September 19, 2026

 


यो के आएछ ?
अहँ…
मैले ल्याउन खोजेको
मैले ल्याउन सोचेको
पटक्कै
यो हुँदै होइन

मैले त
छ्याङ्ग आकाश खोजेको थिएँ
र कालरात्रिबाट उन्मुक्ति
तर,
देशको नाकबाट
धुँवाको मुस्लो
उसको फोक्सोसम्म पुगेर
यतिबेला
कार्बन पो डढाइरहेछ

अहँ…
मैले खोजेको यो
अन्धकार हुँदै होइन
मनमा उज्यालो
आकाशको सपना थियो
आँखामा सूर्यको मिर्मिरे
किरणको अपेक्षा थियो
तर, भत्कियो
मेरो मुटुको
आँखाले देखेको सपना

अहँ…
मेरो मुटुको सपना त
मुटुलाई नै चिथोरेको
मेरै आफ्नाहरूले
पटक्कै थिएन
मनमा उज्यालो
आकाशको सपना थियो
आँखामा भत्भति पोल्ने
धुँवाको मुस्लो होइन
शीतल चन्द्रमाको
बरफे चिसो आनन्द थियो ।
मेरो मुटुको बीचबाट
मुटुको टुप्पोले खोजेको मान्छे
यस्तो हुँदै होइन
अहँ…
मैले खोजेको देश
पटक्कै यस्तो हुँदै होइन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *