निजी संस्थालाई करोडभन्दा बढी सरकारी बजेट दिएपछि स्थानीयको बिरोध
सुरेन्द्र भण्डारी,
झापा ।

समाज कल्याण उद्धार संघको स्वामित्वमा रहेको जमिनमा खेल मैदान निर्माणका लागि सरकारले एक करोडभन्दा बढी रुपैयाँ लगानी गरेको पाइएको छ ।
अर्जुनधारा नगरपालिका–७ फूलमती किनार खेल मैदान निर्माणका लागि अर्जुनधारा नगरपालिका र युवा तथा खेलकुद मन्त्रालयले एक करोड १७ लाख रुपैयाँ भन्दा बढी लगानी गरेको हो । आर्थिक वर्ष २०७६/०७७ मा युवा तथा खेलकुद मन्त्रालयले ५० लाख रुपैयाँ लगानी गरेको थियो भने सोही आर्थिक वर्षमा अर्जुनधारा नगरपालिकाले १५ लाख रुपैयाँ लगानी गरेको हो ।
त्यस्तै आर्थिक वर्ष २०७७/०७८मा युवा तथा खेलकुद मन्त्रालयले २५ लाख रुपैयाँ लगानी गर्दा अर्जुनधारा नगरपालिकाले १० लाख रुपैयाँ लगानी गरेको अर्जुनधारा नगरपालिकाका इञ्जिनियर निरज अधिकारीले जानकारी दिए ।
चालू आर्थिक वर्ष पनि युवा तथा खेलकुद मन्त्रालयले संघको स्वामित्वमा रहेको खेल मैदान निर्माणका लागि ८ लाख र अर्जुनधारा नगरपालिकाको तर्फबाट ९ लाख १८ हजार रुपैयाँ बजेट छुट्याइएको र सोही बजेटबाट खेल मैदानमा घेरावाराको काम भइरहेको अधिकारीको भनाइ छ ।
संस्थागत स्वामित्वमा भएको जमिनमा खेल मैदान निर्माणका लागि संघीय सरकार र स्थानीय सरकारले कुनै कार्यविधि नै नबनाई यति धेरै लगानी गर्नुले संस्थाका सीमित व्यक्तिलाई मात्र फाइदा पुग्ने स्थानीयको भनाइ छ ।
२०५५ सालमा स्थापित समाज कल्याण उद्धार संघले यसअघि अर्जुनधारा खेल मैदान निर्माण गर्ने भन्दै सर्वसाधारणसँग रकम संकलन गरेको अर्जुनधारा प्रेस क्लवका अध्यक्ष कुमार भट्टराईले बताए । तर, सो रकमले अर्जुनधारा खेल मैदान नभइ संस्थाको हितका लागि काम भइरहेको उनको भनाइ छ ।
साविक अर्जुनधारा–४मा रहेको फूलमती खोलामा पुल निर्माण गर्दा बचेको ४ लाख रुपैयाँ समेत खेलकुदको विकासका लागि खर्च गर्ने जनाएपछि संघलाई प्रदान गरिएको बताइएको छ । पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति झापाको १५ लाख र अर्जुनधारा नगरपालिकाको ५ लाख रुपैयाँ गरी २० लाख बजेट विनियोजन भएको थियो । सोही विनियोजित रकमबाट चार लाख रुपैयाँ बचेको र सो रकम समेत संघलाई प्रदान गरेको बताइएको छ ।
फूलमती खोला किनारमा अर्जुनधारा रंगशाला बनाउने भन्दै सर्वसाधारणसँग शुरुमा रकम उठाउने पछि आफ्नै संस्थालाई फाइदा पुग्ने गरी काम गर्नु आफैंमा गलत भएको अध्यक्ष भट्टराईको भनाइ छ ।
खेल मैदान निर्माणका लागि कहाँबाट कति रकम आयो त्यो समेत पारदर्शी छैन– भट्टराईले भने– ‘यहाँ नीतिगत रुपमा कुनै काम भएको छैन । संस्थाका अध्यक्षसहितका पदाधिकारी नै समितिमा बसेर काम गरिरहेका छन् । राज्यबाट आएको यत्रो रकम निजी संस्थाको स्वामित्वमा रहेको खेल मैदान निर्माणमा खर्च हुँदैछ, यसले भोलि कसलाई फाइदा पुग्छ आफैंमा प्रश्न चिन्ह खडा भएको छ ।’
समाज कल्याण उद्धार संघले अहिले खेल मैदान परिसरमा घेराबेरा गरिरहेको छ । समाज कल्याण उद्धार संघले खेल मैदान पूर्ण रुपमा सम्पन्न गर्न सात करोड ४३ लाख रुपैयाँ लाग्ने जनाएको छ । खेल मैदान तयार भएसँगै फुटवल, भलिवल, दौड, व्यामिन्टन, टेवलटेनिस खेल्न सकिने बताइएको छ ।
स्थानीयवासी विरोधमा
प्रस्तावित अर्जुनधारा रंगशाला निर्माणको काम कमसल भएको भन्दै स्थानीयले बिरोध जनाएका छन् ।
चालू आर्थिक वर्षमा २० लाख २१ हजार २ सय १६ रुपैयाँ ३ पैसाको लागतमा खेल मैदान परिसरमा घेरावेराको काम भइरहेको छ । जसमा अर्जुनधारा नगरपालिकाबाट अनुदान स्वरुप ९ लाख १८ हजार, खेलकुद मन्त्रालयबाट आठ लाख र समाजकल्याण संघ (उपभोक्ता समिति) बाट तीन लाख ३ हजार २ सय १६ रुपैयाँ ३ पैसा बजेट विनियोजन भएको संघका अध्यक्ष धर्मानन्द गुरागाँईले बताए ।
अहिले खेल मैदानको पूर्ब र उत्तर तर्फ घेरावाराको काम भइरहेको छ । दुई विगाह नम्वरीसहित खेल मैदानको नाममा जम्मा ५ विगाह आठ कठ्ठा जमिन रहेको संघका अध्यक्ष गुरागाँईले बताए । थप एक कठ्ठा जमिन लिने तयारी भइरहेको बताउँदै केही समयभित्रै खेल मैदानको दक्षिणतर्फ रहेको जमिन भूपेन्द्र शिवाकोटीबाट पास गर्ने गुरागाँईको भनाइ छ ।
समाज कल्याण उद्धार संघले निर्माण गरिरहेको काम कमसल भएको भन्दै अर्जुनधाराका इञ्जिनियर अधिकारीले समेत स्वीकृत नगरेको बताइएको छ । यता स्थानीयवासी सञ्जय थापाले खेल मैदानको कम्पाउण्डबाल निर्माणमा कमसल इँटाको प्रयोग गरेको बताएका छन् । यो खेलमैदान प्रस्तावित अर्जुनधारा रंगशाला हो– तर, खेल मैदानको घेरावारा एकदमै कमसल सामग्री प्रयोग गरेर निर्माण भइरहेको छ । इँटा मात्रै हेर्ने हो भने दुई नम्वरी इँटाको प्रयोग छ ।
संघ र नगरबीच सम्झौता, स्वामित्व संघकै
समाज कल्याण उद्धार संघ र अर्जुनधारा नगरपालिकाबीच खेल मैदान निर्माणमा सम्झौता गरेको पाइएको छ । तर, काम भने संघका पदाधिकारीले नै समितिमा रहेर गरिरहेका छन् ।
२०७६ साल भदौ ३१ गते संघका तर्फबाट अध्यक्ष धर्मानन्द गुरागाँई र नगरपालिकाका तर्फबाट रघुनाथ खनालले हस्ताक्षर गरेका छन् । खनाल तत्कालीन समयमा निमित्त प्रमुख रहेका थिए ।
सम्झौता–पत्रमा अर्जुनधारा नगरपालिका–७ मा रहेको २ विगाह जमिन खेलकुद स्टेडयम निर्माण तथा सञ्चालनका लागि दोस्रो पक्षलाई उपलब्ध गराइने भनिएको छ । यहाँ पहिलो पक्ष संघ र दोस्रो पक्ष अर्जुनधारा नगरपालिका रहेको छ । त्यस्तै स्टेडयम निर्माणमा प्राविधिक तथा संस्थागत सहयोग उपलब्ध गराउने र स्टेडयम निर्माणपछि खेलकुद सचालनमा दोस्रो पक्षसंग मिलेर नीति निर्माण तथा कार्यान्वयन गर्ने भनिएको छ ।
यता दोस्रो पक्षको भूमिका खेल सञ्चालनका लागि स्टेडयम निर्माण गर्ने, स्टेडयम सञ्चालनका लागि आवश्यक पर्ने विभिन्न कक्षहरु (खेलाडीका ड्रेस परिवर्तन गर्ने कक्ष, विशिष्ट अतिथि कक्ष कार्यक्रम सञ्चालन कक्ष, शौचालय) तथा पार्किङस्थल निर्माण गर्ने, स्टेडयम सञ्चालन सम्वन्धि आवश्यक नीति नियमहरु पहिलो पक्षसँग मिलेर निर्माण गर्ने तथा कार्यान्वयन गर्ने भनिएको छ ।
