ्ना सन्तान
भित्रिदैछन् प्रत्येक दिन दश हजार परचक्रीहरु
गिदी बाहिरिने, लिदी भित्रिने
गोठहरुमा गाई खेदेर उँट पाल्नुपर्ने
यो बेला,
मन्त्रीको कडा उर्दी छ
‘खबरदार ! शंख फुक्लास, पढ्लास तृपिटक र मुन्धुम
घोक्लास गीता रामायण र सन्सारकै प्राचीन साहित्य
तँलाई पाता फर्काएर हत्कडीसहित जेल ठोक्छु ।’

कालरात्रीको यो प्रहरमा
बिडम्बनाको भारी बोकेर खुइय गर्दैछ वर्तमान्
मोनेराहरु मिसन चौरासीको डिङ हाँकिरहेछन्
आँधी उठ्नु अगाडि मौनताको फाइदा लुट्तै गर मोनेराहरु हो !
हेर्दैछौं, तिम्रा योजनाका पुल कसरी भाँचिनेछन्
एकोहोरिएर बजाउँदै गर बाँसुरी
ए निरोका रक्तबीजहरु हो !
आगो पिएर बाँच्न विवशहरुको कथा
निकट समयमा पढन पाउने नै छौ,
चस्मा पुछ्तै गरौला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *