भद्रपुर ः प्राइड एण्ड प्राउड

प्राचीन र ऐतिहासिक यसको प्राइड
झापाको सदरमुकाम भद्रपुर, ऐतिहासिक र प्राचीन शहर हो । वि.सं.१९७० मा समान्य हाटको रुपमा शुरु भएको भद्रपुर, क्रमशः बजार हुँदै अहिले नगर भएको छ । भद्रपुर नगरको स्थापनामा सरावगी पविार (ओमप्रकाश सरावगी)को परिवारको मुख्य हात रहेको छ जुन परिवार अहिले पनि भद्रपुरकै प्राइडको रुपमा बजारमै बसोबास गरिरहेको छ ।
भद्रपुर बजार स्थापना गर्नमा वीपी कोइराला परिवारको पनि हात रहेको छ । वीपीका बाबु पिताजी कृष्णप्रसाद कोइरालाले यो बजार स्थपानामा भूमिका खेलेका थिए । राणा शासनकालमा कृष्णप्रसाद कोइरालाले पूर्वको भन्सारको ठेक्का पाएका थिए । ठेक्का पाएपछि उनी सिन्धुलीबाट विराटनगर आएर बसे । त्यतिखेर विराटनगरलाई गोग्राहा भनिन्थ्यो । सानो हाट लाग्थ्यो । उनी बसेपछि बजारको विकास भयो अनि उनैले गोग्राहाबाट यसको नाम विराटनगर राखे ।
भन्सारको ठेक्का उठाउने क्रममै भद्रपुरमा पनि भन्सारको स्थापना गरियो । सँगसँगै हाट पनि लाउन थालियो । त्यसअघि भद्रपुरका बासिन्दा मेची नदी पारी भारतको भातगाउँको हाट भर्थे । त्यस हाटलाई भद्रपुरमा ल्याइयो । अहिले हुलाक भएको ठाउँ नजिक खुल्ला जग्गामा एउटा बाबरीको रुख थियो । त्यहीं हाट लाग्न थाल्यो । यो १९७० सालतिरको कुरा हो भन्छन् भद्रपुरका पुराना बासिन्दा ।
त्यही भद्रपुर २००८ सालमा भद्रपुर म्युनिसिप्यालिटी भयो । त्यसपछि भद्रपुर पञ्चायत हुँदै अहिले भद्रपुर नगरपालिका भएको छ । शुरुमा बजारमात्र नगरपालिका रहेको भद्रपुर क्रमश विस्तार हुँदै ठूलो भएको छ । अहिले भद्रपुर नगर भन्नाले भद्रपुर, चन्द्रगढी, महेशपुर र पृथ्वीनगरसम्म जोडिएका छन् । यसको अहिलेको जनसंख्या करिब ६५ हजार रहेको छ ।
यो नगर शुरु भएको सय बर्ष नाघेको छ यसैले यो प्राचिन पनि भयो । राणाकालमै स्थापना भएको भारतसँगको पूर्वको एउटा प्रमुख नाका भएको, २००७ सालको क्रान्तिमा यसको योगदान भएको र जनमुक्ति सरकारको राजधानी भएको र २००८ सालमै म्युनिसिप्यालिटी भएकोले ऐतिहासिक पनि भयो । त्यसैले झापामा गौरव गर्नुपर्दा भद्रपुर नै पहिलो नगर हो ।
सबैथोक छ भद्रपुरमा ः
नगरपालिकामा हुनुपर्ने सबै सेवा सुविधा भद्रपुरमा छन् । चौडा र कालोपत्रे सडक छन् । सडकमा नाली छन् र केही बन्ने क्रममा छन् । बजार विस्तारका लागि प्रशस्त जग्गा छ र फैलावट पनि आकर्षक छ । देउनीया र मेची नदीले बेष्ठित छ । जिल्लाको सदरमुकाम भद्रपुर नै हो ।
अड्डा अदालत, एयरपोर्ट, लामो र छोटो दूरीका साना ठूला यातायातका साधनहरुले नेपाललाई जोड्छन् भने भारतसँग सीमाना जोडिएको र सीमान्त नदी मेचीमा केही बर्षअघि पक्की पुल पनि निर्माण भएर सञ्चालनमा पनि आउन थालेकोले भारत प्रवेश गर्न पनि सहज भएको छ ।
शिक्षाको क्षेत्रमा त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस मेची क्याम्पस छ । जहाँ स्नातक तहका बिए, बिएसडब्लु, बिबिएस, बिबिए, बिएस्सी, बिएस्सी इनभाइरोन्मेन्टल, बिएस्सी सिएसआटि, बिसिए, बिआइम र मास्टर्स तहमा नेपाली, अंग्रेजी, सोसियोलोजी,अर्थशास्त्र र एमबिएसको पठन पाठन हुन्छ ।
करिब १६ विगाहाको क्षेत्रफलमा फैलिएको क्याम्पस परिसरमा अत्याधुनिक भवन, छात्रबास, इरुलाइब्रेरी, प्लेग्राउण्ड, पार्किङ, चौडा र हावादार कक्षा कोठा, सुग्घर र सफा परिसर, शिक्षक कर्मचारी आवास, शुद्ध र सफा पिउने पानीको व्यवस्था र चुस्त प्रशासन र व्यवस्थापन रहेको छ । भविष्यमा कानूनमा स्नातकको पठनपाठन गराउने तयारी अन्तिम चरणमा पनि पुगेको अवस्था छ ।
माविस्तरमा निजी र सरकारी मावि र आधारभूत विद्यालयहरु प्रशस्त र पर्याप्त छन् भने १२ सम्मका लागि साधारण विषयसहित विज्ञान कक्षा, होटल म्यानेजमेन्ट सम्मका कक्षा चलेका छन् । यी शैक्षिक प्रतिष्ठानले गुणस्तरीय शिक्षा पनि दिएका छन् ।
स्वास्थ्यतर्फ, मेची प्रादेशिक अस्पताल सय शय्यासम्मको सुविधामा उच्चसतरका डाक्टरहरुको सेवासहित सञ्चालित छ । जहाँ दैनिक पाँच सयको हाराहारीमा नगरकामात्र होइन जिल्लाभरीका विरामीहरुले सेवा पाइरहेका छन् ।
त्यसैगरी निजीतर्फ ओम साई अस्पतालले पनि राम्रो सेवा दिइरहेको छ । अन्य पोलिक्लिनिकहरु पनि थुप्रै छन् । प्राकृतिक चिकित्शालय संस्थागत पनि छ भने निजी पनि छ । त्यस्तै फिजियो थेरापी पनि सञ्चालनमा छ । जिल्ला आयुर्वेद अस्पतालले पनि सेवा दिइरहेको अवस्था छ । यिनीहरुले विरामीहरुलाई पर्याप्त सेवा दिइरहेका छन् ।
समाजसेवातर्फ यहाँ सञ्चालित र क्रियाशील रहेका लाइन्स क्लव, रोटरी क्लव, जेसीज, परिवार नियोजन, अन्ध अपाङ्ग सेवा केन्द्र, अर्बुद रोग र क्षयरोग निवारण संस्थाहरु, नेपाल रेडक्रस सोसाइटी, बालमन्दिर, विभिन्न मठमन्दिर, धर्मशाला, आधुनिक सेवासुविधा सम्पन्न होटल रेष्टुराँदेखि सामान्यस्तरका होटलहरुले पनि सेवा दिइरहेका छन् ।
सुरक्षाका लागि यसै त सदरमुकाम भएकोले सुरक्षित छ भने सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, सैनिक क्याम्प, वडा प्रहरी र अन्य प्रहरी चौकीहरु, सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका क्याम्पहरुले पनि तदारुकताका साथ काम गरिरहेका छन् । सीमान्त नगर भएर पनि चोरी डकैती नगन्य छ भने एकदमै शान्त र सौम्य छ भद्रपुर भन्दा फरक पर्दैन ।
उद्योगधन्दाका हकमा साना ठूला बजार छन् । चिया कार्खाना १० वटा छन् भने प्लाइउड, चामल उद्योग, प्लाष्टिक ट्यांकी कारखाना लगायत भाँडाकुँडा बनाउने सानातिना कार्खाना र उद्योगहरु पनि प्रशस्तै छन् ।
मनोरञ्जनका लागि सिनेमा हल, केवल टिभी नेटवर्क, डिसहोम सप्लाइ एजेन्सी, नाचगान सिकाउने र सञ्चालन गर्ने क्लव र व्यान्डहरु पनि पर्याप्त छन् । सञ्चार क्षेत्रका हकमा एउटा एफएम रेडियोका साथै साप्ताहिक पत्रिकाहरु, अनलाईन पोर्टलहरु, प्रेस क्लव लगायत पनि सक्रिय रहेका छन् । नेपाल टेकिमका भद्रपुर र चन्द्रगढीमा गरी दुईवटा कार्यालयले सेवा दिँदैछन् भने निजी क्षेत्रको एनसेल, इन्टरनेटका हकमा निजी स्तरका सेवा प्रदायक इन्टरनेट कम्पनीहरु पनि क्रियाशील छन् ।
खेलकुदका हकमा मेची रंगशाला छ । जिल्ला खेलकुद विकास समिति छ । फुटबल, क्रिकेट, कराते, जुडो, भलिबल लगायतका खेल सञ्चालन हुने गर्छन् भने खेलकुदका लागि क्लवहरु पनि सञ्चालित छन् । जिम शाला पनि छन् ।
प्राउड गर्छु म ः
एउटा नगरमा हुने सबै सेवासुविधा भद्रपुरमा छन् जो झापाकै अरु नगरपालिकामा छैनन् । यस नगरको सबैभन्दा ठूलो विशेषता भनेको शान्त र सौम्यता नै हो । यस्तो नगर हामी भद्रपुरवासीका लागि प्राइडको कुरा हो भने त्यस्तो नगरपालिकामा बस्न पाएका हामी प्राउड फिल गर्छौं । घमण्ड गर्दैनौं तर गर्व गर्छौं । कि कसो ? यसमा केही छुटपुट भए अरु कलम चल्नेहरुले पनि लेख्नु हुन ।
