October 1, 2026

परिणाम सहर्ष स्वीकार गरौं

0

पन्ध्रवटा पालिका भएको झापामा कनकाई नगरपालिका मतगणना कार्यमा पहिलो भएको छ । कनकाईको मत परिणाम सार्वजनिक भएपछि दक्षिणी पालिका कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाको परिणाम पनि घोषणा भइसकेको छ । अबको दुई–चार दिनभित्रमा झापाका सबै पालिकाहरुले पूर्णता पाउने छन् । संसदीय प्रणाली अनुसार स्थानीय तहको यो दोस्रो निर्वाचन विगतको तुलनामा फरक ढंगले सम्पन्न भएको छ । सत्ता साझेदार दलहरुका बीचको सहमति बमोजिम कुनै पालिकामा गठबन्धन गरेरै निर्वाचन भएको छ भने कतै स्थानीय आवश्यकता भनेर फरक धारमा समेत गठबन्धन गरिएको छ । जसरी पनि अघिल्लो सरकारको स्वरुप बदल्न संघर्ष र एकता गरेका दलहरुको पूर्ण तस्वीर हेर्न एक हप्ता कुर्नु नै पर्छ ।

घोषित नतिजा अनुसार कनकाईमा उपमेयर एमालेबाट खोसिएको छ भने कचनकवल राप्रपाबाट कांग्रेस–एमाले गठबन्धनले हात पारेको छ । त्यसैगरी बाह्रदशीको कांग्रेसको विरासत एमालेको पोल्टामा पुगेको छ । उता हल्दिबारीमा एमालेको उपाध्यक्षको आसन राप्रपाले आफ्नो कब्जामा पारेको छ । विगतको नतिजा विपरीत यसपटक तालमेल कै भागवण्डा अनुसार मिश्रित परिणाम आउने शुरुदेखिको आंकलन पूरा हुने अनुमान गर्न सकिने घोषित परिणामको नतिजाले देखाएको छ । जे होस् संघीय लोकतान्त्रिक प्रणाली अनुसार स्थानीय तहको आवधिक निर्वाचन सम्पन्न भएको छ, यो नै परिवर्तित राजनीतिक व्यवस्थालाई संस्थागत गर्ने बलियो आधार हो ।

निर्वाचन एक मतले मात्रै पनि जय–पराजय हुने माध्यम हो । बुहदलीय प्रणालीमा जनमतलाई सम्मान गर्नुपर्छ, यो पनि सर्वमान्य मान्यता हो । पराजय भइसकेपछि जनमतलाई स्वीकार नगर्नु प्रजातान्त्रिक संस्कार होइन । जहाँ जसले जिते पनि जनमतले जितेको ठान्नुपर्छ । खासगरी देशको शासन सत्ता सञ्चालन गर्ने, मुलुकको भविष्य निर्माण गर्ने राजनीतिक दलहरुले नतिजामाथि टिप्पणी गर्नुभन्दा सहर्ष स्वीकार गरेर आत्मआलोचना गर्ने सामथ्र्य बटुल्नुृ पर्दछ । होला निर्वाचन प्रक्रियामा, प्रणालीमा वा व्यवस्थापनमा त्रुटि भएको हुनसक्छ, तर त्यसलाई अब विवादको विषय बनाइनुहुन्न । बरु आफूभित्रका कमी–कमजोरीको पहिचान गरी भविष्य सुदृढ गर्नेतर्फ दलहरु लाग्नुपर्छ । यसो गरिए मात्र जनमतको सम्मान भएको ठहरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *