September 29, 2026

प्रेस युनियनको ३१ औं स्थापना दिवसमा सरोकार केन्द्रलाई खाद्य सामग्री

0

बिर्तामोड।

नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसको अवसर पारेर नेपाल प्रेस युनियन झापाले अर्जुनधारा नगरपालिका वडा नं–६ मा सञ्चालित बाल शिक्षा सरोकार केन्द्रलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । केन्द्रमा अध्ययनरत बालबालिकाका लागि चामल, दाल, आलु, तेल, नुन लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य गोविन्दचन्द्र छेत्रीले लोकतान्त्रिक पत्रकारहरुको छाता संस्था प्रेस युनियनको ऐतिहासिक पृष्ठभूमि बताउँदै पत्रकारले लेखनमार्फत हरेक क्षेत्रको विकासका लागि सरोकारवालालाई झक्झक्याउने गरेको बताउनुभयो । बाल शिक्षा सरोकार केन्द्रको वास्तविकता सार्वजनिक गरेर सहयोग र दीर्घकालीन सञ्चालनका लागि कलममार्फत नै सहयोग गर्ने छेत्रीको प्रतिबद्धता थियो ।

उक्त अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र संरक्षणको सम्पुर्ण जिम्मेवारी स्थानीय सरकारले लिनुपर्ने बताउँदै उहाँले कलमको माध्यमबाट बालसंरक्षण केन्द्रको स्थायीत्व , विकास उन्नतिका लागि आफुहरुले पनि भुमिका खेल्ने बताउनुभयो ।

युनियन झापा जिल्ला अध्यक्ष ईन्दु पुर्वेलीले युनियनको स्थापना दिवसको अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै बाल संरक्षण केन्द्रको विकासका लागि कलम मार्फत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । समाचार संकलन, लेखन सगसँगै सामाजिक एवं सेवा क्षेत्रमा कार्य गर्ने उद्देश्यले सरोकार केन्द्रमा कार्यक्रम राखिएको पूर्वेलीको भनाई थियो ।

प्रदेश पार्सद ज्ञानेन्द्र निरौलाले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम घोर्साईले गर्नुभएको कोषाध्यक्ष ओमप्रकाश भट्टराइले जानकारी दिनुभयो । कार्यक्रममा युनियनका केन्द्रीय पार्षद यज्ञ पाठक, रेजिना गौतम ,कोषाध्यक्ष ओमप्रकाश भट्टराई, जिल्ला सदस्य रणदेव हजाम ,शेखर सेढाई, जोस्ना श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकाहरु उक्त केन्द्रमा संरक्षित छन् । आबासीय रुपमा रहेका १० बढी बालबालिकालाई सोही केन्द्रमा शिक्षक ब्यवस्थापन गरेर अध्यापन गराइदै आएको छ । सार्वजनिक एवं निजी विद्यालयहरुमा अपाङ्गमैत्री संरचना नहुँदा शारीरिक रुपमा अपाङ्गता भएपनि बौद्धिक रुपमा सबल बालबालिकाहरु शिक्षा लिनबाट बञ्चित हुने देखिएपछि आफूले त्यसैका लागि पहल थालेको अध्यक्ष कृष्ण दुलालले बताउनुभयो ।

अर्जुनधारा नगरपालिका–६ कप्तानबारी चोक नजिकै रहेको सो केन्द्रको ब्यवस्थित सञ्चालनका लागि जग्गाको अभाव रहेको ब्यवस्थापन समितिका अध्यक्ष दुलालको भनाई छ । अपाङ्गमैत्री संरचना निर्माणको लक्ष रहेपनि जग्गा अभावका कारण नसकिएको र दीर्घकालीन सञ्चालनको स्रोत नभएको दुलालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *