September 28, 2026

झापाका तीन वडामा ७ जना वागी निर्वाचित

0

झापा ।

 


नेपाली कांंग्रेसका पुराना नेता महताव आलम बाह्रदशी–४को वडाध्यक्षमा निर्वाचित भएका छन् । पार्टीले नेपाली कांग्रेसका तर्फबाट उनलाई टिकट नदिएपछि उनी कांग्रेसका लागि वागी उम्मेदवारका रुपमा देखा पर्दै स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचनमा होमिएका थिए । उनी मात्रै निर्वाचनमा होमिएनन् उनले स्वतन्त्रको छुट्टै टिम खडा गर्दै आफूसहित वडाका अन्य सबै सदस्यलाई निर्वाचित गराए ।

‘गुलाफको फूल’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका आलमलाई नेपाली कांग्रेसले टिकट दिन पत्याएको थिएन् तर मतदाताले उनैलाई मत दिएर निर्वाचित गराए । बाह्रदशीमा नेपाली कांग्रेस र एकीकृत नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएपछि उक्त वडामा माओवादीले उम्मेदवार उठाएको थियो । गठबन्धनबिरुद्ध प्यानल बनाएर बागी उम्मेदवारी दिएका आलमले प्यानललाई नै निर्वाचित गराउँदै चुनौति दिएसँगै अहिले सबैको ध्यान आलमतिर केन्द्रीत छ ।

आलमले ७ सय ५२ मत पाएका थिए भने गठबन्धनबाट वडाध्यक्षका उम्मेदवार बनेका माओवादी केन्द्रका समिम मियाँले ५ सय ९१ मत मात्र पाए । आलमसँगै ‘गुलाफको फूल’ चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका आलम प्यानलबाट महिला सदस्यमा कल्पना श्रेष्ठ, दलित महिला सदस्यमा सुमित्रादेवी मोची तथा सदस्यमा विवेककुमार गणेश र बलबहादुर बानियाँ निर्वाचित भएका हुन् । दलित महिला सदस्य सुमित्रा र सदस्य विवेक पनि कांग्रेसका बागी उम्मेदवार हुन् भने कल्पना एमालेकी बागी हुन् ।

बाह्रदशी–४ सहित झापाका तीन वडामा ‘बागी’ उम्मेदवार विजयी भएका छन् । गौरादह–३ र झापा–३ मा ‘बागी’ उम्मेदवारहरू बिजयी भएका हुन् । गौरादह–३को वडाध्यक्षमा एमालेका ‘बागी’ दिलीपकुमार भण्डारी विजयी भएका छन् । उनले एमालेका गजेन्द्रप्रसाद घिमिरेलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै वडाध्यक्षमा जित हासिल गरे ।

‘जेब्रा’ चुनाव चिह्न लिएर लडेका भण्डारीले १ हजार ९४ मत पाए भने निकटतम् प्रतिस्पर्धी घिमिरेले ५ सय ८६ मत मात्र पाए । घिमिरे यसअघिका वडाध्यक्ष हुन् । योपटक पार्टीबाट वडाध्यक्षको टिकटका लागि लामो प्रयास र लबिङ गरे पनि पार्टीले पुनः घिमिरेलाई नै टिकट दिएपछि भण्डारी बागी उम्मेदवार उठेका थिए ।

जिल्लाको झापा–३को वडाध्यक्षमा पनि ‘बागी’ उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका बागी सुवासलाल गणेश वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले निकटतम् प्रतिस्पर्धीहरू एमालेका खड्गनारायण राजवंशी र कांग्रेसका भागिरथप्रसाद गणेशलाई पराजित गरे ।

सुवासलाल कांग्रेसका क्रियाशील कार्यकर्ता हुन् । पार्टीबाट उम्मेदवार छनोटका क्रममा भएको ‘भोटिङ’ मा पनि सुवासलालको नाम पहिलो नम्बरमा आएको थियो । तर, कांग्रेस गाउँ सभापति सागिरथप्रसाद गणेशले आफ्ना दाजु भागिरथप्रसादलाई वडाध्यक्षको टिकट दिने निर्णय गरेपछि सुवासलाल बागी उम्मेदवार उठेका थिए ।

‘भुईँकटर’ चुनाव चिह्न लिएर वडाध्यक्षमा निर्वाचित सुवासलालले ९५५ मत प्राप्त गरे । उनका निकटमत् प्रतिस्पर्धी एमालेका खड्गनारायणले ६ सय ६३ र कांग्रेसका भागिरथले ५ सय ५९ मत मात्र प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *