June 16, 2026

भद्रपुर नाकाबाट गैरकानुनी रुपमा नेपाल छिर्न लागेकी पाकिस्तानी मूलकी एक महिला नियन्त्रणमा

0

पार्थ मण्डल/झापा ।

गैरकानुनी रूपमा भारतबाट नेपाल आउन लागेकी स्थायी घर पाकिस्तान हाल अमेरिकन ग्रीन कार्ड भएकी एक महिलालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले सीमा नाकाबाटै नियन्त्रणमा लिएको छ।

भद्रपुर-गलगलिया नाकामा तैनाथ ४१ बटालियन एसएसबी भादगाउँ चेक पोस्टमा खटिएका टोलीले फरीदा मल्लिक नाम बताउने महिलालाई नियन्त्रणमा लिएको हो।

बिना कागजात भारतबाट भद्रपुर नाका हुँदै नेपाल आइरहेकी ती महिलालाई नियमित चेकजाँचमा खटिएका एसएसबीले रोकेर परिचय पत्र मागेका थिए। तर, ती महिलाले परिचयपत्र नभएको भनी एसएसबीसँग उल्टै अभद्र व्यवहार गरेकी थिइन्। त्यसपछि एसएसबीले महिलालाई नियन्त्रणमा लिएर गलगलिया पुलिसलाई जिम्मा लगाएका थिए।

गलगलिया पुलिसले ती महिलासँग थप अनुसन्धान गर्दा उनको साथबाट अमेरिकाको क्लोफोनियाबाट जारी गरेको ग्रीन कार्ड फेला पारेको थियो। त्यसपछि उनको स्थानीय घर पाकिस्तान भएको थप परिचय पनि खुल्यो।

उनले हाल पाकिस्तानको नागरिकता त्यागेर अमेरिकाको ग्रीन कार्ड लिइसकेको रहेछ। तर, उनको ग्रीन कार्ड सक्कली वा नक्कली हो भनेर किशनगञ्ज पुलिसले थप अनुसन्धान अघि बढाएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

नियन्त्रणमा लिएकी ती महिलालाई यसअघि उत्तराखण्डमा एसएबसीले नियन्त्रणमा लिएर पुलिसलाई जिम्मा लगाइसकेको थियो। ११ महिना भारतीय जेलमा बसेकी ती महिलालाई छुटेपछि उनलाई अमेरिका पठाइदिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *